बढ्दै गएको गर्मीमा कस्तो खानेकुरा उपयुक्त ?


 

काठमाडौँ – नेपालमा मनसुन भित्रिसकेको छ । कोशी प्रदेशमा पानी पर्न थालिसकेकाे छ । उपत्यकामा पनि केही दिनभित्र मनसुन भित्रने मौसमविद्हरु बताउँछन् । मनसुन भित्रिएपनि उपत्यका क्षेत्रमा पानी पर्न थालेको छैन । पानी नपर्दा गर्मीको मात्रा दिनदिनै बढ्दै गइरहेको ।

अत्यधिक गर्मी र वर्षाकै समयमा हामीलाई अरु समयको भन्दा बढी रोगले सताउँछ। चर्को गर्मीमा शरिरबाट पसिना आउने, डिहाइड्रेसन, अल्छीपन, आलश्यता, भोक नलाग्ने, अपच हुने जस्ता विभिन्न समस्या देखापर्छन् । अन्य मौसमको तुलनामा सरुवा रोगको डर पनि वर्खा याममा नै हुन्छ । यो समयमा धेरै जसो मानिसलाई रुघाखोकी, झाडापखाला, टाइफाइड, फ्लुजस्ता रोगले सताउने पनि गर्छ।

त्यसैले यो मौसममा हामीले खानपानमा विशेष ध्यान दिनुपर्नेहुन्छ । वर्षा याममा पानीका मुहानमा भल पस्ने र मुहान फोहोर पार्नसक्ने सम्भावना उच्च रहने हुनाले हामीले सकभर उमालेर चिसो बनाएर खानु उपयुक्त हुन्छ।

यो मौसममा सकेसम्म ताजा खानेकुरा खानुपर्छ, बासी खानेकुराबाट टाढै रहनुपर्छ। रोगप्रतिरोधात्मक क्षमता बढाउन उच्च प्रोटिन, भिटामिन, मिनरल्सयुक्त खानेकुरामा जोड दिनुपर्छ। बासी खानेकुराबाट आँउ, हैजा, झाडापखाला लगायतका रोगको जोखिम उच्च रहन्छ।

यो मौसममा ताजा र सफा गरेर राम्ररी पकाएका र सजिलै पच्ने खानेकुरा खानु राम्रो हुन्छ । मांशाहारीभन्दा शाकाहारी भोजन उपयुक्त हुन्छ । शाकाहारी भोजनले शरिर को तापक्रम मिलाएर राख्न मद्दत गर्छ।

गर्मि मौसममा कस्तो खाने कुरा खाने ?

खानाले हामीलाई शक्ति दिन्छ । तर, गर्मीमा बाहिरी तापक्रम नै बढी हुन्छ त्यसैले शरीरको बाहिरी भाग र मांसपेशी तातो बनाउन शक्तिको खर्च हुँदैन। त्यसकारण शक्तिको आवश्यकता नै कम हुन्छ र कम रुची हुन्छ। तर खाना खान मन लागेन भन्दैमा केही नखानुभन्दा शरीरलाई शितलता दिने र शक्ति दिने खाना खानु उपयुक्त हुन्छ । खानाका साथै ताजा फलफूल, जुस, दही वा महीको लस्सी, नरिवल पानी, कागतीको जुस आदि खानु राम्रो मानिन्छ ।

गर्मी महिनामा पिरो वा अमिलो खानेकुरा सबैलाई मन पर्छ। पिरो वा अमिलो खानेकुरा जिब्रोका लागि स्वादिष्ट वा ताजा महसुस गर्न खाने गरिन्छ। यस्ता खानेकुराले गर्मीको समयमा बाहिरी तापक्रमअनुसार शरीरको भित्री तापक्रम पनि बढाइ सन्तुलन गराउने काम गर्दछ।

गर्मी मौसममा २ लिटरदेखि ३ लिटर पानी पिउनुपर्छ। यदि बढी तापक्रम हुने र पसिना बढी आउने ठाँउमा ५ लिटरसम्म पानी पिउनु पर्दछ।

गर्मी मौसममा शितलता प्रदान गर्न चिसो पेय पदार्थ, आइसक्रिम खाने गर्दछौं। तर, यस्ता खानेकुराहरूले शरीरलाई क्षणिक शितलता प्रदान गर्दछन्। यस्तो खानेकुराको अधिक प्रयोगले शरीरको भित्री तापक्रम र बाहिरी तापक्रममा असन्तुलन गराइ शरीरलाई बढी गर्मी महसुस गराउँछ। साथै शरीरमा पानीको मात्रा पनि कमी गराई सुख्खा गराउँछ। यसले गर्दा मानिसमा विभिन्न स्वास्थ्य समस्या आउन सक्छन्। त्यसकारण खाना खाँदा क्षणिक आनन्द दिनेभन्दा कसरी स्वस्थ रहन सकिन्छ भन्ने कुरा ध्यान दिन जरुरी हुन्छ।