‘ठूलठूला लामखुट्टेले बस्न दिएको छैन । यहाँ कसरी बस्न सक्छु ?’ धनुषाको शहीद नगरपालिका वडा नम्बर ३ स्थित जनता एकाई माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका तेजनारायण साफीले भने ।
भारतमा मजदुरी गर्दै आएका साफी लकडाउनका बाबजुद वैशाख १ गते घर आइपुगेका थिए । स्थानीयले उनलाई क्वारेन्टाइन पठाइदियो । उनी त्यही दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका छन् । तर व्यवस्थापन राम्रो नभएको उनको गुनासो छ ।
स्वास्थ्यकर्मीहरुले थर्मल गनबाट ज्वरो नाप्ने गरेका छन् । तर सेनिटाइजर लगायतको व्यवस्था छैन । नगरपालिकाले भने क्वारेन्टाइनका लागि ५ लाख बजेट छुट्टयाएको बताएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द झा भन्छन्, ‘बजेट भएकाले यहाँ बस्नेका लागि सबैथोक हुनुपर्ने हो । के भएको रहेछ म बुझ्छु ।’
सिरहाको औरही गाउँपालिका ५ स्थित क्वारेन्टाइनमा बस्नेहरुको हालत पनि यस्तै छ । ‘खाना ल्याएर भुइँमै राखिदिन्छन्’ एक सातादेखि त्यहाँ बस्दैआउका परमानन्द झाले गुनासो गरे, ‘हामीलाई अछुतजस्तो व्यबहार भइरहेको छ ।’
भारतबाट फर्किएका झालाई सुन्दर जनता माविको क्वारेन्टाइनमा रादिखएको छ । ‘खाजाखाना ल्याउनेले भुइँमै राखेर हिँडछ’ उनले अनलाइनखबरसँग भने, पानीजस्तै दाल र झोलबाला तरकारी खाँदाखाँदै हैरान भएको छु ।’
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित भूपेन्द्र संस्कृत माविमा बनाइएको क्वारेन्टाइनमा भुइँमा म्याट ओछ्याइदिएको छ । यहाँ बस्नेहरुलाई त्यसमै सुत्नुपर्ने बाध्यता छ । ज्वरो नाप्ने थर्मल गन समेत छैन भने मास्कको समेत अभाव छ ।
सप्तरीको सप्तकोशी, बोदे बर्साइन नगरपालिकाले बनाएको क्वारेन्टाइनमा म्याटमै सुत्नुपर्ने बाध्यता छ । विद्यालयहरुमा नै क्वारेन्टाइन बनाएको भएसिन त्यसलाइै व्यवस्थित गर्न सम्बन्धित स्थानीय तहले चासो नदिएको गुनासो छ ।
प्रतिक्रिया