पाँच वर्षसम्म काम नगर्ने ठेकेदार पक्राउ
ठेक्का लिएको पाँच वर्षमा १० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारमाथि स्थानीय प्रशासनले कारबाही थालेको छ ।ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई पक्राउ गरेर कारबाही थालिएको हो । सोमबार साँझ मात्रै मोलुङ गाउँपालिका–१, र सुनकोशी गाउँपालिका–१०, जोड्ने मोलुङ खोलाको पक्की पुल निर्माणको ठेक्का पाएको राजेन्द्र लोकप्रिय जेभीका सब–कन्ट्रयाक्टर रवीन्द्र लामालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।लामालाई प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको निर्देशनमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अनन्त शर्माले जानकारी दिनुभयो । पक्राउ परेका ठेकेदारलाई जिल्ला प्रशासन कार्यालयमा पेश गरिने शर्माको भनाई छ । जिल्ला प्रशासनले ठेक्का लगाउने कार्यालयलाई समेत बोलाएर विद्यमान कानुनी व्यवस्था अनुसार कारबाही अघि बढाइने जनाइएको छ ।
८० मिटर लम्बाई, ५ मिटर चौडाइको त्यो पुल सुरुमा ३ करोड ३२ लाख ५५ हजार १ सय ६९ रुपैयाँको लागतमा सम्झौता भएको थियो । पछि डिजाइन परिवर्तन पश्चात ५ करोड ६९ लाख २४ हजार ५ सय ९८ रुपैयाँ पुर्याइएको हो । तर, ठेकेदारले पुल निर्माणको काम अलपत्र छाडेको थियो । प्रमुख जिल्ला अधिकारी पन्तले सरकारको निर्देशन अनुसार ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई अब धमाधम पक्राउ गर्ने बताउनुभयो ।
ओखलढुंगामा पाँच वर्षदेखि ठेक्का लिएका पुल, विद्यालय भवन, स्वास्थ्य चौकी, सडकलगायतका दर्जन हाराहारीका पूर्वाधारका काम ठेकेदारले अलपत्र छोडेका छन् । उनीहरुहरुलाई धमाधम प्रशासनमा झिकाई स्पष्टिकरण सोध्ने तथा कारबाही गर्न थालेपछि ठेकेदारहरुको भागाभाग सुरु भएको छ ।जिल्लाभरको विवरण अध्ययन गर्दा पाँच जना बढी ठेकेदार कारबाहीको दायरामा ल्याउनुपर्ने देखिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । ‘यति जना नै नै हो भनेर अहिले नै हामी भन्दैनौं तर, पक्राउ पछि धमाधम सार्वजनिक गर्नेछौ’, पन्तले भन्नुभयो, ‘अब पनि समय दिने माफी दिने हैन अब सिधै एक्शनमा उत्रने हो ।’