सञ्चारकर्म छाडेर दुईपटक गृहमन्त्री बनिसकेका रवि लामिछाने के गर्दै छन् पछिल्लो समय?


काठमाडौं– नबोलिएकाहरुको आवाज बन्नु पत्रकारिताको मुल मन्त्र । यहि मन्त्र पछ्याउँदै ‘सिधा कुरा जनतासँग ’टेलिभिजन कार्यक्रम चलाएर नेपालीको मनमा बस्न सफल भए रवि लामिछाने । मुख्य गरि वैदेशिक रोजगारीमा गएर विभिन्न समस्यामा परेका नेपालीहरुको मुद्दा उनले कार्यक्रममा उठाउँथे । जसकारण श्रमजीवि र भुईमान्छेका बीचमा रविको छवि ‘मसिया’को जस्तो बन्न थाल्यो ।

हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने सञ्चार कर्मबाट राजनीति तर्फको बाटो रोज्दै गर्दा उनले राजनीतिमा यति ठुलो फड्को मार्लान् भन्ने कसैले सोचेका थिएनन् ।

देशमा संघीयता लागु भइसकेपछि दोस्रो संघ र प्रदेश सरकारको निर्वाचनको करिब पाँच महिना अघि २०७९ असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि राजनीतिमा रविले ठुलो फड्को मारे । टेलिभिजनकर्मीका रुपमा छवि स्थापित गरेका रविले राजनीतिमा लाग्दा पनि यो छविका कारण धेरै फाइदा पाए । उनको पार्टीबाट चुनावमा उठ्नेहरुलाई पनि ‘रविको पार्टीको मान्छे’ भन्ने भावनाकेन्द्रित भएर भोट हाल्नेहरु धेरै थिए । रवि चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बने र आफ्ना प्रतिस्पर्धिहरुलाई भारी मतान्तरले पराजित गरे ।

हाल उनको दल संघ सरकारमा २७५ सांसदमध्ये २१ सिट आफ्नो नाममा गर्दै देशको चौँथो ठूलो दल बनेको छ । रविको देशैभरि समर्थक र फ्यान फलोइिङ रहेजस्तै उनको आलोचक पनि छन् ।

पहिलोपटक गृहमन्त्री २०७९ पुष ११ मा प्रचण्ड सरकारमा उनी पार्टी खोलेको ६ महिनामा गृहमन्त्री बने । तर उनी गृहमन्त्री पदमा धेरै लामो समयसम्म रहन सकेनन् । सर्वोच्च अदालतले अमेरिकाको नागरिकता लिने क्रममा नेपाली नागरिकता निष्किृय भएको र अमेरिकाको नागरिकता त्यागेपछि पनि नेपाली नागरिकता पुन नलिएको भन्दै प्रतिनिधि सभा सदस्यका लागि योग्य नभएको फैसला गर्यो ।

रवि गृहमन्त्री भएको करिब एक महिना अर्थात् माघ १३, २०७९ मा सर्वोच्चले उनको सांसद पद खारेजी गर्यो । सोपछि रास्वपाका सभापति रहेका लामिछानेले तत्कालै नेपाली नागरिकता लिए । र उप निर्वाचनका लागि आफु पहिला निर्वाचित चितवन २ तिरनै ध्यान केन्द्रित बनाए ।

सोपछि २०८० वैशाख १० गते चितवन २ मा उपनिर्वाचन भयो । जहाँ पुन रविले कुल मतको ७० प्रतिशत मतसहित भारी मतान्तरले जीत हात पारे ।
त्यसपछि रवि पुन २०८० फागुन २३ मा दोस्रो पटक प्रचण्ड सरकारमा नै गृहमन्त्री बने । उनको यो कार्यकाल ४ महिनामात्र टिक्यो । नेकपा एमाले र कांग्रेसको गठबन्धनसँगै अल्पमतमा परेका प्रचण्डले २८ असारमा प्रतिनिधि सभामा मागेको विश्वासको मतमा बहुमत नपाएपछि प्रचण्डले प्रधानमन्त्री पदबाट हात धुनुपर्यो । सरकार ढलेसँगै रवि लामिछानेको गृहमन्त्रीको पदपनि समाप्त भयो । सोपछि सरकारमा नजाने निर्णय गरेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षको रुपमा उभिएको छ ।

सरकारमा रहँदा चारवटा मन्त्रालय सम्हालेको रास्वपा स्थापना भएको दुई वर्ष बित्ता पार्टीको संगठन विस्तारमा अघि बढेको छ ।

रवि लामिछानेले राजनीतिमा आएयता के कस्तो काम गरे त?

पहिलोपटक गृहमन्त्री हुँदा सांसद पद खारेज हुनुपूर्व रविले सरकारले आफुलाई दिएको सुरक्षाकर्मीहरु सरकारलाई नै फिर्ता गरिदिएका थिए । अवैध क्रसरहरु बन्द गरे भने मापदण्ड नपुगेकोलाई समयसिमा तोकिदिए । आम सर्वसाधारण नागरिकहरुका लागि पनि सिंहदरबार खुल्ला गरिने डकुमेन्ट तयार पारे । आफ्नो समयमा प्रहरी पोशाकमै रहेको प्रहरीहरुले नेताहरुलाई भेट्न जाने र चाकडी गर्न नधाउन भनेर नेता भेट्न प्रहरीलाई बन्देज गरे । यदि प्रहरी धाएमा प्रहरीको फुली खोस्ने तथा पर्फरमेन्सको आधारमा प्रहरीको सरुवा बढुवा हुने व्यवस्था मिलाए । सिंहदरबारमा अपाङ्गता भएका मानिसहरुलाई सटल बसको व्यवस्था गरे । नेपाल प्रहरीका जवानहरुलाई १६ वर्षमा ऐच्छिक अवकासको नीति बनाए । बोर्डर सुरक्षाको लागि विदेशका विभिन्न रेस्क्यु हेलिकप्टर र वार रुम बनाउनको लागि सम्झौता पत्र तयार गरे ।

