प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जन्मोत्सव पर्व आज रामभक्त हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी मनाइँदै छ । त्रेता युगमा पवन र अञ्जनीका पुत्रका रुपमा हनुमानको जन्म भएको थियो ।
रामायणमा वर्णन गरिएअनुसार रावणको अत्याचारबाट पृथ्वीलाई मुक्त गर्न श्रीरामभक्तका रुपमा हनुमानले योगदान दिनुभएको थियो । रावणले सीता हरण गरेर लगेपछि रामले दशवटै दिशामा खोज्न दूत खटाउनुभयो । त्यसबेला समुद्रबाट जानुपर्ने दक्षिणतिर खोज्ने जिम्मेवारी हुनमानको थियो ।
सूर्यका श्रापले उड्न सक्ने शक्ति बिर्सिएका हनुमानलाई रामायणकालीन पात्र जाम्ववानले त्यो शक्तिको स्मरण गराउनुभएको थियो । सीता खोज्दै लङ्का पुग्नुभएका हनुमानले अशोकवाटिकामा भेटी रामको दूतका रुपमा औँठी दिनुभयो ।
सीतालाई अशोकवाटिकामा भेटिसकेपछि हनुमान फलाहार गर्न रावणको बगैँचामा पस्नुभयो । फल खाइरहेका बेला रावणका सेनाले पक्रिएर दरबारमा पु¥याए । रावणको आदेशमा बजारबाट कपडा ल्याई हनुमानको पुच्छरमा बाँधेर तेल राखी आगो लगाइदिए । हनुमानले लङ्काका विभिन्न स्थानमा आगो सल्काइदिँदै समुद्रमा गई पुच्छरको आगो निभाउनुभयो । लङ्का जल्न थाल्यो । रावणका सेनामा हाहाकार मच्चियो ।
लङ्काबाट फर्किएर श्रीरामलाई सीताको खबर सुनाउनुभएका हनुमानले रामायणको युद्धअघि दूतका रुपमा रावणलाई शान्तिको सन्देश दिनुभयो । रावण सम्मानपूर्वक सीता फर्काउन तयार नभएपछिको युद्धमा पनि हनुमानले श्रीरामलाई साथ दिनुभयो । युद्धमा लक्ष्मण मुच्र्छा हुँदा सञ्जीवनी बुटीका लागि पर्वत नै उचालेर लङ्कामा उतार्नुभयो ।
बलशाली व्यक्तित्व हनुमानको पूजा आराधना गर्नाले चिताएको पुग्ने, डर, त्रासबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने त्रासमा घर घरमै बन्दाबन्दी (लकडाउन) मा बसेका मानिसका लागि हनुमानको पूजा, आराधना एवं पाठ पारायणले मानसिकरुपमा शान्ति र आशाको सञ्चार गर्ने उहाँको भनाइ छ ।
विगत वर्षमा हनुमान जन्मोत्सवका अवसरमा मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्र, बजरङ्ग सत्सङ्ग मण्डल, हनुमान सेवा आराधना मण्डललगायत संस्थाले विशेष पूजा आराधनासहित रथयात्रासमेत निकाल्थे । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण नियमित पूजा मात्र गरिने बजरङ्ग सत्सङ्ग मण्डलका उपाध्यक्ष कृष्णकुमार अग्रवालले राससलाई जानकारी दिनुभयो ।
यस अवसरमा हनुमानढोकास्थित हनुमान मन्दिरमा विशेष पूजा आराधना गरी विभिन्न अस्पतालमा उपचाररत एक हजार जना बिरामी एवं तिनका आफन्तलाई प्रसादसहित भोजन गराउने कार्यक्रम रहेको जानकारी पनि उहाँले दिनुभयो । हनुमानढोका दरबारअघि मन्दिरमा हनुमान चालिसाको पाठ पारायण पनि गरिनेछ ।
हनुमान अष्टचिरञ्जीवीमध्ये पर्नुहुने शास्त्रीय ग्रन्थमा व्याख्या गरिएकाले पञ्चाङ्ग (पात्रो) मा लेखिँदै आएको हनुमान जयन्तीका स्थानमा हनुमान जन्मोत्सव लेख्न मण्डलले अनुरोध गर्ने जनाएको छ । मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुरामलाई अष्टचिरञ्जीवीका रुपमा पूजा आराधना गरिन्छ । आठैजना अहिलेसम्म जीवित रहेको विश्वास गरी जन्मोत्सवका दिनमा अष्टचिरञ्जीवीको विशेष पूजा हुन्छ ।
यस अवसरमा कुलेश्वरको हनुमान मन्दिर, गोकर्णेश्वर उत्तरवाहिनीस्थित पञ्चमुखी हनुमान मन्दिरलगायत देशभरका हुनमान मन्दिरमा विशेष पूजा आराधना गरिने छ । हनुमानका भक्तहरुले घर घरमा पनि पूजा आराधना गरी हनुमान चालिसा, रामायणलगायत ग्रन्थ पाठसमेत गर्छन् ।
प्रतिक्रिया