ठूलो पानी पर्दा काठमाडौंका सडकमा भेल बग्नु नौलो कुरा भने हैन । पछिल्लो समय भने यसअघि खासै भेल नदेखिने क्षेत्रमा पनि वर्षा हुनासाथ खहरे बाढी बग्न थालेको छ । सडकमा नछोपिएका ‘म्यानहोल’ (मंगाल) हरुमा परेर मान्छे तथा सवारी दुर्घटना हुने जोखिम पनि उत्तिकै बढेको छ ।
काठमाडौंमा ढल निर्माण र मर्मतको जिम्मेवार निकाय काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) हो । केयूकेएलले खानेपानीको बिलमा ५० प्रतिशत रकम थपेर ढल व्यवस्थापन शुल्क असुल्ने गरेको छ ।
तर, मुख्य वर्षायाम अघि नै सडकमा देखिएको जोखिम सुल्झाउन केयूकेएलसँग कुनै योजना छैन । ३–४ वटा जेटर मेसिनको भरमा शहरभरको ढल व्यवस्थापन गर्ने उसको तयारी बढ्दो समस्या अनुसार नगण्य हो ।
चार वर्षअघिको सरकारी अध्ययन अनुसार सुन्धारा, भोटाहिटी, जमल, नारायणगोपाल चोक, तीनकुने, कोटेश्वर, थापाथली, माइतीघर लगायतका ठाउँमा पानी पर्नासाथ सडकमा ढल बग्न थाल्ने समस्या धेरै छ । नक्साल, भगवतीबहाल, जयबागेश्वरी, लैनचौर र सोह्रखुट्टेमा पनि ढलको समस्या छ ।
यसैगरी कमलादीदेखि त्रिचन्द्र क्याम्पस, रातोपुल र हात्तीसारको जयनेपाल हलनजिक पनि ढल लिकेजको समस्या ज्यादा देखिने गरेको छ । गौशाला र पुतलीसडकमा गत वर्ष नयाँ ढल हाले पनि समस्या समाधान भएको देखिएन ।
आकाशे पानी ढल प्रणालीमा खसाल्न सडकमा बनाइने नाली र त्यसलाई खोलासम्म लैजाने ढल प्रणाली नै जाम हुने समस्या देखिएको छ ।
स्थानीय तह निर्वाचनपछि १४ जेठमा बसेको काठमाडौं महानगरपालिकाको पहिलो बैठकमा अधिकांश वडाध्यक्षले यो बिषय उठाएका थिए ।
प्रतिक्रिया