जर्मनीको उदय भएको विश्वकप
चार वर्षअगाडि उरुग्वेले उपाधि जितेर आश्चर्यमा पारेजस्तै पश्चिम जर्मनी स्विट्जरल्यान्डमा हंगेरीको ३१ खेलको अपराजित यात्रामा पूर्णविराम लगाई विश्व च्याम्पियन बनेको थियो।आल्पस हिमालको काखमा आश्चर्यजनक नतिजाको हिमपात नै भयो । दुई गोलले पछाडि रहेर जर्मनीले फाइनल खेलमा हंगरीलाई ३–२ ले पराजित गरेको थियो । जबकि १५ दिनअघि समूह चरणको खेलमा हंगेरीले जर्मनीलाई ८–३ ले पराजित गरेको थियो । बहिर्गमनको तयारीमा रहेका फिफाका अध्यक्ष जुल्स रिमेटले कप्तान फ्रिटज वाल्टरलाई विश्वकप ट्रफी प्रदान गरेपछि जर्मनी कहिल्यै हार्दैन भन्ने शिक्षा विश्व फुटबलले पायो।
१९५४ को प्रतियोगिता खेल्न जानु अगाडि हंगेरीलाई विश्वको उत्कृष्ट टोली भनी अनाधिकारिक उपाधि दिइएको थियो । १९५२ को ओलम्पिक च्याम्पियन हंगेरीले चार वर्षका अन्तरमा २३ जित र ४ बराबरीको नतिजा निकाल्यो । त्यसमा १९५३ मा इङ्ल्यान्डलाई ६–३ ले पराजित गर्नु टोलीको सबैभन्दा स्मरणीय विजय थियो । विश्व फुटबलको मन्दिर मानिने वेम्बलीमा इङ्ल्यान्डलाई पराजित गर्ने हंगेरी पहिलो विदेशी टोली बन्यो । होनभेडको आर्मी टोलीबाट खेल्ने फ्रेन्स पुस्कास घोडा जस्तै दौडिन्थे भने उनको देबे्र खुट्टा निकै सशक्त थियो।
गुस्ताभ सेबेजको टोलीमा पुस्काससहित अर्का फरवार्डद्वय सान्डोर कोकसिस र नान्डोर हिदेगकुटी तथा मिडफिल्डर जोसेफ बोजसिकजस्ता खेलाडी थिए । उनीहरूले खेलेको उत्कृष्ट फुटबल समयको गतिभन्दा पनि छिटो थियो । पुस्कास र कोकसिसको पछाडि हिदेगकुटीलाई राख्दा टोली ४–२–४ को रणनीतिमा ओर्लिएको थियो । बुडापेस्टमा इङ्ल्यान्डलाई ७–१ ले पराजित गर्दै हंगेरीले प्रतियोगिताको तयारी गरेको थियो।
प्रतियोगिताको पहिलो चरणका खेलमा १७ गोल गरेको हंगेरीले दक्षिण कोरियालाई २–० ले तथा पश्चिम जर्मनीलाई ८–३ ले पराजित गरेको थियो । प्रतियोगिताको संरचना अलि भिन्न थियो । प्रत्येक समूहमा दुई वरीयता र दुई वरीयताबिहीन टोली थिए । जर्मनीका प्रशिक्षक सेप हेर्बेगरले यो संरचना राम्ररी बुझेका थिए । टर्कीलाई ४–१ ले पराजित गरिसकेको अवस्थामा हंगेरीसँगको खेलमा पराजित भए प्लेअफ जितेर दोस्रो चरणमा पुग्न सकिन्छ भन्ने बुझेर उनले पहिलो रोजाइका सात खेलाडीलाई विश्राम दिए । त्यसपछि उनले टर्कीसँगको प्लेअफमा पूर्ण टोली उतार्दै ७–२ को विजय नतिजासहित जर्मनीलाई क्वार्टरफाइनलमा डोर्याए।
कुल १ सय ४० गोल भएको प्रतियोगिताको यो समूहमा मात्र ४१ गोल भयो । प्रतियोगिताको कीर्तिमानका रूपमा एकै खेलमा १२ गोल भयो । स्विट्जरल्यान्ड र अस्ट्रियाबीचको क्वार्टरफाइनलमा घरेलु टोलीले १९ मिनेटभित्र ३–० को अग्रता लिएको थियो । त्यसपछिको १० मिनेटको अन्तरमा ५ गोल खाएर टोलीले खेल ७–५ ले गुमायो।
दक्षिण कोरिया र स्कटल्यान्डले कुनै गोल गर्न सकेनन् र आआफ्नो समूहको पुछारमा रहे । स्कटल्यान्ड साबिक विजेता उरुग्वेसँग ७–० ले पराजित भयो । ब्रिटिस टोलीमाथि दोहोरो विजय पाउने क्रममा उरुग्वेले इङ्ल्यान्डलाई अन्तिम आठमा पराजित गर्याे । दुवै टोलीले ३९ वर्षका पाका खेलाडीलाई ओरालेका थिए । बुढा खेलाडीमा दक्षिण अमेरिकी टोलीबाट ओबदुलिओ भारेला तथा इङ्ल्यान्डबाट स्टान्ली म्याथ्युज थिए । भारेला र १९५० को फाइनलका गोलकर्ता हुवाँ सिएफिनोले गरेको गोलमा उरुग्वेले खेल ४–२ ले जित्यो।
