काठमाडौँ – काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले परम्परागत र मौलिक खानाका उत्पादकलाई व्यवसायिकता, गुणस्तर र स्वच्छता सम्बन्धी तालिम प्रदान गर्न कृषि तथा पशुपन्छी विभागलाई निर्देशन दिनुभएको छ। उपप्रमुख डंगोलको निर्देशनअनुसार, खाद्य स्वच्छता र गुणस्तर सुधारका लागि विभागले तालिमको प्रक्रिया र पाठ्यक्रमको तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताएका छन्।
आजको छलफलमा, महानगरपालिकाका खाद्य स्वच्छता र गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, विभागका प्रमुख नुरनिधि न्यौपाने, र कार्यक्रमका सल्लाहकार सन्तोष गिरीले तालिमका प्रमुख पहलुहरूबारे छलफल गरेका छन्। उपप्रमुख डंगोलले भने, “जात्रा, पर्व, संस्कार र मौसमका आधारमा विभिन्न परम्परागत खानाका प्रकार फरक हुन्छन्। यसमा सिप भएका महिलालाई व्यवसायिक ज्ञान दिने हो भने, उनीहरूको खाना बनाउने सिप आयआर्जनको स्रोत बन्न सक्छ।”
उहाँले, “समयवजी, यमरी, ग्वारमरी, लखामरी, चटामरी, जेरीस्वारीजस्ता मौलिक र पौष्टिक परम्परागत खाद्य पदार्थको व्यवसायिक प्रवर्धन गर्नुपर्ने आवश्यकता छ।” यसका लागि, महिला समूहहरू, बुहारी र छोरीहरूको समूहलाई व्यवसायिक तालिम दिनुपर्छ ताकि उनीहरूले आफ्ना परम्परागत खाना व्यवसायिक रूपमा उत्पादन गर्न सकून्।
विज्ञ सल्लाहकार लामा र सल्लाहकार गिरीले स्वचालित प्रणालीबाट गुणस्तरको निगरानी र व्यवसायिक प्रवर्धनमा सकारात्मक नतिजा प्राप्त गर्न सकिने धारणा व्यक्त गरेका छन्।
विभाग प्रमुख न्यौपानेका अनुसार, खाद्य पदार्थको गुणस्तर मापन गर्नका लागि प्रयोगशाला निर्माण कार्य पूरा भइसकेको छ र यसले खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
यसै गरी, एग्रो पुलिङ् कार्यक्रमको कार्यान्वयन, बजार अनुगमनको प्रक्रिया र समन्वयात्मक कार्यक्रमको बारेमा पनि छलफल भएको थियो।
महानगरपालिकाले स्वच्छ खाद्य सेवाका लागि व्यवसायीहरुलाई क्षमता विकास तालिम प्रदान गर्दै आएको छ। हालै, चालु आर्थिक वर्षको सुरुआतमा साना र मध्यम भोजनालयका ३ सय संचालकलाई तालिम दिइएको थियो। त्यसपछि, दशैँ लक्षित मासुजन्य खाद्य उत्पादक र विक्रेताहरूलाई दोस्रो संस्करणको तालिम प्रदान गरियो। तीस्रो संस्करणमा मिठाईजन्य खाद्यबस्तुका विक्रेतालाई तालिम दिइयो, जसमा १६२ जना व्यवसायी सहभागी भए। यसरी, अहिलेसम्म १,१४९ व्यवसायीलाई तालिम दिइएको छ।
यो तालिम ‘स्वच्छ भान्छा स्वर्णिम योजना’ अन्तर्गतको फूड सेफ्टी बूट क्याम्प कार्यक्रमको हिस्सा हो, जसको उद्देश्य खाद्य स्वच्छता प्रवर्धन र प्रमाणीकरण हो। “स्वच्छ खाना : उत्कृष्ट व्यापार” सोचका साथ थालिएको यस तालिमको माध्यमबाट खाद्य सेवा क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने लक्ष्य राखिएको छ।
प्रतिक्रिया