सलमानका भाई अरबाज खान आइपीएल सट्टेबाजीमा मुछिए
बलिउड अभिनेता सलमान खानका भाई तथा फिल्म निर्माता अरबाज खान आइपीएलको सट्टेबाजी प्रकरणमा मुछिएका छन् । प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको छ ।शुक्रबार बिहान अरबाजको बान्द्रास्थित निवासमा प्रहरीले नोटिस पठाएको थियो । सो नोटिसमा मुम्बईका सट्टेबाजहरुको र्याकेटमा अरवाज पनि सम्वन्धित देखिएको उल्लेख छ । उनी बयान दिन नआएको खण्डमा पक्राउ गर्ने प्रहरीको तयारी छ ।
सञ्चारमाध्यमका अनुसार अरवाजले भारतका सबैभन्दा कुख्यात सट्टेबाज सोनु जलान मार्फत पैसा लगाउँथे । गत १५ मेमा एक सट्टेवाज गिरोहका चार जना गिरफ्तार भएका थिए । यसका लिडर सोनु जालान थिए । यसअघि उनी २०१२ मा पनि पक्राउ परेका थिए । यदि अरबाजमाथि लागेको आरोप प्रमाणित भएमा उनले जेलको हावा खानुपर्ने छ ।
यसअघि पनि बलिउड कलाकारहरु म्याच फिक्सिङ र सट्टेबाजीमा मुछिएका छन् । अभिनेत्री शिल्पा सेट्टी र उनका श्रीमान राज कुन्द्रालाई पनि सट्टेवाजीको आरोप लागेको थियो । राजस्थान रोयल्सका मालिक समेत रहेका राज कुन्द्रालाई क्रिकेटसम्वन्धि कुने पनि गतिविधिबाट प्रतिवन्ध लगाइएको थियो । शिल्पाले एउटा म्याचमा पैसा लगाएर १ लाख हारेको स्वीकार गरेकी थिइन् ।यसैगरी दाह्रासिंहका छोरा विन्दू सिंहलाई सट्टेबाजीको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।