हंगेरी र ब्राजिलबीचको क्वार्टरफाइनल विजेताले उरुग्वेसँग खेल्नुपर्ने थियो । स्विट्जरल्यान्डको अखबारमा विज्ञापन दिएर नयाँ पहिरनको रूपमा बनाइएको प्रसिद्ध पहेँलो जर्सी ब्राजिलले पहिलो पटक विश्वकपमा लगाएर हंगेरीविरुद्ध खेलेको थियो । ‘बर्नको लडाइँ’ नाम पाएको खेलमा ब्राजिलको केही लागेन । गोल्डेन जुत्ता हात पारेका कोकसिसले प्रतियोगितामा आफ्नो ११ मध्ये दुई गोल त्यही खेलमा गरेपछि हंगेरी ४–२ ले विजयी भयो । तर रातो कार्डका कारण खेल प्रभावित हुन पुग्यो । बोजसिक तथा ब्राजिली जोडी निल्टोन सान्तोस र हुमबर्टोले रातो कार्ड सामना गरे । दुई टोलीको झगडा ‘चेन्जिङ रुम’ सम्म पनि कायमै थियो।
कोकसिसले स्मरणीय सेमफिाइनलमा उरुग्वेविरुद्ध पनि दुई गोल गरे । पछिल्लो चारमध्ये दुई विश्वकप जितेको उरुग्वेले हुवाँ होल्बर्गको दुई गोलमा खेल बराबरीमा ल्याए पनि हंगेरीले अतिरिक्त समयमा ४–२ ले नतिजा आफ्नो पक्षमा पार्याे । विश्वकपमा यो उरुग्वेको पहिलो पराजय थियो । जर्मनीले भने आरामदायी हिसाबमा फाइनलको यात्रा तय गर्याे । क्वार्टरफाइनलमा युगोस्लाभियालाई २–० ले पराजित गरेको जर्मनीले छिमेकी अस्ट्रियामाथि सेमिफाइनलमा ६–१ को विजय पायो ।
फ्रिट्ज वाल्टर मौसम
वान्कडोर्फ रंगशालामा भएको फाइनल वर्षाले प्रभावित थियो । जर्मन कप्तान वाल्टरका लागि भने यो मौसम निकै सुहाउँदो रह्यो । युद्धका समयमा मलेरिया लागेकाले उनी उच्च तापक्रममा राम्रो प्रदर्शन गर्न संघर्षरत थिए । जर्मन समर्थकले यो मौसमलाई ‘फ्रिट्ज वाल्टर मौसम’ भनेका थिए।
हंगेरी भने पुस्कासको फिटनेसमा सशंंकित थियो । जर्मनीविरुद्धको समूह चरणको खेल खेलमा वेर्नेर लिइब्रिचले प्रहार गरेका कारण पुस्कास पछिल्लो दुई खेलमा उत्रिएका थिएनन् । पूर्ण फिट नभए पनि खेलेका पुस्कासले छैटौं मिनेटमा अग्रता दिलाए । त्यसको दुई मिनेटपछि हंगेरीले दुई गोलको अग्रता लियो । १८ मिनेटमै पश्चिम जर्मनीले खेल बराबरीमा ल्याएको थियो । मोर्लोकले जर्मनीका लागि पहिलो गोल गरे भने वाल्टरको कर्नरमा राहनले दोस्रो गोल गरे।
वर्षा जारी नै थियो, तनाव बढिरहेको थियो । हंगेरीका हिदेगकुटीको प्रहार पोस्टमा लागेर फर्कियो । ६ मिनेट बाँकी छँदा राहनले बल नियन्त्रणमा लिँदै जर्मनीका लागि तेस्रो गोल गरे । बाँकी समयमा पुस्कासले गोल त गरे, तर त्यसलाई लाइन्सम्यानले अस्वीकार गरिदिए । त्यसपछि बजेको रेफ्रीको अन्तिम सिटीले अकल्पनीय नतिजालाई निश्चित गर्याे । हंगेरी पराजित भयो र विश्वमा नयाँ शक्तिको उदय भयो।
इतिहासको पानाबाट
१९५४, स्विट्जरल्यान्ड (पाँचाैं विश्वकप)
जुन १६ देखि जुलाई ४ सम्म
सहभागी टोली : १६
खेल संख्या : २६
गोल संख्या : १ सय ४० (प्रतिखेल ५.४ गोलऔसत)
दर्शक : ८ लाख ८९ हजार ५ सय (प्रतिखेल ३४ हजार २ सय ११)
विजेता : पश्चिम जर्मनी
उपविजेता : हंगेरी
तेस्रो स्थान : अस्ट्रिया
चौथो स्थान : उरुग्वे
गोल्डेन जुत्ता : सान्डोर कोकसिस (हंगेरी)
नागरिक न्युजबाट
[youtube https://www.youtube.com/watch?v=VSsEA4e3_DQ]