काठमाडौं– बंगलादेशमा चर्को आन्दोलका बिच लामो समयदेखि सत्ताको बागडोर सम्हालिरहेकी प्रधानमन्त्री शेख हसिना राजिनामा दिएर देश छाडिन् ।
कोटा प्रणालीबाट सुरु भएको विद्यार्थी आन्दोलनले चर्को रुप लिँदै हसिनाको राजिनामा मागेको थियो ।
आइतबार विरोध प्रदर्शनले उग्र रुप लिएपछि प्रदर्शनकारी र प्रहरीबीचको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको थियो । सोपछि सोमबार हसिना राजिनामा दिएर बहिनी र परिवारसहित भारत पुगेकी हुन् ।
यद्यपी भारतसँग राजनैतिक शरण नलिएकाले उनी बेलायत जान सक्ने चर्चा भइरहेको छ । यता बंगलादेशमा भने शेख हसिनाले राजिनामा दिएपनि सेनाले सत्ता बागडोर लिएको छ । प्रधान सेनापती वाकर उज–जमानले सबै दल समावेश गरेर अन्तरिम सरकार बनाउने र जनतालाई हिंसाको अन्त्य गर्नसमेत आह्वान गरेका छन् ।
करिब २० वर्ष बंगलादेशमा सत्ता सम्हालेकी एक शक्तिशाली राजनीतिज्ञ हुन्, शेख हसिना । उनी बंगलादेशका संस्थापक राष्ट्रपति बङ्गबन्धु शेख मुजिबुर रहमानकी छोरी हुन् । बङ्बन्धुले बंगलादेशको राष्ट्रपतिको दुई कार्यकार र प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए । सन् १९७५ मा बंगलादेशको सेनाले सैन्य कु गर्दा शेख हसिनाका बुवा शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको हत्या भएको थियो। त्यतिबेला हसिना र उनकी बहिनी विदेश यात्रामा थिए। उनीहरू निर्वासनमा बस्न भारत गए।
सन् १९८१ मा उनीहरू बंगलादेश फर्किए र अन्य राजनीतिक पार्टीसँग मिलेर प्रजातन्त्रका लागि सैन्य सरकारविरुद्ध आन्दोलन सुरु गरे । सोहि बेलामा हसिनाले राम्रो छवि बनाएकी थिइन् । त्यसपछि उनी सन् १९९६ मा पहिलोपटक पाँच वर्षको लागि बंगलादेशको प्रधानमन्त्री बनिन् ।
सन् २००९ यता उनले निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी थिइन्। उनी बाङ्ग्लादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्। उनी झन्डै २० वर्ष प्रधानमन्त्री बनिन्। उनी पछिल्लो समय गत जनावरीमा प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन् । तर यो पटक भने जनताले उनलाई प्रधानमन्त्री पदबाट हटाउन आन्दोलन गरेपछि केही लागेन । पछिल्लो समय प्रधानमन्त्रीमा निर्वाचित भएको एक वर्षपनि नपुग्दै उनी सत्ताच्युत भएकी छिन् ।
हसिनाले देश छाडेपछि प्रदर्शनकारी सोमबार प्रधानमन्त्री निवासमा छिरेका थिए । उनीहरुले हर्षोल्लास मनाउँदै प्रधानमन्त्री निवासका सामान लिएर हिँडेको सामाजिक सञ्जालमा भाइरल समेत भएको छ ।
सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण भएको थियो । उक्त आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको थियो भने हसिना घाइते भएकी थिइन् । गत जनावरीको चुनावमा पनि हसिनाले आफुलाई प्रजातान्त्रिक प्रक्रियाबाट फाल्न कसैले नसक्ने बताएकी थिइन् ।
उनले १९ पटक हत्याको प्रयास हुँदा समेत बाँचेको स्मरण गर्दै हसिनाले भनेकी थिइन्, ‘मलाई सखाप पार्नु नै मेरो समाप्तिको एकमात्र विकल्प हो र मेरा जनताका लागि म मर्न पनि तयार छु।’
तर जनताले नै उनलाई प्रधानमन्त्रीको रुपमा राख्न नचाहेपछि र ज्यानको खतरा भएपछि उनी सत्ताबाट राजिनामा दिएर भारत पुगेकी छिन् ।
प्रतिक्रिया