सन् २०२३ देखि २०३३ सम्म नेपालमा छायांकन हुने विदेशी फिल्मले छुट पाउने भएका छन् । सरकारले यो अवधिलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ ।
विदेशी मुद्राको आम्दानी बढाउने लक्ष्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेको ७४ वटा पुनरुत्थान कार्यक्रममा यो योजना उल्लेख छ ।
आइतबार कार्यक्रम घोषणा गर्दै पर्यटनमन्त्री जीवनराम श्रेष्ठले यसले नेपालको पर्यटन बजारमा सकारात्मक लहर ल्याउने दाबी गरे । चालु आर्थिक वर्षको बजेटमा पनि नेपाललाई अन्तर्राष्ट्रिय छायांकन गन्तव्य स्थलको रुपमा विकास गर्ने उल्लेख छ ।
नेपालमा छायांकन हुने विदेशी फिल्मले लोकेसनअनुसार न्यूनतम १५ हजार रुपैयाँदेखि १५ सय डलरसम्म तिर्छन् । छायांकन शुल्क नभनिए पनि सेन्सर शुल्क भनेर सरकारले पैसा लिन्छ ।
सार्क मुलुकबाहेकका फिल्ममेकरले कुनै एक राष्ट्रिय निकुञ्जमा छायांकन गर्नुपरे १५ सय डलर तिर्नुपर्छ । माथिल्लो मुस्ताङ र मनाङमा छायांकन गर्नुपरे ५ हजार डलर शुल्क तोकिएको छ ।
नगरपालिका र गाउँपालिकाले स्थानीय सरकारको कर नीतिअनुसार अलग्गै कर लिने गरेका छन् । काठमाडौं महानगर प्रमुख भएर आइसकेपछि बालेन साहले काठमाडौंलाई विदेशी फिल्मको छायांकन थलोको रुपमा विकास गर्ने बताएका थिए ।
नेपालमा सबैभन्दा धेरै समय रहेर छायांकन हुने विदेशी फिल्म क्याराभान हो । माथिल्लो डोल्पामा महिनौं रहेर एरिक भ्यालीले यो फिल्म छायांकन गरेका थिए । हलिउडको डक्टर स्ट्रेन्ज र बलिउडको उचाइ फिल्म पनि नेपालमा केही साता रहेर खिचिएको थियो ।
प्रतिक्रिया