मापदण्ड विपरित नाला निर्माण: निर्माण व्यवसायीसहित तीन पक्राउ, भेटियो चरम लापरवाही
मोरङ । मापदण्ड विपरीत नाला निर्माण गरेको भन्दै विराटनगरको महेन्द्र चोकबाट टुण्डी रमण निर्माण सेवाका प्रोजेक्ट म्यानेजर रवि पन्तसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठेकेदारका सुपरभाईजर विनय साह र सडक विभागका सुपरभाईजर देवराज बराल रहेका छन् ।
आवश्यक सिमेन्ट नमिसाई बालुवाकै भरमा नाला निर्माण गरिरहेको स्थानीयबाट गुनासो आएको र विकासको काममा चरम लापरवाही गरेको भेटिएपछि कारवाहीको माग गर्दै विराटनगर महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाएको थियो ।
महानगरपालिकाले टुण्डीरमण निर्माण सेवाका ठेकेदार कृष्ण बोहरा, सोही कम्पनीका मेनेजर रवि पन्त, सुपरभाइजरहरु सञ्जय रजक, विनय साह र सडक कार्यालयका सुपरभाइजर देवराज बराललाई कारवाहीको सिफारिस गरेको थियो । पत्रको बोधार्थ व्यापारिक मार्ग विस्तार आयोजना सडक विभाग इटहरी सुनसरीलाई समेत पठाइएको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि सम्बन्धित सडक कार्यालयमा पठाइने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । सम्बन्धित ब्यक्तिहरु पक्राउ गरिएपछि सो क्षेत्रको निर्माण कार्य रोकिएको छ ।