Logo

तीन घण्टापछि फर्किएको थियो मुटुको धड्कन, यस्तो छ अन्नपूर्णको हिम पहिरोले पुरिएर तीन दिन खोँचमा बिताएका अनुरागको अनुभव

काठमाडौं– अन्नपूर्ण हिमालको हिमपहिरोमा परी बेपत्ता भएको तीन दिनपछि उद्धार गरिएर पनि बाँच्न सफल भएका भारतीय पर्वतारोही अनुराग मालुले आफ्नो अनुभव साझा गरेका छन् । भारतका चर्चित युट्युबर रणवीर अल्लाहबादियासँग उनले कहालीलाग्दो क्षण साझा गरेका हुन् ।

संसारका अग्ला १४ वटै हिमाल चढ्ने लक्ष्यसहित वैशाखमा पर्वतारोही अनुराग मालु अन्नपूर्ण हिमालको आरोहण गरिरहेका थिए । तर हिमालको मौसम अकास्मात खराब भएपछि अनुकुल मौसमको प्रतिक्षा गर्न उनी बेसक्याम्पमा फर्किरहेका थिए । सोही क्रममा हिम पहिरोमा परेर उनी क्याम्प–३ र क्याम्प–२ बीचमा रहेको खोँचबाट ३ सयमिटर तल खसेका थिए । उनी खोँचमा खसेको तीन दिनसम्म पनि उद्धार हुन सकेको थिएन ।

पर्वतारोही मालुले हिम पहिरोसँगै खसेर खोँचमा तीन दिन कसरी गुज्रीयो भन्नेकुरा आफ्नो स्मृतीमा नरहेको बताएका छन् । तर तीन सय मिटर दरारभित्र च्यापिएको बेला पनि उनी होशमा थिए ।अनुरागले खोँचभित्र रहँदा गोप्रोबाट भिडियो खिचेका छन् । उनले भनेका छन्, ‘दरारभित्र च्यापिएपछि पनि म होशमा रहेछु । तर त्यस क्षणको स्मृति मेरो मस्तिष्कमा छैन । त्यो बेला मलाई के भयो? मैले कस्तो महसुस गरें भन्ने कुरा मलाई याद छैन ।’

ती तीनदिनमा ‘मृत्युसँग पौंठेजोरी खोलिरहँदा पनि जीवनप्रति हार भने नखाएको उनले बताएका छन् । उनले भने, ‘मेरो उद्धार हुनेछ भन्ने कुरा म आशावादी रहेछु । सायद त्यस्तो स्थितिमा मैले हरेस खाएको भए आज म यो अवस्थामा फर्कने थिइनँ । मृत्युको मुखमा समेत मैले हरेस खाइनँ र बाँच्छु भनी आशावादी रहें ।’

आशा, आत्मबल र कामना । यी तीन कुराले मान्छेको जीवनमा ‘चमत्कार’ गर्न सक्ने अनुरागको विश्वास छ । उनले भनेका छन्, ‘दरारभित्र च्यापिएको बेला न मैले आत्मबल गुमाएँ, अस्पतालमा निर्जीव जस्तै मेरो शरीर लडिरहँदा न मेरो भाइले मप्रतिको आशा त्यागे । अनि मेरो परिवार, हितैषी र शुभेच्छुकहरुले न त मेरो जीवनरक्षाका लागि कामना गर्न छाडे ।’

पर्वतारोही अनुराग भारत राजस्थान किसनगढका हुन् । आठ हजार मिटर उचाइका १४ हिमाल चढ्ने अभियानसहित उनी अन्नपूर्ण हिमाल चढ्न आएका थिए । प्रतिकूल मौसम र समयका कारण उनले तोकिएको दिन टाकुरामा नपुगी क्याम्प टुतर्फ ओर्लदै थिए । क्याम्प थ्रीबाट टुको बीचमा एउटा दरार पार गर्नुपर्ने हुन्छ । सोही दरार पार गर्ने क्रममा उनले गलत डोरी समात्न पुगे र बेपत्तासँग उछिटिएर ३ सय मिटर गहिरो दरारमा च्यापिन पुगे ।

खोँचमा खसेको तीन दिनपछि उनको उद्धार भएको थियो । करिब माइनस ३५ डिग्री सेल्सियस तापक्रमको त्यो खोँचभित्र निर्जीव जस्तै अवस्थामा अनुरागको शरीर भेटिएको थियो ।

उद्धारपछि भएको चिकित्सकीय परीक्षणमा उनका शरीरको मुख्य पाँच अंग अर्थात् मस्तिष्क, मुटु, कलेजो, मिर्गौला र फोक्सो निष्क्रिय भइसकेको थियो । शरीर विज्ञानको हिसाबले यस्तो अवस्थामा मानिसलाई ‘मृत’ मानिन्छ ।

तैपनि अस्पतालको शैय्यामा उनको परिवार र मालुको आत्मविश्वासले काम गर्यो । चिकित्सकहरुले लगातार तीन घण्टासम्म सीपीआर गरेपछि उनको मुटुमा धड्कन भेटियो । त्यसपछि उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा २० दिनको उपचार राखियो । त्यसपछि उनलाई दिल्लीको एम्स अस्पतालमा रेफर गरियो । उनी उक्त अस्पतालमा जाँदा यनका मिर्गौला, मुटु, फोक्सो र मस्तिष्कले राम्ररी काम गरिरहेको थिएन । तर उनको दृढ आत्मविश्वासले नै १७४ दिनको उपचारपछि उनी तङ्ग्रीए । उनै पर्वतारोही मालु अहिले उनी आफ्नो हिमाल यात्रा र मृत्युको मुखबाट फर्किएको अनुभव साझा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्