सडकमा गृहमन्त्री र वनमन्त्रीद्वारा गाडीको छड्के जाँच

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले आइतबार बिहान थापाथली चोकमा पुगेर सवारीसाधनको प्रदूषणको छड्के जाँच गर्नुभएको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दुवै मन्त्री सडकमै पुगेर प्रदूषण जाँचमा सहभागी हुनुभएको हो ।कर्मचारीसँगै दुवै मन्त्रीले गाडीको प्रदुषण जाँच गर्नुभएको थियो । जाँचका क्रममा प्रदुषण मापदण्डा पालना नगर्ने १८ वटा गाडी कारबाहीमा परेका ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेतुले जानकारी दिनुभयो ।

उहाँले वातावरण दिवसको अवसर पारेर प्रधानमन्त्रीकै सहभागितामा यही जेठ २२ गते स्वच्छ नेपाल महाभियान शुरु गर्न लागिएको जानकारी दिनुभयो ।प्रदूषण नियन्त्रण, फोहर व्यवस्थापन र हरियाली प्रवर्द्दनलाई एकीकृत गरेर महाभियान शुरु गर्न लागेको उहाँको भनाइ छ ।
रासस