संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहा सहरको एउटा भवनको दुई कोठामा ३० नेपाली कोचिएर बसेका छन् । यूएईमा अलपत्र परेका उनीहरूलाई यूएईकै प्रवासी नेपालीहरूले कोठा खोजेर राखेका हुन् ।मासिक १५ सय दिराम कमाइ हुन्छ भनेर सात महिनाअघि युएई गएका उनीहरूलाई कम्पनीले महिना मरेपछि १ सय ८ दिराम दिन थाल्यो । ६ महिनामा पनि तलबको समस्या समाधान नभएपछि उनीहरू एक महिना अघिबाट नेपाल फर्किने प्रक्रियामा लागेका थिए । १० जना त फर्किए पनि । तर त्यति नै बेला नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि अरू उतै रोकिए ।
त्यसको केही दिनपछि उनीहरू बसेको कोठामा बंगाली साहुले ताल्चा ठोकिदिए । कम्पनीबाट निकालिएका उनीहरू नेपाली राजदूतावासको बेवास्तामा पनि परे । केही दिन पार्कमा आकासमुनि रात बिताएपछि उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एक महिनाका लागि कोठा खोजेर राखिदिएको छ । तर उनीहरूलाई खानेकुराको भने समस्या छ । लकडाउनका कारण सहयोग माग्न जान सक्ने अवस्था छैन । अलपत्रमध्ये एक युवकले टेलिफोनमार्फत अनलाइनखबरसँग भने, ‘हामी क्वारेन्टाइनमा बस्न तयार छौं । नेपाल सरकारले उद्धार गरेर आफ्नो देश पुर्याइ दिनुपर्यो ।’
सारजहा लकडाउन (कर्फ्यू) मा भए पनि धेरै नेपाली काममै छन् । स्वदेशी कामदारलाई छुट्टी दिएर विदेशीलाई काममा लगाइएको गुनासो खाडी मुलुक र मलेसियाबाट आउन थालेको छ । कतिलाई आफू बसेको क्याम्प र कोठा असुरक्षित लागेको छ । धेरै संख्यामा कामदार राखिएका क्याम्पहरूबाट ड्युटी आउने र जाने क्रम चलिरहँदा नेपालीहरू कोरोना भाइरस संक्रमणको भयमा छन् ।
बहराइनमा कार्यरत मधु थापा कोरोना भाइरसको सन्त्रासपछि घर फर्किन चाहेका छन् । कारण हो, ५ सयभन्दा बढी कामदार रहेको उनको कम्पनीको क्याम्पमा भइरहेको लापरबाही । ‘काममा आउने–जाने भइरहेकै छ । न सामजिक दूरी राखिएको छ, न सरसफाइमा ध्यान,’ उनी भन्छन् ।
प्रतिक्रिया