Logo

कोरोनापछि प्रयोगविहिन बनेको होल्डिङ सेन्टरको उपयोगका लागि दिइएको सुझाव कार्यान्वयन गर्न रक्षामन्त्री हरिप्रसाद उप्रेतीको निर्देशन

काठमाडौं– कोरोना महामारीको क्रममा नेपालको सिमा नाकाहरुमा तयार पारिएको होल्डिङ सेन्टरमा भएका संरचनालाई बहु उपयोगको लागि प्रयोग गर्न सकिने सुझाव दिइएको छ । होल्डिङ सेन्टरहरूको सञ्चालन तथा व्यवस्थापनको तरिका तथा अन्तर तह समन्वय लगायतका विषयमा अध्ययनगरी प्रतिवेदन पेश गर्न गठन भएको समितिले उक्त होल्डिङ सेन्टरलाई विभिन्न कामका लागि प्रयोग गर्न सकिने सुझाव दिएको हो ।
समितिले होल्डिङ सेन्टरहरूमा भएका संरचनामा सामुदायिक अस्पताल सञ्‍चालन, सीप तथा तालिम सञ्चालन केन्द्र, कृषि उपज विक्री केन्द्र बनाउन सकिने सुझाव दिएको छ ।

यस्तै निजी/सहकारीहरूलाई भाडामा उपलब्ध गराउने, विपद् उद्धार तथा आकस्मिक व्यवस्थापन, लागू औषध दुर्व्यसनीको उपचार तथा पुनर्स्थापना, प्रादेशिक अस्पताल तथा सार्वजनिक स्वास्थ्य सेवा प्रयोजनका लागि होल्डिङ सेन्टर प्रयोगमा ल्याउन सकिने जनाएको छ । सुरक्षा निकायको प्रयोजन, साना, मझौला तथा स्टार्टअप व्यवसाय सञ्चालनमा सो संरचना उपयोग गर्न सकिने समितिले सुझाव दिएको छ ।

होल्डिङ सेन्टरका संरचना जुनसुकै प्रयोजनका लागि प्रयोग गरिएपनि जग्गा तथा संरचनाहरूको स्वामित्व संघीय सरकारमै राख्‍ने सुझाव समितिले दिएको छ । होल्डिङ सेन्टर रहेको जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रदेश र स्थानीय तहका प्रतिनिधिसमेत सदस्य रहेने गरि होल्डिङ सेन्टर व्यवस्थापन तथा समन्वय समिति गठन गर्न र समितिलाई कार्यशर्त तोक्न समेत समितिले सुझाव दिएको छ । गृह मन्त्रालयले कार्यविधि बनाएर उक्त समितिलाई होल्डिङ सेन्टरका संरचनाको नियमित रूपमा मर्मत र संभार गर्ने कार्यशर्त तोक्न सुझाव दिइएको छ ।

होल्डिङ सेन्टर सञ्चालनका लागि आवश्यक वित्तीय व्यवस्था गर्न एक कोष बनाई सो कोषमा संघ, सम्बन्धित प्रदेश र स्थानीय सरकारको अनुदान रकम, भाडा वा लिजबापत प्राप्त हुने रकम तथा अन्य सहयोग बापत प्राप्त हुने रकम जम्मा गर्ने सकिने व्यवस्था गर्न समितिले सुझाव दिएको छ । नेपालमा प्रकोपीय जोखिम रहेकाले होल्डिङ सेन्टरका २५ देखि ३० प्रतिशत संरचना प्रकोपजन्य उद्धारका लागि जगेडा राख्ने व्यवस्था मिलाउन समितिले सुझाएको छ ।
कोरोना महामारीको संक्रमणका समयमा २०७८ सालमा नेपालको सीमा नाकाहरूमा नेपाली सेना मार्फत होल्डिङ सेन्टरहरूको निर्माण भएको थियो । झापाको तोपगाछी नाका, मोरङ्गको याङ्गसिला नाका, वीरगञ्जको श्रीपुर नाका, कपिलवस्तुको कृष्णनगर नाका, बाँकेको नेपालगञ्ज नाका, कैलालीको तेघरी नाका र कञ्चनपुरमा भगतपुर नाकामा होल्डिङ सेन्टर स्थापना गरिएको थियो ।

कोरोना संक्रमण न्युन हुँदै गएपछि निर्माण भएका होल्डिङ सेन्टरको प्रभाव शुन्य हुँदै जाँदा सोको उचित प्रयोगको लागी सुझाव दिन प्रधानमन्त्री एवम् रक्षामन्त्रीस्तरको निर्णयले सुझाव समिति गठन भएको थियो ।

२०७९ असोज २८ गते रक्षा मन्त्रालयका योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरूसहित गठित समुहलाई होल्डिङ सेन्टरहरूको सञ्चालन÷व्यवस्थापनको तरिका ९मोडालिटी० तथा अन्तर तह समन्वय लगायतका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो ।

समितिले तयार पारेको प्रतिवेदन बुझ्दै गत बुधबार नै रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले प्रतिवेदनमा दिइएका सुझावहरू कार्यान्वयनका लागि सरोकारवाला पक्ष तथा सम्बन्धित सार्वजनिक निकायहरूसँग समन्वय गरी काम सुरु गर्न मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्