Logo

विश्वकपमा आश्चर्यजनक नतिजाको पर्खाइमा इरान

फुटबलमा सबैभन्दा सफल राष्ट्रमा पर्छ इरान । त्यसको गतिलो प्रमाण हो मध्यएसियाली राष्ट्रले छनोट प्रतियोगितामा गरेको प्रदर्शन । विश्वकप छनोट प्रतियोगितामा इतिहासकै राम्रो प्रदर्शन गरेको इरान दोस्रो चरण पार गर्दासम्म १८ खेलमा अपराजित रह्यो । अन्तिम चरणका ९ खेलमा इरानले २ गोल मात्र खायो । जुन सिरियाविरुद्ध २–२ को बराबरी हो।

कार्लोस क्विरेजले प्रशिक्षण सम्हालेपछि इरानको प्रदर्शन थप निखारिएको छ । २०११ पछिका ६९ खेलमा इरानले ९ खेलमा मात्र नतिजा गुमाएको छ । रसिया यात्रा निश्चित गर्ने क्रममा इरानले अन्तिम चरणमा दुई गोल मात्र खाएर ८ मा जित र ४ मा बराबरी खेलेको छ।माथिका तथ्यले पनि इरानले विश्वकपमा आश्चर्यजनक नतिजा दिन सक्ने अनुमान लगाउन सकिन्छ । समूह ‘बी’ मा रहेको इरानले स्पेन र पोर्चुगलका साथै मोरोक्कोलाई राम्रो चुनौती दिन सक्छ । बलियो रक्षापंक्ति र मैदानमा गर्ने संगठित प्रदर्शन इरानको सफलताको कारण हो।

१९७८ मा पहिलो पटक विश्वकप खेलेको इरानको पाँचौं सहभागिता हो । पहिलो सहभागितामा समूह चरणमा नेदरल्यान्ड र पेरूसँग पराजित भए पनि स्कटल्यान्डसँग १–१ बराबरी खेल्दै विश्वकपमा पहिलो अंक जोडेको थियो ।
त्यसपछि अन्तरिक द्वन्द्वका कारण इरान लामो समय फुटबल गतिविधिबाट टाढा बस्यो । १९८०–८८ सम्म भएको इरान–इराक द्वन्द्वका कारण इरानले १९८२ को विश्वकप छनोट प्रतियोगिता खेलेन । तटस्थ मैदानमा खेल्नुपर्ने हुनाले इरानले १९८६ को विश्वकप छनोट प्रतियोगिताबाट पनि नाम फिर्ता लियो । युद्ध र राजनीतिक खिचलोका कारण १९९८ सम्म इरानमा ठूला क्लबस्तरीय प्रतियोगिता पनि हुन पाएन।

१९९८ मा कोड्स लिग स्थापना गर्दै इरानले फुटबलमा गतिविधि बढायो । एक वर्षपछि उक्त लिग अजदेगन लिगमा सञ्चालन हुन थाल्यो । १९९० र १९९४ को विश्वकपमा छनोट हुन नसके पनि इरानले त्यसबीचमा थुप्रै प्रतिभावान् खेलाडी उत्पादन गर्याे । त्यही जगमा इरानले १९९६ को एएफसी एसियन कपमा तेस्रो स्थान हात पार्याे । तेस्रो हुने क्रममा इरानले साउदी अरेबियामाथि ३–० तथा दक्षिण कोरियाविरुद्ध ६–२ को विजय हासिल गरेको थियो । त्यसको दुई वर्षपछि १९९८ मा फ्रान्सबाट इरानले विश्वकपमा पुनरागमन जनायो । फ्रान्समा युगोस्लाभियासँग १–० ले पराजित भएको इरानले दोस्रो खेलमा अमेरिकालाई २–१ ले हराएको थियो । तर समूहको अन्तिम खेलमा जर्मनीसँग २–० ले पराजित भएपछि इरान दोस्रो चरण पुग्न सकेन । त्यसपछि २००६ र २०१४ मा विश्वकप खेल्यो।

