Logo

प्रधानमन्त्री ओलीको चीन भ्रमण रेल सञ्जाल विस्तारमा केन्द्रित हुने

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् परराष्ट्रविद् डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण विगतमा भएका सहमति कार्यान्वयनमा केन्द्रित हुने विश्वास व्यक्त गर्नु भएको छ । नेता भट्टराईले ओली नेतृत्वको अघिल्लो सरकारले चीनसँग गरेको रेल सञ्जाल विस्तारलगायतका १० बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण केन्द्रित हुने विश्वास व्यक्त गर्नु भएको हो । ओली नेतृत्वको अघिल्लो सरकारले पारवहन तथा यातायात सन्धि, उत्तर–दक्षिण राजमार्ग निर्माण, क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण, आर्थिक लगानी वृद्धिलगायतको सहमति चीन सरकारसँग गरेको थियो ।

त्यही सहमतिलाई कार्यान्वयनमा लैजान प्रधानमन्त्री ओलीको चीन भ्रमणले प्राथमिकता पाउनुपर्ने नेता भट्टराईको जोड छ । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता भट्टराईले मुलुकलाई समृद्ध बनाउने लक्ष्य प्राप्तिका लागि पनि प्रधानमन्त्री ओलीको चीन भ्रमण नेपालमा लगानी बढाउन केन्द्रित हुनुपर्ने पनि स्पष्ट पार्नु भयो ।नेपाल–भारत प्रवुद्ध समूह (इपीजी)का सदस्य समेत रहनु भएका भट्टराईले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ आयाम दिने गरी आफूहरुले सरकारलाई सुझाव दिने दावी पनि गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्