Logo

कागजात नबाेकी गाडी चलाए मुद्दा चलाइने

डोटीमा कुनै पनि सवारी चालकले बिना कागजात सवारी चलाएमा मुद्दा चलाइने भएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी हेरम्ब शर्माले कुनै पनि सवारी चालकले अनुमतिपत्र नबोकेर सवारी चलाएमा सवारी मुद्दा चलाउने तयारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सवारी चालक अनुमतिपत्र नभएर पनि सवारी चलाएको धेरै पाइयो, अब उपरान्त कसैले पनि सवारी चालक अनुमतिपत्र र गाडीको कागजात नबोकी सवारी चलाइएको पाइएमा सिधै सवारी ऐन अन्तरगत मुद्दा चलाइने छ ।’

डोटीमा सवारी चालक अनुमतिपत्र नभएकाले पनि जीप लगायत अन्य सवारी साधन चलाउने गरेको र तिनै व्यक्तिले बढी जसो सवारी दुर्घटना गरेकाले प्रहरीले यो कदम चालेको हो । पछिल्लो समय डोटीमा भएका जीप दुर्घटनामा ठूलो मानविय क्षति भएको भन्दै प्रहरीले दैनिक रुपमा गाडीका कागजात तथा सवारी अनुमतिपत्र (लाइसेन्स) चेक जाँचमा बढी कडाई गरेको छ ।त्यस्तै गाडीको तोकिएको सिट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई पनि प्रहरीले धमाधम कारबाही गर्न थालेको छ । डोटीमा बिना कागजात गाडी चलाउने तथा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु बोक्नेलाई कडा कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलका प्रमुख रुपसिंह थापाले बताउनुभयो ।

ट्राफिक प्रहरी तथा जनपथ प्रहरीले गाडी चेकजाँचमा कडाई गरेपछि अहिले बिना कागजाँतमा गाडी चलाउनेहरु सावधान भएको ईलाका प्रहरी कार्यालय दीपायलका प्रमुख दिलबहादुर कुँवरले बताउनुभयो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलको तथ्यांक अनुसार गएको चार दिन यता डोटीमा ट्राफिक प्रहरीले एक दजनाभन्दा बढी गाडीहरुका चालकलाई कारबाही गरेको छ । त्यस्तै अनुमतिपत्र (लाइसेन्स) बिनाका चालकलाई गाडी चलाउन नदिन डोटी प्रहरीले गाडी धनीहरुलाई आग्रह गरेको छ ।डोटीमा सबैधन्दा बढी मोटरसाइकल, टयाक्टर तथा केही जीप चालकले अनुमतिपत्र तथा गाडीको काजजात बिना नै गाडी चलाउने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्