काठमाडौं– यमपञ्चक सुरु हुनुभन्दा पहिला मनाइने धनतेरसलाई विशेष गरी धन र समृद्धिको पर्वको रूपमा मान्ने गरिन्छ । “धन” र “तेरस” मिलेर बनेको धनतेरस शब्दले धन भनेर सम्पत्ती र तेरश भन्नाले त्रयोदशी तिथि बुझाउँछ । धनतेरशलाई कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाउने गरिन्छ ।
पौराणिक कथाअनुसार समुन्द्र मन्थनबाट लक्ष्मीदेवी कार्तिक कृष्ण त्रयोदशीकै दिन प्रकट भएकी थिइन् । यसै यस दिनमा लक्ष्मीको आगमनको प्रतीक मान्दै नयाँ वस्तु खरिद गरी घरमा लक्ष्मीलाई स्वागत गर्ने परम्परा चलेको हो । धनतेरशमा नयाँ वस्तु खरिद गरेमा घरमा धन, समृद्धि र शान्ति ल्याउँछ भन्ने विश्वास समेत रहेको छ ।
धनतेरसका दिन देवी लक्ष्मीको आफ्नो गच्छेअनुसार पूजा र श्रद्धा गरिन्छ । लक्ष्मी घरमा बास होस् भनेर यस दिन घरमा सरसफाइ गरी लक्ष्मीपूजाको तयारी गरिन्छ । धनतेरसमा विशेषगरी चाँदी, सुन, भाँडा र अन्य मूल्यवान वस्तुहरू साथै कौडी, कमल गट्टा, बेसारको पन्ना, कुचो, बिमिरो, धनियाँको दाना, पदचिन्ह, तोरण, स्वस्तिक, श्रीयन्त्र, लावा, रातो कपडा, पान आदि किन्न शुभ मानिन्छ । जसलाई लक्ष्मीको प्रतीक मानिन्छ । धनतेरशका दिन किनमेल गर्दा समृद्धि बढ्नेसमेत विश्वास गरिन्छ ।
धनतेरसको बेलुका मृत्युका देवता यमराजबाट आफ्नो परिवारलाई सुरक्षा मिलोस् भन्ने कामना गर्दै यमराजको लागि दीपदान गर्ने चलन छ । विशेषगरी घरको मुख्य ढोका र आँगनमा दियो बालेर सजाइन्छ ।
यसै दिन आयुर्वेदका देवता र स्वास्थ्यको संरक्षक भगवान धवन्तरीको जन्म भएको दिन पनि मानिन्छ । स्वास्थ्य र दीर्घायुको कामना गर्दै भगवान विष्णु स्वरुप धन्वन्तरीको पूजा पनि गरिन्छ ।
प्रतिक्रिया