को हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्र प्रकाश गौतम ?
ताप्लेजुङको विकट खेवांग गाउँमा जन्मिएर तेह्रथुमको आठराईमा हुर्किएका हन् सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव महानिरीक्षक ( डिआइजी ) चन्द्र प्रकाश गौतम । रसायन शास्त्रमा एमएससी गरेका गौतमले जीवनको करिब २५ वसन्त नेपालको सुरक्षा निकायमा सेवा गरेर बिताएका छन्। अहिलेको पद र प्रतिष्ठा उनको जीवनको लामो यात्राले आर्जन गरेको हो। जीवनमा प्रशस्तै चुनौतिहरुसँग जुध्दै उनी यहाँसम्म आइपुगेका हन्। आफू हिँड्ने गोरेटो आफैं निर्माण गर्दै अहिलेको यो उच्च पदमा पुग्दा बनेको उनको जीवनको संगर्सको कथा कम्ता रोचक छैन। ताप्लेजुङमा जन्मि पनि गौतमको बाल्यकालको अधिकांश समय तेह्रथुमको आठराईमा बितेको थियो ।उनी मामाघरमै हुर्किएका हुन्।
आमाको एकल अभिभावकत्वमा हुर्किएका हुन् उनी। बुवाले दिने माया, मार्गनिर्देशन र अभिभावकत्व कस्तो हुन्छ अहिलेसम्म थाहा छैन। ‘संसारमा सबै सन्तानले उस्तै भाग्य बोकेर आएका कहाँ हुन्छन र?’, उनी भन्छन्, ‘यसमा भाग्यलाई दोष दिनु भन्दा नियतिको खेल नै यस्तै हो भन्ने ठान्दछु।’चालिसको दशकमा उनले बाल्यकाल बिताए। गाउँमा अन्य बालकहरु जस्तै सुख दु:खबीच उनी हुर्किए। अन्य बालकहरू जस्तै धुलो माटो र हिलो मैलोसँगै खेलेर उनी हुर्किए। बनपाखा, भितिर पनि डुले। यसो भन्दा उनलाई कुनै अफ्ठेरो लाग्दैन।
अहिले उनले आफू बाल्यकालमा कस्तो थिएँ भनेर सोधेको बेला आमाको जवाफ हुन्छ, ‘अलिक चन्चले, सृजनशील, तीक्ष्ण बुद्धिको र अरु भन्दा अलि फरक । एकोहोरो र जिद्दी पनि।’बालककालमा उनको पढाइ उत्कृष्ट भए पनि फिरन्ते बन्यो। कहिले तेह्रथुम त कहिले झापा। एसएलसी दिँदासम्म उनले विद्यालय फेरिनैरहेका थिए । २०४३ सालमा एसएलसी दिएपछि पनि उनको अध्ययन स्थिर भएन। फिरन्ते जस्तै यताउता घुमिरहे।
एसएलसीमा राम्रो अंक आएपछि उनले विज्ञान रोजे। सानैदेखि विज्ञान पढ्ने रुचि थियो।विज्ञान पढ्ने सपना पूरा गर्न उनी काठमाडौं खाल्डो हान्निए। काठमाडौं आएर अमृत साइन्स क्याम्पसमा इन्ट्रान्स दिए, पास पनि भए। भर्ना भए, तर विडम्बना काठमाडौंको भीडमा उनी अडिन सकेनन्। काठमाडौंमा नअडिनुको एउटै कारण थियो अभाव।‘शुरुमै होस्टल पाएको भए म काठमाडौंमै बस्थे होला। तर, कोठा भाडा तिरेर बस्न र विज्ञान पढ्ने बन्दोबस्ती जुटाउन मसँग प्रशस्त पैसा भएन,’ उनले संकटका ती दिनबारे सुनाए। आईएससी प्रथम बर्ष पनि पूरा नगरी उनी राजधानी छोडेर महेन्द्र मोरङ क्याम्पस विराटनगर पुगे।
विराटनगरबाट आइएस्सीको परीक्षा सके। त्यहाँबाट उनी पुन: मावली गाउँ तेह्रथुमको आठराई पुगे। जहाँ उनले गणित तर विज्ञान शिक्षकको नयाँ परिचय बनाए। यो २०४६ को जनआन्दोलन अघिको कुरा हो। आइएसी सकेपछि उनलाई डाक्टर बन्ने रहर थियो। उनी फेरि तेह्रथुमबाट मेडिकल तयारीका लागि काठमाडौं हान्निए, यद्यपि चाहे जस्तो सबै कुरा कहाँ पूरा हन्छ र? डाक्टर नबन्ने भएपछि बिएस्सी पढ्नु नै थियो। उनी अस्कलमै पुगे बिएस्सीमा भर्ना भए।