रवि लामिछाने पहिलो पटक गृहमन्त्री हुँदा निर्मला पन्त हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की निर्मला पन्त ०७५ साउन ११ मा घर नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन् । गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की निर्मला ११ साउनको बिहान मृत अवस्थामा भेटिएकी थिइन् ।

उनको हत्याबारे पत्ता लगाउन १२५ जनाभन्दा धेरैको डिएनए परिक्षण समेत  गरिएको थियो । तर, अहिलेसम्म निर्मताको हत्याका वास्तविक दोषी पक्राउ परेका छैनन् ।

यस्तै गृहमन्त्रीको दोस्रो कार्यकालमा उनले नागरिकका समस्या स्थानीय प्रशासनबाट हल नभएमा सीधै गृहमन्त्रीलाई भन्न मिल्ने गरी ‘गृहमन्त्रीलाई भन्नुस्’ भन्ने कार्यक्रम सुरु गरे ।

साथै ‘कल फ्राइडे’ कार्यक्रम सुरु गरेर हरेक शुक्रबार मन्त्रालयमा निवेदन दिने तथा उजुरी गर्ने नागरिकलाई फोन गरेर समस्या समाधानका लागि भइरहेको प्रगतिबारे जानकारी गराउने व्यवस्था मिलाए ।

विरोध प्रदर्शनमा सरकारी सम्पत्तिको क्षति गराउनेलाई तिराउने कार्यविधि निर्माण, कैद मिनाहा पीडितमैत्री कानून संशोधन, राष्ट्रिय परिचयपत्रको उपयोगिता बढाउने गरी नीतिगत निर्णय लिए ।

पर्यटकीय बजार २४सै घण्टा सञ्चालन, हिरासत छल्न अस्पताल बस्ने विकृतिमा रोक, सुरक्षा निकायका पेट्रोलपम्प २४सै घण्टा सञ्चालन, चार हजार सात सय ९२ फरार अभियुक्त पक्राउ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनमा डेस्क थपेर सेवा प्रवाहमा सुधार जस्ता काम गरे । प्रमुख जिल्ला अधिकारी सरुवा हुँदा प्रतिवेदन बनाएर नयाँ आउने सिडिओलाई बुझाउनुपर्ने प्रणाली कार्यान्वयन गरे । ६ सय ३३ बिघा तथा ७४ रोपनी सरकारी जग्गा फिर्ता ल्याए। उनले भुटानी सरणार्थी प्रकरणका आरोपी बेचेन झालाई पक्राउ गरे ।

अन्य कामहरुमा आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुलाई लक्षित गर्दै चितवन २ मा लामिछानेले निःशुल्क ‘ब्लु बस सेवा सञ्चालनमा ल्याए । उनले नेपालमा फर्कन चाहने सय जना भन्दा बढीलाई बिना पैसा स्वदेश फर्काएर रोजगारीको जागिरको व्यवस्था गरे ।

पछिल्लो समय सत्ताबाहिर रहेका रवि र राष्ट्रिय स्वतन्त्र पार्टी आफैलाई आन्तरिक रुपमा बलियो बनाउनतर्फ लागेका छन् । रास्वपाले सातै प्रदेशमा पार्टीको बन्द कार्यशाला ‘क्लोज क्याम्प’ सम्पन्न गरेको छ । पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव दिन उक्त बन्द क्याम्प गरेको हो ।
‘क्लोज क्याम्प’मा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्य सहभागी थिए ।

क्लोज क्याम्प सकिएसँगै अब पार्टीले राजनीति संयम र धैर्य सहित परिस्कृत बैचारिक परिपक्वताको, चुस्त संगठनको, मर्यादित संसदीय अभ्यासको अनि नरम र गरमभन्दा माथी उठेर सुसंस्कृत राजनीतिकअभ्यास गर्ने रविले बताएका छन् ।

उनका समर्थकसँगै रवि आलोचनाको पनि सिकार बनेका छन् । ग्यालेक्सी टिभीका पूर्वसञ्चालकसमेत रहेका रविले टेलिभिजन सञ्चालनका क्रममा पोखराको सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीको रकम अपचलन गरेको आरोप उनले खेप्दै आएका छन् । सहकारी रकम अपचलको विषयमा अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएर रविलगायत अन्य व्यक्तिहरुसँग बयान समेत लिइरहेको छ ।

यस्तै, पछिल्लो समयमा रविसहित रास्वपाका सांसदहरुले सार्वजनिक बसको अवस्था बुझ्न भन्दै यात्रा गरेको विषयलाई लिएर स्टन्ट बाजीको संज्ञासमेत दिइएको छ । कहिले दोहोरो नागरिकता, पासपोर्ट, सहकारी रकम अपचलन जस्ता विवादमा रवि मुछिँदै आएका छन् । उनलाई पछिल्लो नेपाली राजनीतिको निराशाजनक अवस्थाबाट उन्मुक्ति पाउने आशाको किरण देख्ने उनका समर्थकपनि उत्तिकै छन् ।