देशका खेलाडीले खेल जित्दा त्यती धेरै गर्व लाग्छ भने किन खेलाडीहरुलाई सुविधा नदिइएको ?
मुलुकलाई विश्वमाझ परिचित गराउन सबै भन्दा ठुलो भुमिका खेलकुद क्षेत्रको रहन्छ । यो संसारका कयौ देशको नाम हामीलाई यस कारण कण्ठ छ कि ती देशका खेलडीहरुलाई हामी चिन्दछौं । मुलुकको झण्डा बोकेर जब खेलाडीहरु मैदानमा उत्रिन्छन् त्यस बेला हामी एक ढिक्का हुन्छौ ।
अन्य बेलाका कयौ असन्तुष्टी, तुष, पुर्वाग्रह रिस, राग, इश्र्या, दुश्मनी सबका सब एक सेकेण्डमा समाप्त हु्न्छ, जब देशको झण्डा फहराउदै आफ्ना खेलडीहरु मैदानमा छिरिरहेका हुन् । यसरी सिंगो मुलुकलाई राष्ट्रियताको एउटै सुत्रमा बाँध्ने खेलकुद क्षेत्रलाई भने राज्य उत्पादक क्षेत्रनै मान्दैन ।
सुविधा माथि सुविधा पाएका अति सम्पन्त्र विदेशी खेलाडीहरुसंग, समस्या नै समस्यासँग सिङौरी खेल्दै आफ्रनै बलबुतोमा प्रेक्टिस गरेर अघि बढ्दै गरेका हाम्रा खेलाडीहरुले प्रतिस्पर्धा गर्नुपर्छ । तर पनि खेलकुदमा जुन स्तरको प्रर्दशन खेलाडीहरुले गरिरहेका छन् त्यसका लागि यो देशका हरेक खेलाडीलाई सलाम छ ।
एउटा ढंगको मैदान छैन, परिवार समाजको साथ छैन्, खेल सामग्री किन्ने पैसा छैन्, पर्याप्त डाइट छैन् । तर पनि अरबांैको घरमा बसेका बैवभशाली जीवन बाँचेका र एउटै खेलमा करोडौ पैसा कमाउने बिदेशी खेलाडीहरुको पसिना छुटाउन सक्ने दमदार खेलाडी, शानदार खेलाडी कहि कोही छन् भने ति नेपालका सच्चा सपुत हाम्रै खेलाडी मात्र हुनसक्छन् ।
मुलुकको कुल बजेटको एक प्रतिशत पनि बजेट छैन् खेलकुदमा । तर नेपाली खेलाडीले जित्दा बधाई दिन सवै भन्दा बढी हतार राजनीतिज्ञलाई नै हुन्छ । खेलाडीको तारिफ गरे पपुलर भईन्छ भनेर सबलाई थाहा छ । त्यसैले खेलाडीलाई ट्वीटर र फेसबुकमा बधाई दिन तछाँड मछाँड चल्छ । देशका खेलाडीले खेल जित्दा त्यती धेरै गर्ब लाग्छ भने किन दिनुहुन्न त खेलाडीहरुलाई सुविधा ?
दुई ओटा उसिनेको अण्डा र राति भिजाएको काँचो चना बिहान खाएर यो देशका अधिकांश खेलाडीहरु हुर्कन्छन् । तर एउटा गोल छिर्दा र एउटा विकेट ढल्दा पहिलो टुईट चाही खेल क्षेत्रलाई सुक्को योगदान नदिने राजनीतिज्ञकै हुन्छ । बिगतमा चरम राजनीतिको खेलमात्रै चलिरहेको खेलकुद जगतले, यस्तो चरम अभावमा पनि उत्कृष्ट खेलेर सारा नेपालीलाई एक ढिक्का बनाईरहेको छ ।
केवल राष्ट्रियता मात्र होईन नेपाल जस्तो वातावरणीय स्वर्ग मुलुकमा अन्तराष्ट्रि स्तरका रंगशालाहरु बनाउने हो भने कयौ देशका म्याचहरु यहि खेलाउन सकिन्छ । यसबाट हुने फाईदाको हिसाब चानचुने क्यालकुलेटरमा अट्दैन । तर खेलका नाममा राजनीति र राजनीतिका नाममा चाही खेल मात्र चलिरहने हो भने यो मुलकुमा खेलाडी त जन्मन्छन् तर बाँच्न र हाँस्नको लागि बिदेशिन बाध्य हुन्छन् ।
आज सोमपाल कामी, नवयुग श्रेष्ठहरु देशका लागि खेल्दैछन् । सन्दीप लामिछाने, बिमल घर्ती मगरहरु देशका लागि मात्र होईन अरु देशका टिमसँंग पनि काँधमा काँध मिलाउन सक्ने क्षमता राखिरहेका छन् । जित्दा सामाजिक सञ्जालमा नाक फुलाएर मात्र हुदैन् ।
खेलकुद जगतलाई राजनीतिको खेलबाट मुक्त बनाउन पनि सक्नु पर्छ । ईतिहासको हरेक काल खण्डमा यो देशले विश्वस्तरका खेलाडीहरु जन्माएको छ । तर खेल क्षेत्रका बिभिन्न संघहरुमा हुने गरेका फोहोरी राजनीतिक खेल, नाता गोता कार्यकर्ता भर्ती केन्द्र र विदेश पठाउने झेलबाट वाक्क दिक्क भएका होनहार खेलाडीहरु यति खेर अमेरिका क्यानडा, अस्ष्ट्रेलिया, जापान, कोरिया लगायतका देशमा विभिन्न पेशामा संलग्न छन् ।
नामले मात्र खान दिदैन । देशको झण्डा फहराउँदा वाह वाही, ताली र लाखौ फेसबुक लाईक देखाएर कुनै पनि पसलेले सधै उधारो दिदैन । कुनै स्कुलले सित्तैमा छोरा छोरी पढाउदैन् ।
कुनै पेट्रोल पम्पले सित्तैमा तेल हाल्दैन् । पारस खड्काको छक्कामा गर्व गर्ने नेताज्युहरु, बिमल घर्तीले गोल हान्दा र किरण चेमजुङले गोल रोक्दा दंग पर्ने खेलकुद मन्त्री ज्यु, कहिले काही खोज्नुहोला एसियाली खेलकुदमा रजत पदक ल्याउने सविता राजभण्डारी कहां छिन् ? ओलम्किमा नेपाललाई पहिलो कास्य पदक दिलाउने बिधान लामा कहां छन् ?
एशियाली फुटबल महासंघ ए एफ सी को प्लेयर अफ दि मन्थ उपाधी पाउने एक मात्र फुटबलर उमेश प्रधान कहां छन् ? फुटबललाई फगत भकुण्डो र क्रिकेट ब्याटलाई मुङग्रो भन्दा माथि नदेख्नेहरुका कारण सम्भावना बोकेका कयौ नेपाली खेलाडीहरु विदेशका गल्लीहरुमा सामान्य काम गरिरहेका भेटिन्छन् ।