यतिबेला उनको परिवार झापामा बसाईं सरिसकेको थियो।अस्कलमा बिएस्सी पढ्दा उनीसँग राजधानीमा टिक्न जागिर खानुपर्ने बाध्यता थियो। उनीसहित साथी मदन उप्रेती र नवीन देउजाले बागबजारमा ‘एबिसी ट्युसन सेन्टर’ खोलेर अंग्रेजी भाषासहितको ट्युसन पढाउन थाले । ट्युसन सेन्टरमा पढाउन थालेपछि उनको जीवनमा आर्थिक सम्पन्नताको नयाँ रेखा कोरियो। अब उनको जीवनको अभावको त्यो गोेरेटो सकिँदै गयो। २ वर्ष ट्युसन र अंग्रेजी भाषा पढाउँदै गर्दा क्याम्पसको अध्ययनले पनि उचाई लिँदै गयो। बिएस्सी पास भए लगत्तै मास्टर्स पढ्न त्रिभुवन विश्वविद्यालयको क्यामेस्ट्रीमा भर्ना भए। पढाईको गतिले उचाई लिँदै गर्दा करियर बनाउनु पर्ने पनि उमेर पुगिसकेको थियो।२०५१ सालमा अर्गानिक केमेस्ट्रीमा एमएससीको पदाई सकेपछि उनले लोकसेवा दिए। तर, लिखित परीक्षा उतीर्ण भएपछि तत्कालीन शाही नेपाली सेनाको सहायक सेनानीमा भर्ना भए। खरिपाटीमा तालिम गरिराखेका बेला विदेशमा तालिमका लागि छनौट भए।
उनी भारतको देहरादुनमा अधिकृत तालिम सकेर नेपाल फर्किए। त्यो बेलामा केमेस्ट्री बिषयमा मास्टर्स सकेको मान्छे सेनामै किन भर्ना भएको पनि भन्ने गरेको सुन्थे उनी।’आर्मी भएर राष्ट्र सेवा गर्नु भनेको कति गौरवको कुरा हो भन्ने कुरा कि उसैले बुझेको हुन्छ कि त उसको परिवारले’,उनले यसरी आफू हिँडेको बाटोलाई व्याख्या गरे, ‘मैले नेपाल आर्मीको इतिहास पढेको थिएँ। राष्ट्रको गौरव बढाउन सेनाको भूमिका छ। नेपालको इतिहासमा आर्मीको छुट्टै पहिचान र सम्मान छ। यस्तो सम्मानित क्षेत्रमा मेरो प्रवेश गौरवको कुरा थियो।’करिव ५ वर्ष नेपाली सेनामा बिताएपछि संयुक्त राष्ट्रसंघको शान्ति सेनाका रुपमा पहिलोपटक पूर्वी टिमोरमा शान्ति स्थापानार्थ उडे। पर्वी टिमोरमा रहँदा मिलिसियासँगविरुद्धको अभियानमा फिल्ड कमान्डरका रुपमा जिम्मेवारी पुरा गर्दै त्यहाँका जनतालाई सुरक्षा प्रदान गरेको अनुभव उनीसँग छ।
सशस्त्रमा पनि शान्ति मिसन
सशस्त्र प्रहरी बलमा आएपछि द्वन्द्वकालमा देशका विभिन्न क्षेत्रमा पुगे। त्यसका अलवा उनी शान्ति मिसनका लागि विश्वका विभिन्न देशहरुको यात्रा गरे। हुन त पहिलोपटक सन् १९९९ मा पूर्वी टिमोरमा शान्ति सेना बनेर उनी पुगेका हुन्। त्यहाँ शान्ति स्थापनाका लागि ७ महिना बसेका थिए।दोस्रो पटक उनी २००२ मा इराक पुगेका थिए। तर अमेरिकाले इराकमा हमला गर्ने भएकाले ७ महिना बसेर ‘एभाकुएसन’ भएर साइप्रस हुँदै नेपाल फर्किए।
तेस्रोपटक २००७ मा उनी पूर्वी टिमोर पुगेर दुई वर्ष राष्ट्र संघीय पुलिसको महत्वपूर्ण जिम्वेवारी पूरा गरेर फर्किए।चौथो पटक सन् २०१० मा सशस्त्र प्रहरी बलको फर्म्ड पुलिस कमान्डरको रुपमा उनी लाइबेरिया पुगे। पाँचौ मिसनका रुपमा उनी संयुक्त राष्ट्र संघको मुख्यालयले संचालन गर्ने ग्लोबल प्रतिस्पर्धामा राष्ट्र संघको पी-४ पदमा २०१५ मा छनौट भइ सुडानस्थित डार्फरको चिफ अफ अपरेसन पी-५ भइ ३ वर्ष बसे।राष्ट्र संघ अन्तर्गत काम गर्ने शिलशिलामा उनी विश्वका ७२ देश पुगे।
प्रतिक्रिया