काठमाडौं– हेर्ने कथाले पाँच दिनअघि सार्वजनिक गरेको ‘हराएका वर्षहरु’ यतिबेला निकै नै चर्चा छ । ३५ वर्षअघि हराएका प्रकाश र उनले आफ्नो घर खोज्दै गएको दृश्य हेर्ने कथाको ‘हराएका कथाहरु’ ले समेटेको छ ।
गोरखाको चुमिभ्यालीमा चौरी हेर्दै आफ्नो जीवनकालका ३५ वर्ष बिताएका प्रकाश परिवार खोज्दै झापा हुँदै भोजपुर पुगेको, परिवारसँगको मार्मिक मिलन भिडियोमा देखाइएको छ । पाँच दिनमा नै ७० लाखभन्दा बढी पटक युट्युबमा हराएका वर्ष हरु हेरिएको छ । सोसँगै ३५ वर्ष काममा लगाएर पैसा नदिएको भन्दै अधिकांश मानिसहरुले प्रकाशप्रति साहनुभुति देखाउँदै साहुप्रति नकारात्मक टिप्पणी गरिरहेका छन् । यसै क्रममा गोरखाकाचुम भ्यालीका प्रकाशका साहु टासी का छोरा छेतेन दोण्डुपले साहुको तर्फबाट भनाई राखेका छन् ।
काठमाडौंमा बसेर कक्षा १२ सम्म अध्ययन गरेर हाल शिक्षण गरिरहेका छेतेनले शुक्रबार हेर्ने कथाका टोलीलाई भेटेर आफ्नो तर्फबाट कथा सुनाएका छन् । २३ वर्षका छेतेनले सम्पूर्ण कुरा थाहा नभइकन गाली गरेको भन्दै आफ्नो कहानी सुनाएको हेर्ने कथाले जनाएको छ ।
उनले भनेका छन्, ‘हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सँधै भेटिँदैन । बाउ आमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन ।’
उनले काठमाडौंंमा भौतारिरहेका प्रकाशलाइै काकाले गाउँमा लिएर गएको बताएका छन् । उनले भने, ‘हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो ।’
आफ्नो बुबाआमाको बिहे हुनुअघि देखिनै प्रकाश उनीहरुको घरमा बसेको उनले बताएका छन् । टासी र प्रकाशको उमेर अन्तर धेरै नभएकाले प्रकाशले टासीलाई ज्योज्यो अर्थात् दाई भनेर सम्बोधन गर्छन् ।
उनले सामाजिक सञ्जालमा भनेको जस्तो प्रकाशमाथी अन्याय नभएको र घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी बसेको बताएका छन् । गाउँमा घरमा दुई जना पुरुष भएका काम बाँडेर गर्ने चलन रहेको बताए । ‘घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौंरी हेर्ने चलन छ । प्रकाशले चौंरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो ।’
छेतेनले आफुलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश रहेको बताएका छन् । हेर्ने कथासँग उनले भनेका छन्। ‘मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।’
परिवार जसरी बसेको भएर तलबको कुरा कहिल्यै नभएको उनले बताएका छन् । उनले भने, ‘प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौं । तर बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने ।’
गाउँमा हरेक वर्ष हुने घोडे जात्रामा घरमो प्रतिनिधि भएर एक जना जानुपर्ने चलन रहेको र घरबाट सँधै प्रकाश जानेगरेको उनले सुनाए । रक्सि खाएर गाउँभरिको चौँरीको जिम्मा लिनुपर्ने उनले बताए । उनले हेर्ने कथासँग भने, ‘रक्सी खाएर जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरुले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुबाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरु पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।’
गाउँमा कीरा टिप्न जाँदा बाहिरी मानिसले टिप्न नपाउने भएपनि गाउँलेहरुले प्रकाशलाई कुनै रोकतोक नगर्ने उनले सुनाए । कीरा बेचेर कमाएको पैसा प्रकाशले सोहि घरमा नै खर्च गर्ने गरेको उनले सुनाए । उनले भने, ‘अस्ति बाउआमा भेटे पछि पो उसलाई मेरो पनि बाउ आमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको । उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।’
प्रकाश जनावरलाई औधि मन पराउने भएकाले पनि गोठालोको काम मन पराउने उनले सुनाए । घरमा पाल्नको लागि कुकुर, बिरालोको बच्चा लिएर आउने र चौँरीको बाछाहरुलाई पनि लुकी लुकी दुध खान दिने स्वभाव रहेको उनले सम्झिए ।’
बुबा र काकाको साझा श्रीमतीबाट जन्मिएका पाल्जोर दाईले प्रकाशलाई धेरै माया गर्ने गरेको उनले बताए । उनले भने, पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए । तर नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर आफ्नो नागरिकता नभए पछि बच्चाहरुको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।’
प्रकाशले आफ्नो गाउँ फर्किँदा बुबा खुसी भएको तर वर्षौँदेखि दाजुभाइ जसरी बसेको मान्छे टाढा जाँदा दुख लागेको उनले बताए । उनले भने, ‘केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ । अनि फ्रान्समा बस्ने दाइले २ लाख । ’
छेतेनले प्रकाशको नागरिकता बनोस् र चुममा नै बसुन् भन्ने चाहना रहेको बताए । उनले भने, ‘उसले हिमाली भेग बुझेको छ । भोजपुर बुझेको छैन । मेरो बिचारमा त उ बाउ आमाको मुख हेरेरै भोजपुर जान लागेको हो । उ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो भागको अंश दिन्छु भनेको छ । केरुङ बस्ने काकाले अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि बिहे खर्च पनि दिन्छौं भनेका छौं ।’
आफ्नो लागि पनि प्रकाश बुबा सरह रहेको र भविष्यमा आफुले सकेको सहयोग गर्ने उनले बताएका छन् ।
प्रतिक्रिया