खेलकुद र सांस्कृतिक गतिविधिका लागि पूरै प्रदेशमा चर्चित यो गाउँ र वरपरका अन्य १८ वडामा कर्फ्यूको जस्तो स्थिति छ। प्रत्येक घरमा ‘होम क्वारेन्टिन’ को पर्चा टाँसिएको छ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार यस्तो अवस्था एउटा ‘सानो’ लापरवाहीका कारण उत्पन्न भएको हो । ८ चैतमा ओमनबाट आएका एक युवालाई सरकारले कोरोना संक्रमणको आशंकमा घरमै क्वारेन्टिनमा बस्न भन्यो । तर ती युवाकाे नियमित निगरानी भने हुन सकेन।
उनमा कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण गर्न १४ दिन लाग्यो। यसै कारण अहिले गाउँमा २३ जनामा संक्रमण फैलिएको पुष्टी भइसकेको छ। ती व्यक्तिको सम्पर्कमा आएका अरु ९७ जनाको पहिचान गरेर जिल्ला सदरमुकाममा क्वारेन्टिन गरिएको छ।
स्थानीय पत्रिकाहरुका अनुसार ती व्यक्ति पटना एयरपोर्टमा ओर्लिएपछि स्क्रिनिंगका बेला उनमा कोरोना संक्रमण भएको आशंका गरिएको थियो । तर, उनको हातमा ‘होम क्वारेन्टिन’ को छाप लगाइयो र उनलाई घरमै १४ दिन क्वारेन्टिनमा बस्न भनियो ।
स्थानीय सञ्जय सिंह भन्छन्, ‘गलती उसको हो कि प्रशासनको हो, तर, ऊ धेरै दिन गाउँमा स्वतन्त्ररुपमा घुमिरह्यो, मानिसहरुसँग भेटघाट गरिरह्यो, क्रिकेट खेल्यो, विवाहमा सहभागी भयो । कसैले उसको निगरानी गरेन। दश दिनपछि उसको नमूना लिइयो र २१ चैतमा जब उसको नमूनाको रिपोर्ट पोजेटिभ आयो तबमात्र सबै सक्रिय भए। हतारहतारमा गाऊँ सिल गरियो, उसको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको खोजी सुरु भयो।’
सञ्चारमाध्यमहरुका अनुसार ती व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएपछि उसको परिवारका २८ जनालाई स्थानीय क्वारेन्टिनमा राखिएको छ। त्यसपछि भएको परीक्षणको २६ चैतमा आएको रिपोर्ट अनुसार चार जनामा संक्रमण देखियो, २७ चैतमा थप १७ मा संक्रमण पुष्टी भएकोमा २८ चैतमा फेरि थप दुई संक्रमित भेटिए। २७ चैतमा जुन ९७ जनालाई सिवानमा क्वारेन्टिनमा राखिएको छ तीमध्ये ६१ जना सुरुमा संक्रमित व्यक्तिको घर वरपरका छन् भने ३६ जना क्रिकेट खेल्दा सम्पर्कमा आएकाहरु हुन्। अहिलेसम्म बिहारको सिवानमा २९ जनामा संक्रमण पुष्टी भएको छ भने बिहारभर ५८ जनामा । यद्यपि, बिहारमा संक्रमितको संख्या योभन्दा धेरै हुनसक्ने जानकारहरु बताउँछन।
प्रतिक्रिया