Logo

रक्षामन्त्री हरिप्रसाद उप्रेतीको १०० दिन, सवारीसाधनको दर्तादेखि सैन्य सामग्रीमा कर छुटसम्म

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने बताएका छन्। मन्त्रालयको एक सय दिन पुगेको अवसरमा सिंहदरबारमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने बताएका हुन्।

काठमाडौँ–तराईरमधेस द्रुतमार्ग नेपाली सेनाको कारणले नभई राज्यको तर्फबाट नै आवश्यक ऐन, कानुन, नियम नबनाउँदा र नियमन हुन नसक्दा ढिलाइ भएको उनको भनाइ छ । द्रुतगतिमा काम भइरहेको र यही हिसाबले काम भइरहे २०८३ सालको चैत्रसम्ममा काम सम्पन्न हुने प्रतिवद्धतासमेत जनाएका छन् ।

मन्त्रालयले सय दिनमा चीन सरकारबाट सहयोगस्वरूप प्राप्त भई दर्ता हुन नसकी विगत लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका ९५ वटा सवारीसाधनको दर्ता गराएको जानकारी दिएको छ । यस्तै, काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको मुआब्जा वितरणका लागि लाग्ने पुँजीगत लाभकर छुट दिने व्यवस्था मिलाएको बताएको छ।

नेपाली सेनाद्वारा निर्माणाधीन विभिन्न करिडोर सडकमा कार्यरत सुरक्षाकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने, रक्षा मन्त्रालयको कार्यसम्पादनमा चुस्तता ल्याउन कार्यसम्पादन कार्यविधि, २०८० कार्यान्वयनमा ल्याइएको जनाएको छ।

त्यस्तै, विभूषण ऐन, २०६४ र विभूषण नियमावली, २०६५ मा भएका कानुनी व्यवस्थाअनुसार विसं २०६४ सालदेखि २०८० चैत्र मसान्तसम्म प्रथम तथा द्वितीय श्रेणीका राष्ट्र सेवा पदक एवं शान्ति पदक पाउन बाँकी कुल १ लाख ६३ हजार ५९९ जना नेपाली सेनाका सैनिकहरूलाई उल्लेखित पदक प्रदान गर्न विभूषण समितिसमक्ष पेश गर्न गृह मन्त्रालयमा पठाइएको, विकास निर्माण आयोजनाअन्तर्गत विभिन्न २६ वटा जलविद्युत आयोजनाहरू निर्माणका क्रममा आवश्यक पर्ने विस्फोटक पदार्थहरूको खरिद/आयात/सापटीसम्बन्धी सहजीकरण गरिएको जनाएको छ।

नेपाली सेनाले खरिद गरेका विभिन्न २५ किसिमका सैन्य सामग्रीमा नियमानुसार कर छुटका लागि अर्थ मन्त्रालयरभन्सार विभागरसम्बन्धित भन्सार कार्यालयमा सिफारिस गरिएको, नेपाली सेनाले बाह्य मुलुकबाट खरिद गरी आयात गर्ने विभिन्न सैन्य सामग्रीमा लाग्ने भन्सार महसुल छुट दिन, घटाउन वा परिमार्जन गर्नुपर्ने वस्तुहरू, प्रक्रिया सरलीकरण, व्यापार सहजीकरण, सीमा व्यवस्थापनसँग सम्बन्धित विषयहरू आगामी आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयकमा समेटिदिन भन्सार विभागमा सुझाव पठाइएको बताएको छ।

त्यस्तै, देशका विभिन्न ४२ स्थानबाट सुत्केरी र घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको, कोभिड—१९ को समयमा भारत सरकारबाट सहयोगस्वरुप प्राप्त भएका ६ वटा एम्बुलेन्सहरू सञ्चालनमा ल्याइएको, रक्षा मन्त्रालयमा सुरक्षा र प्रतिरक्षा सम्बन्धी पुस्तक/दस्तावेजहरूको संकलन तथा वाचनालयको सुविधासहित पुस्तकालयको स्थापना गरी सञ्चालनमा ल्याइएको जनाएको छ।

सुर्खेतको वीरेन्द्रनगरमा जग्गाको भोगाधिकार सम्बन्धमा नेपाली सेनाले, सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका १३, करैखोलास्थित देवीस्थान सामुदायिक वन र सीतापुर सामुदायिक वनको करिब ३‍.९ हेक्टर (पाँच बिघा) जग्गा सैनिक फिल्ड अस्पताल निर्माण र सञ्चालन गर्ने प्रयोजनका लागि भोगाधिकार प्राप्त गर्ने सम्बन्धी कारबाही अगाडि बढाएको जनाएको छ ।

रक्षा मन्त्रालय वा अन्तर्गत निकायहरूको चालु आव ०८०/०८१ सम्मको कूल बेरुजु रकम ३ अर्ब ५२ करोड ७६ लाख ९१ हजार रहेकोमा फागुन मसान्तसम्म १ अर्ब ७९ करोड २० लाख २ हजार संपरीक्षण एवं लगत कट्टाका लागि महालेखा परीक्षकको कार्यालयमा पेश तथा तयारी अवस्थामा रहेको र महालेखा परीक्षकबाट कायम भएको बेरूजु रकममध्ये ३ करोड ७७ लाख ४८ हजार असुलउपर गरिएको जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्