अभिनेता पल शाहमाथि लागेको करणीको अभियोगले नयाँ मोड लिएको छ।
जिल्ला अदालत तनहुँमा पीडित नाबालिग र जाहेरवाला उनका बुवाले शाहलाई राहत मिल्ने गरी बकपत्र दिएपछि मुद्दा कमजोर हुने संकेत देखिएको हो। कलाकार पल शाहले आफूमाथि पटकपटक कर णी गरेको आरोप लगाएकी नाबालिगले अदालतमा बयान फेरेकी छन्। अदालतले बयान लिने क्रममा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी हुन्।
आइतबार जिल्ला अदालत तनहुँमा पीडितले बयान दिएकी थिइन्। आफूले दबाबमा जाहेरी दिएको र प्रहरीले आफैँले बयान लेखेकोसमेत उनको दाबी रहेको अदालत स्रोतले जानकारी दिएको छ। पलले आफूमाथि कर णी नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफैँ बयान लेखेको तर आफ्नो बयान भनेर अदालतमा बुझाएको पीडितको दाबी छ। पीडितका बुबाले तनहुँ र नवलपुर प्रहरीमा पलविरुद्ध जाहेरी दिएका थिए। दुवै जिल्लाका जिल्ला अदालतले उक्त मुद्दामा प्रारम्भिक सनुवाई गरेका छन्। तनहुँ अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालतको आदेशविरुद्ध पल उच्च अदालतमा पुनरावेदनमा गएका छन्।
बुबाको जाहेरीपछि पीडितले ग्यालेक्सी टेलिभिजनमा अन्तर्वार्ता दिँदासमेत आफूमाथि करणी भएको बताएकी थिइन्। अदालतमा बयान फेरिपछि नाबालिग ‘होस्टाइल’ भएको हुन सक्ने आशंका गरिएको छ।पीडित र जाहेरवालाले बकपत्रमार्फत बयान फेरेसँगै पल शाहले सफाइ पाउने सम्भावना बढेको छ। कतिपय मुद्दामा बकपत्र फेरिएसँगै पीडकले सफाइ पाएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए। ‘पीडितले नै होइन भनेपछि त अदालतले सफाइ दिन सक्ने भयो। तर पीडित माथि नै कारबाही हुन पनि सक्छ’, त्रिपाठीले भने, ‘यसअघि अदालतले यसरी फैसला गरेका प्रशस्त उदाहरण छन्।’
यसअघि जिल्ला अदालत अछामले करणीकै मुद्दामा पीडक भनिएका व्यक्तिलाई सफाइ दिँदै पीडित युवतीलाई साढे तीन वर्ष जेल सजाय तोकेको छ। त्यसपछि ती युवतीलाई सुधार गृहमा राखिएको छ। पीडक भनिएका युवक छुटिसकेका छन्। तर यो मुद्दा उच्च अदालत दिपायलमा पुगेको छ। जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको छ। यस्तै त्यसको केही दिनपछि जिल्ला अदालत दैलेखले पनि पीडकलाई सफाइ दिँदै पीडितलाई नै तीन महिना कैद सजाय तोकेको थियो।
यो घटनामा पनि यस्तै सजाय तोकिन सक्ने कानुन व्यवसायी बताउँछन्। तर यो न्यायाधीशको विवेकमा भर पर्छ। वरिष्ठ अधिवक्ता त्रिपाठीले पीडितले बयान फेरे पनि प्रभावित भएर होस्टाइल भएर जाहेरीमा भएको कुरा नै सत्य हो भन्ने लागेमा शाहलाई नै सजाय तोक्न सक्ने पनि बताए। यसअघि यस्ता फैसला पनि आएको उनले बताए। ‘पीडितले बकपत्र फेरे पनि अदालतले पीडक भनिएकाहरूलाई सजाय तोकेका उदाहरण पनि छन्। तर यस्ता केसमा पीडितले होइन भनेपछि त्यो सम्भावना कम हुन्छ’, उनले भने।
प्रतिक्रिया