बिहे हुनुभन्दा एक महिना पहिलेदेखी नै बेहुलीले रुनुपर्ने, आँसु नआए आमाले कुटेर भएपनि रुवाउने चलन


काठमाडौं– विवाह जिवनमा एक पटक गरिने समारोहको रुपमा हाम्रो समाजमा लिने चलन छ । त्यसैले हामी विवाहलाई विशेष उत्सवका रुपमा मनाउँछौँ । विवाहमा दुलाहा र दुलहीको नयाँ जीवनको सुरुवातका लागि खुसी मनाइन्छ भने आफ्नो जन्मघर छाड्ने भएकाले दुलही र उनको परिवारलाई भावुक पनि बनाउँछ । त्यसैले विवाहमा दुलही अन्माउँदा अधिकांश दुलहीको आँखा रसाउँछ ।

तर छिमेकी देश चीनको एक जनजातीमा भने विवाहमा दुलही रुनैपर्ने बाध्यता छ । उक्त समुदायमा विवाह गर्न लागेकी युवतीलाई एक महिना अघिदेखि नै रुने अभ्यास गराइन्छ । युवतीलाई धेरै रुवाउन परिवारका सदस्यले नै उक्साउँछन् त्यती गर्दा पनि बेहुलीको आँसु नआए आमाले कुटेर भए पनि छोरीलाई रुवाउन थाल्छिन् ।

चीनको दक्षिणपश्चिमी प्रान्त सिचुआनमा बसोबास गर्ने तुजिया जनजातिको विवाहमा बेहुली रोएमा मात्रै उक्त विवाह शुभ रहने मान्यता रहेको हो । जनजातिका मानिसहरू हजारौँ वर्षदेखि यो परम्परालाई मान्दै आएका छन् ।

यस्तो परम्परा ४७५ ईसा पूर्व देखि २२१ ईसा पूर्वको बिच सुरु भएको विश्वास गरिन्छ । १७ औँ शताब्दीमा यो आफ्नो चरममा थियो। भनिन्छ, जाओ राज्यकी राजकुमारीको विवाह हुँदा छोरीसँगको बिछोडको शोकमा उनकी आमा रोएकी थिइन् । उक्त घटनापछि यस जनजातिमा दुलही रुने चलन सुरु भयो ।

विवाह समारोहभन्दा एक महिनाअघि देखिनै बेहुलीलाई रुवाउन थालिन्छ । हरेक दिन बेहुलीले एक घण्टा रोइरहनुपर्ने हुन्छ । बेहुली रोइरहँदा परिवारका महिलाहरू उनीसँग जोडिएर परम्परागत गीत गाउँछन् । त्यस्ता गीतहरूले दुलहीको जीवनमा आउने परिवर्तन र उनको परिवारसँगको सम्बन्धको भावनालाई व्यक्त गर्दछ।

सुरु सुरुका दिनमा बेहुली रुदा उनका आमा र हजुरआमा पनि सँगै रुन्छन्। आफ्नो नयाँ जीवनतर्फ अघि बढ्न लागेकी दुलहीले एक महिनाअघि देखिनै रुदा आफ्नो पुरानो घर र परिवारसँग जोडिएको महसुस गर्छिन्। उनी आमाको काखमा टाउको राखेर मनको पीडा पोख्छिन् ।

दिन बित्दै जाँदा दुलहीभित्र पुराना स्वार्थ छाडेर नयाँ मानवको जन्म भएसरह हुने विश्वास गरिन्छ । एक महिनासम्म चल्ने यस परम्परामा बेहुलीले आफ्नो घरमा आफन्त र साथीभाइको माया प्राप्त गर्ने गर्छिन् । हरेक दिन रुने परम्पराले युवतीलाई नयाँ आशा दिने र परिवारको साथले उनी कहिल्यै एक्लो छैनन् भन्ने महसुस गराउने विश्वास लिइन्छ ।