Logo

१२ हजार किलो मरिच बरामद

वीरगन्ज नाका हुँदै भारत तस्करी हुन लागेको ठूलो परिमाणको मरिच पर्सा प्रहरीले बरामद गरेको छ। सोमबार साँझ पर्सा प्रहरीले नेपाल–भारत सीमाको शंकराचार्य गेटबाट झन्डै १२ हजार किलो मरिच बरामद गरेको हो। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार युपी ७८ बिपी ३८०४ नम्बरको भारतीय ट्रकबाट मरिच बरामद गरिएको हो। तेस्रो देशबाट आयातित मरिच तस्करले लुकाइछिपाइ भारत लगिरहेको सूचनाका आधारमा प्रहरी टोली सीमामा पुगेको थियो।
ढकालका अनुसार ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको छ। नेपाल–भारत महासन्धि तथा अन्तर्राष्ट्रिय कानुन अनुसार तेस्रो देशबाट आयातित कुनै पनि सामग्री पुनः निकासी गर्न पाइँदैन। एसपी ढकालका अनुसार भन्सारले तेस्रो देशबाट आयातित सामग्रीको जाँचपास नगर्ने भएका कारण छलेर मरिच निकासी गर्न लागेको थियो।
प्रतिक्रिया दिनुहोस्