Logo

एनआइसी एसिया बैंक ह्याक प्रकरण : उत्तर कोरियाको ‘लजारुस ग्रुप’ले गरेको खुलासा

एनआइसी एसिया बैंकको साढे ४६ करोड रुपैयाँ ह्याक गर्ने समूह उत्तर कोरियाली ‘लजारुस ग्रुप’ भएको खुलेको छ । ३ कात्तिक ०७४ मा एनआइसीको ४६ करोड ५६ लाख ५० हजार पाँच सय ५० रुपैयाँ ‘स्विफ्ट ह्याक’ गरी लजारुस ग्रुपले विदेशका विभिन्न बैंकमा पु-याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानबाट पत्ता लागेको हो ।सिआइबीका प्रवक्ता एसपी बुद्धिराज गुरुङले बैंक ह्याक गरी विदेशी बैंकमा रकम लैजाने उत्तर कोरियाली ह्याकर रहेको खुलेको बताए । उनले भने, ‘एनआइसी एसिया बैंक ह्याक गरी साढे ४६ करोड रुपैयाँ विदेशी बैंक लगिएको र त्यसमध्ये झन्डै सात करोड रुपैयाँ ह्याकरको हातमा परिसकेको विषयमा सिआइबीले अनुसन्धान ग-यो ।

यस क्रममा बैंक ह्याक गर्ने समूह लजारुस ग्रुप रहेको खुलेको छ । यो अन्तर्राष्ट्रिय कुख्याती कमाएको ग्रुप हो । यसलाई ‘हिडेन कोब्रा’ पनि भनिन्छ । यसले संसारका अन्य बैंक र कम्पनी पनि ह्याक गरेको खुल्न आएको छ ।’ह्याकर समूहले एनआइसीको उक्त रकम ह्याक गरी आठ मुलुकका विभिन्न बैंकमा ट्रान्सफर गरेको थियो । त्यसमध्ये ६ करोड ८० लाख ७१ हजार एक सय ८२ रुपैयाँ भने अझै फिर्ता हुन सकेको छैन । प्रहरीका अनुसार यो रकममध्ये चारवटा अर्डरबाट ह्याकरले ४ करोड ५२ लाख २९ हजार रुपैयाँ लिइसकेको छ । अरू ३९ करोड ७५ लाख ७९ हजार ३ सय ६८ रुपैयाँ भने ‘करेन्सपोन्डेन्ट बैंक रिलेसन’का आधारमा बैंकमै फिर्ता भएको छ ।

यसरी फिर्ता गर्न सकियो धेरै पैसा
गत ३ कात्तिक तिहारको बिदाको दिन ह्याक भएको केही घन्टाभित्रै बैंकमा रहेको साढे ४६ करोड रुपैयाँ लन्डन, जर्मन, चीन, हङकङ, टर्की, जापान र अमेरिकाका विभिन्न बैंकमा ट्रान्सफर गरिएको थियो । ट्रान्सफर गरिएको रकम भुक्तानीका लागि ह्याकरले ३९ वटा अर्डर दिइसकेको थियो । त्यसमध्ये ३१ वटा अर्डर भने सफल हुने चरणमा थियो । पछि बैंकले प्रक्रिया नपुगेको भन्दै २३ वटा अर्डर रोकेपछि रकम भुक्तानी हुन सकेन । त्यसबाहेकको ४ वटा अर्डरबाट भने भुक्तानी भएको थियो ।

१३ वटा खातामा रकम ट्रान्सफर

बैंक ह्याक गरी लगिएको रकम विभिन्न मुलुकका १३ वटा बैंक खाताबाट रकम झिक्ने प्रयास गरिएको थियो । प्रहरीका अनुसार लन्डनको लोयड्स बैंकस्थित २३ वर्षीय इमिलियानो भिल्लाकसिओ र सोही बैंकमा रहेका २१ वर्षीय अलिक्जा मिकिलेविजको बैंक खातामा रकम ट्रान्सफर गरिएको थियो । त्यस्तै, जर्मनको कमर्ज बैंकस्थित ४४ वर्षीय निल डर्नेल कोच र सोही बैंकस्थित २७ वर्षीय मौरिस जुन फरेल अन्नाको बैंक खातामा पनि ह्याक गरिएको रकम ट्रान्सफर गरिएको थियो ।

चीनको बैंक अफ कम्युनिकेसनमा चिनियाँ कम्पनी ग्वान्जी जिङ्गुई इलेक्ट्रिक इन्जिनियरिङको बैंक खातामा पनि उक्त रकम ट्रान्सफर गरिएको थियो । त्यस्तै, हङकङको हङसुङ बैंकमा रहेको फेनजिङसिङ इन्डस्ट्रीको बैंक खातमा समेत उक्त रकम ट्रान्सफर गरिएको थियो ।प्रहरीका अनुसार टर्कीको एके बैंक, जापानको बैंक अफ टोकियो मित्सुबिसीस्थित दुईवटा खाता, चीनको बैंक अफ इस्ट एसियास्थित दुईवटा खाता, अमेरिकाको बैंक अफ अमेरिका र अमेरिकाकै पिएनसी बैंक पिट्सबर्गमा पनि ह्याकरले उक्त रकम पु-याएका थिए ।

कस्तो ह्याकर हो ‘लजारुस ग्रुप’ ?

प्रहरीका अनुसार ‘लजारुस ग्रुप’ अन्तर्राष्ट्रिय ह्याकर समूह हो । यसलाई ‘हिडेन कोब्रा’ पनि भनिन्छ । यो ग्रुपले सन् ०१६ मा बंगलादेशको केन्द्रीय बैंक ह्याक गरी ८५ अर्ब १० करोड रुपैयाँ संसारका विभिन्न बैंकमा सफलतासाथ ट्रान्सफर गरेको थियो । त्यसमध्ये ८ अर्ब १० लाख रुपैयाँ भुक्तानी लिन ह्याकर ग्रुप सफल भएको थियो । सोही ग्रुपले इक्वेडरको बैंकको डेल अस्ट्रोबाट १ अर्ब २० करोड रुपैयाँ, भियतनामस्थित तेइफोङ बैंकबाट १० करोड रुपैयाँ र ताइवानस्थित इस्ट इन्टरनेसनल बैंकबाट ६ अर्ब रुपैयाँ लैजान सफल भएको थियो ।

ह्याक गरी बैंकलाई अर्बौँ रुपैयाँ क्षति पु-याउने ‘लजारुस ग्रुप’का कुनै पनि सदस्य अहिलेसम्म पक्राउ भने परेका छैनन् । उनीहरूको पहिचानसमेत हुन सकेको छैन ।


 

प्रतिक्रिया दिनुहोस्