२०१४ को विश्वकपपछि इरानको प्रशिक्षण सम्हालेका क्विरेजले टोलीमा व्यापक परवर्तन गरे । क्विरेजले युवाहरूलाई मौका दिए । त्यसको उदाहरण सरदार अजमोउन हुन् । २२ वर्षे फरवार्ड अजमोउनले इरानबाट २२ गोल गरिसकेका छन् । उनले रसियामा पनि आफ्नो जादु देखाउने अपेक्षा गर्न सकिन्छ । २०१४ को विश्वकपपछि इरानको प्रशिक्षण सम्हालेका क्विरेजले टोलीमा व्यापक परवर्तन गरे । क्विरेजले युवाहरूलाई मौका दिए । त्यसको उदाहरण सरदार अजमोउन हुन्।

समूह ‘बी’ मा इरान
विरुद्ध        मिति        नेपाली समय      स्थान

मोरक्को      जुन १५      २०ः४५          सेन्ट पिट्सबर्ग
स्पेन           जुन २०     २३ः४५           काजान
पोर्चुगल       जुन २५      १९ः४५          सारांस्क

विश्वकप तथ्य

ब्राजिल सबै विश्वकपमा सहभागी

– विश्वकपका लागि रूसको यात्रा गर्दा इरानले सरदार अजमौनबाट धेरैभन्दा धेरै गोलको आशा गर्नेछ । रूसको रुबिन काजानबाट व्यावसायिक फुटबल खेल्ने २२ वर्षे स्ट्राइकरले छनोट चरणमा ११ गोल गरेका थिए । छनोट चरणमा ११ गोल गर्ने अन्य खेलाडीमा अस्ट्रेलियाका टिम काहिल, डेनमार्कका क्रिस्टियन इरिक्सन र बेल्जियमका रोमेलु लुकाकु पनि छन्।

– विश्वकपमा उपाधि रक्षा गर्ने इतिहास अहिलेसम्म ब्राजिल र इटालीले मात्र लेख्न सकेका छन् । इटालीले १९३४ र १९३८ तथा ब्राजिलले १९५८ र १९६२ मा लगातार विश्वकपको उपाधि जितेका थिए।

– विश्वकपका सबै संस्करणमा सहभागी हुने एक मात्र टोली ब्राजिल हो भने चार पटकको विजेता जर्मनी सबभन्दा बढी ८ पटक फाइनल पुग्न सफल टिम हो । यसै गरी तीन पटक फाइनल पुगेको नेदरल्यान्ड्सले उपाधि जित्न सकेको छैन।

– खेलाडीका रूपमा सर्वाधिक तीन पटक उपाधि जित्ने कीर्तिमान ब्राजिलका पेलेको नाममा छ । सबभन्दा बढी ५ पटक विश्वकप खेल्ने कीर्तिमान भने मेक्सिकोका एन्टोनियो कार्भाहल र जर्मनीका लोथर म्याथुजको नाममा छ । कार्भाहलले १९५० देखि १९६६ तथा म्याथुजले १९८२ देखि १९९८ सम्मका सबै संस्करणमा खेलेका थिए । म्याथुज विश्वकप अन्तिम चरणमा सबभन्दा बढी २५ खेल खेल्ने खेलाडी पनि हुन्।

– १९५४ को संस्करणमा अस्ट्रियाले स्विट्जरल्यान्डलाई ७–५ को नतिजामा हराएको थियो । विश्वकप इतिहासमा एउटै खेलमा सबभन्दा बढी गोल भएको खेल त्यही हो।

– १९६६ को विश्वकप सुरु हुनुभन्दा अगाडि ट्रफी सात दिनसम्म हराएको थियो।

नागरिक न्युजबाट 

[youtube https://www.youtube.com/watch?v=VSsEA4e3_DQ]

प्रतिक्रिया दिनुहोस्