काठमाडौं— हवाई कम्पनीहरूले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक समस्यामा परेका छन् । त्रिभुवन विमानस्थल कार्यालयले धावनमार्ग विस्तारका लागि विमानस्थल सञ्चालन समय दैनिक १० घण्टा घटेको छ । योसँगै विदेशी वायुसेवा कम्पनीले काठमाडौं उडानमा कटौती गरेपछि यसको प्रत्यक्ष असर हवाई भाडामा परेको हो ।
धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि त्रिभुवन विमानस्थल कात्तिक २३ देखि चैत १८ सम्म राति १० पछि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द रहने जनाएको छ । यसले अन्तर्राष्ट्रिय उडानमा व्यापक कटौती भएको हो । दिल्ली, दुबई, दोहा, साउदी, कुवेत, क्वालालम्पुरलगायतका गन्तव्यको हवाई भाडा अत्यधिक बढेको छ । त्यसको प्रत्यक्ष मारमा नेपाली श्रमिक परेका हुन् ।
खाडी तथा मलेसिया उड्न हवाई कम्पनीले सामान्यतः ३० देखि ३५ हजार रुपैयाँमा नियमित टिकट उपलब्ध गराउँदै आएका थिए । अहिले यो टिकटको मूल्य ७० देखि ९० हजार रुपैयाँ रहेको श्रमिकहरूको गुनासो छ ।
नेपालीको रोजगारीका प्रमुख गन्तव्यहरू सबैको हवाई भाडामा अत्यधिक बृद्धि भएको छ । दुबईको भाडा बढेर ८० हजार पुगेको छ । यसअघि कामदारले दुबईका लागि ३० देखि ३५ हजार मात्र तिरे पुग्थ्यो ।
साउदी अरबका रियाद र दमामका लागि एकतर्फी भाडा ४० देखि ४५ हजार रहेकोमा बढेर ८० हजारभन्दा माथि पुगेको छ । त्यस्तै नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियाको क्वालालम्पुरको एकतर्फी भाडा ३५ हजार मात्र रहेकोमा त्यो बढेर भाडा औसतमा ६५ हजार पुगेको छ । कुवेतको भाडा ४५ हजार रहेकोमा १ लाख नाघेको छ । त्यस्तै दोहाको भाडा ३५–४० हजार रहेकोमा त्यो बढेर ८० हजार बढी छ ।
भारतको दिल्ली पुग्न यसअघि १० देखि १५ हजार रुपैयाँसम्म भाडा लाग्ने गरेकोमा त्यसको मूल्य बढेर ४० हजार रुपैयाँसम्म पुगेको छ ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ गर्दा लाग्ने शुल्क दोब्बर बढेको छ । विभिन्न काम विशेषले विमानस्थल पुगेका सवारीधनीले पार्किङ शुल्क पहिलेको तुलनामा दोब्बर तिरिरहेका छन् ।
यसअघि पार्किङ गरेबापत दुईपांग्रे सवारीले प्रतिघण्टा २० रुपैयाँ तिर्ने गरेका थिए । अहिले उक्त मूल्य दुई गुणासम्म बढेको छ। अहिले विमानस्थलमा मोटरसाइकल, स्कुटरलगायत दुईपांग्रे सवारीले प्रतिघण्टा ४० रुपैयाँ तिरिरहेका छन् ।
यस्तै, कार, जिपलगायत चारपांग्रे सवारीको पार्किङ शुल्क पनि बढेको छ । पहिले चार पाङ्ग्रे सवारीसाधनलाई प्रतिघण्टा ४० रुपैयाँ तिर्नुपर्ने भएपनि यसको शुल्क बढेर ८० रुपैयाँ पुगेको छ ।
यस्तै, त्रिभुवन विमानस्थलको पार्किङमा माइक्रोबस, ट्याम्पोलगायत सवारीको १०० रुपैयाँ र गह्रौँ सवारीको १५० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया