दाइजोका कारण पटक पटक हिंसा भोगेकी कञ्चन, न्याय खोज्दा आवाज दबाएपछि सबैको साथ माग्दै
काठमाडौं– मोरङको कञ्चन रौनियारले दाइजोको कारण आफ्नो जीवन बर्बाद भयो भन्दै न्याय मागेकी छिन् । माइती मोरङ भएकी २३ वर्षीय कञ्चन रौनियारको दुई वर्षअघि सर्लाही नयारोडको रोहित गुप्तासँग विवाह भएको थियो । लाखौँको दाइजो दिएर माइती पक्षले विदा गरेपछि दाइजो नपुगेको भन्दै पटक पटक हिंसा भएको र न्याय खोज्दा पनि उचित न्याय नपाएको उनको भनाइ छ ।
परम्परागत रुपमा २०७९ असार १० गते भएको उनको विवाहमा करिब ७० लाख खर्च भएको थियो । विवाहमा केटा पक्षको माग बमोजिम नगद १५ लाख, सुन १८/२० तोला, चादि, हिरा र घरका सबै सामान–फ्रिज, टीभी, किङ साइज बेड, डाइनिङ टेबल, वाशिङ मेशिन, हिटर, गिजर, माइक्रोवेभ, ग्लास टेबल, सोफा, ड्रेसिङ टेबल, भान्साका सबै सामान लगायतका सम्पूर्ण सामग्री माइतीले दाइजो दिएको उनले बताएकी छिन् ।
उनले भनिन्, ‘बिहे गरेको केही महिना मलाई सबै परिवारले माया गरेजस्तो गर्नु भयो । तर बिहे गरेको एक–दुई महिनापछि फलानोले ५० लाख दाहिजो दिंदै थियो, तँबाट के पायौं भनी मलाई ५० लाख दाहिजो घरबाट मागेर लिएर आइज भनेर दिनरात कुटपिट र हिंसा गर्न थाल्नु भयो । बिहे जस्तो पवित्र सम्बन्धलाई तोड्नु नपरोस् भनी मैले सबै कुरा सहेर पचाएर बसेँ । ’
थप दाइजो नपाएपछि घरेलु हिंसामा पटक पटक परेको र माइती आएर त्यसो नगर्न अनुरोध गर्दा ५० लाख दाइजोको डिमान्ड गर्दै नपाए मार्ने धम्की दिएको उनले बताइन् । थप दाइजो नपाउँदा सासु ससुरासहित परिवारले धेरै दाइजो दिने केटीसँग विहे गर्न दबाब दिएको उनको भनाइ छ ।
विवाह भएको केही समयपछि नै आफ्नो मोबाइल खोसेर माइतीसँग सम्पर्कबिहिन बनाइदिएको उनले बताएकी छिन् । विवाहको करिब ४ महिनामा नै कुटपिट गरेर घरबाट निकादिएको उनले सुनाइन् । । उनले भनिन्, ‘२०७९ को तिहार र छैठी माता पुजापछि मलाई कुटेर घरबाट निकालिदिनुभयो, त्यसपछि म माइतीको शरणमा गएँ। मेरो श्रीमान् र परिवारले ३ महिनासम्म सम्पर्क गर्नु भएन। मैले मलंगवा माइती नेपालमा गुहार लगाउँदा कुनै सहयोग पाइँन। अतः त्यसपछि बरहथवाको समाज र उहाँको आफन्तलाई गुहार लगाउँदा उहाँको घरमा पञ्चायती बस्नुभयो , तर त्यहाँ मसँग भएको हिंसाको केही कारवाही र फैसला नभई उल्टै मलाई दबाइयीयो ।
पञ्चायतमा आफूमाथी भएको अत्याचारको विरोध नगर्न बरथवा रौनियार समाजले उल्टै दबाब दिएपछि छोरीको ज्यानको सुरक्षा नभएको भन्दै माइती पक्षले माइत लगेको उनले बताएकी छिन् । ।
विवाह भएको केहि समयमा नै श्रीमानले उनलाई विदेश जान भन्दै आएल्स क्लासमा जोइन गराइदिएका थिए । र माइती गएर पनि क्लासलाई निरन्तरता दिइरहेकी थिइन् । आयल्स परीक्षा दिएको थाहा पाएपछि श्रीमानले २०७९ माघ ६ गते माइत लिन गए । श्रीमानले अब राम्रो व्यवहार गर्ने आशामा उनी घर फर्किइन् ।
तर श्रीमानको घर जानेबित्तिकै विदेश जानलाई माइतीबाट पैसा माग भनी फेरि उनीमाथि कुटपिट गर्न सुरु भयो । उनले भनिन्, ‘बाध्य भएर मेरो माइती पक्षले १० लाखको चेक र ६ लाख नगद दिनुभयो। तर भिसा नलागेपछि अब तँलाई हामी नराख्ने भनी फेरि पुर्ण रूपमा मलाई हिंसा, कुटपिट गलिगलौच गरी अभ्द्र बेहेबार गरेर घर निकाला गर्नुभयो र फेरि माइतीको शरणमा आएँ।’
त्यसको केहि महिनापछि आफूलाई जानकारी नगराई सासु, ससुरा, दुइ नन्द र श्रीमानबीच अंशबण्डा गरेर डिभोर्स केस फाइल गरेको उनले बताइन् । त्यसपछि उनी दाइजोको कारण घरेलु हिंसा भएको भन्दै इलाका प्रहरी कार्यालयमा गुहार लगाउन पुगेकी थिइन् । इलाका प्रहरी कार्यालयले उनलाई न्यायिक समितिको बाटो देखायो । उनले न्यायिक समितिमा हिंसा नभइ इज्जत साथ खाना, ल्याउन र बस्न पाउँ भन्दै निवेलन दिइन् ।
न्यायिक समितिको बैठकमा समाज, दुबैपक्षका परिवारसहित सबैजनाको उपस्थिति भयो । न्यायिक समितिमा मेलमिलाप गर्दै सल्लाह–मिलापत्र र बिहे दर्ता बनाउने सहमति भएको थियो । तर न्यायिक समितिको निर्णय भएको केहीबेरमा फेरि अर्को दुव्र्यवहारमा परेको उनले सुनाइन् । ‘११ नम्बर वार्ड अध्यक्ष शेख मेहेबुब, श्रीमान रोहित गुप्ता , श्रीमानको भिजानु विशाल गुप्ता , श्रीमानको मामा राजेन्द्र गुप्ता , मेरो सासु–ससुरा र केही अन्य महिलाहरू मिलेर मलाई ‘काम छ, बाहिर हिँड एकछिन’ भन्दै न्यायिक समितिबाट क्लिनिक लगेर जबरजस्ती ‘प्रेग्नेंसी टेस्ट गर’ भन्नुभयो। मैले ‘म महिनावारीमा छु’ भन्दा पनि उहाँहरूले ‘कित टेस्ट गर, कित कपडा खोलेर देखा’ भनेर दबाब दिनुभयो।
मलाई दबाब दिएपछि मैले ‘म केही गर्दिनँ, म जान्छु भनेँ, तर जबरजस्ती मेरो तल्लो सबै कपडा सुरुवाल–पेन्टी खोलेर प्याड–रगत हेरियो। अनि बल्ल मलाई छोड्नुभयो र म रुँदै कराउँदै त्यहाँबाट भागेर न्यायिक समितिमा गएर सबैलाई भनेँ ‘मसँग यस्तो व्यवहार भयो’ भनेर। तर त्यहाँ पुलिस, न्यायिक समिति र समाज कसैले पनि मलाई कुनै सहयोग र उहाँहरुलाई कुनै कारवाही गर्नु भएन। उल्टै ‘ढिलो भयो, आज प्रक्रिया रोकिन्छ, अब दुबै पक्ष आइतबार १० बजे आउनू’ भन्दै घर पठाइदिनुभयो।’
आफुमाथि अत्याचार हुँदापनि सबै मौन बसेको भन्दै पिडीतका लागि को हो भन्दै उनले प्रश्न गरेकी छिन्, ‘मसँग यति सम्मको अत्याचार हुँदा पनि समाजले के हेरिरहे? कानुनले के हेरिरहे? न्यायिक समिति, जहाँ पीडितले न्याय खोज्न जान्छन्, त्यहाँ नै यति धेरै अन्याय हुन थालेपछि म जस्तो पिडीहरु कहाँ जाने ।’
न्यायिक समितिबाट केही सहयोग नपाएपछि मलंगवा जिल्ला अदालत गएर घरेलु हिंसा मुद्दा दर्ता गरे र सुरक्षा साथ घर बस्ने अर्डर लिएर आइन्। सो पत्र वडा, नगरपालिका र इलाकामा पत्र पनि बुझाइन्। ‘तर घर प्रवेश गराइदिनु भन्दा ‘पहिले बैठक बस्नु पर्छ’ भन्दै फेरि मेरो श्रीमानलाई सपोर्ट गर्ने काम सुरु भयो।
मैले ६ महिनासम्म पुलिस प्रशासन मा २५/२६ पटक सम्मः गएर न्यायको गुहार लगाए, मलाई ईलाकाबाट यो मिति मा आउनू बैठकको लागि भनी फिर्ता पठाउनु हुन्थ्यो। तर एकपल्ट पनि उहाँहरूलाई उपस्थित गराउनुभएन। सबैजानाको मिलेमतोमा श्रीमान पक्षलाई यती समय दिइयो कि उहाँहरूले निषेध आज्ञा लिँदै आउनुभयो। त्यसपछि जबसम्म निषेध आज्ञा खारिज हुँदैन, तब सम्म हामी केही गर्न सक्दैनौं भन्दै फेरि पनि मलाई दबाउने र उहाँहरुलाई सर्पोट गर्ने काम सुरु भयो। मैले जनकपुर गएर निषेध आज्ञाको प्रत्युत्तर लगाएँ। ४–५ महिना बितिसक्दा पनि पेशी नचढेपछि के कारण रोकियो भनेर बुझ्दा नगरपालिकाको र वडाको पत्र बीचमा नै गायब भएको जवाफ दिनुभयो।’
एउटा पीडित महिनौं न्यायको लागि गुहार लगाइरहेको समयमा कति ठूलो लापरबाही भन्दै उनले प्रश्न गरिन् । उनले भनिन्, ‘अन्ततःदबाब दिएपछि नयाँ पत्र तमिल गर्नुभयो र मैले निषेध आज्ञा खारिज गराएर ल्याएँ।’ आफूले न्यायको लडाँइ लड्न लागेको र यसमा सबैको साथ चाहिइएको भन्दै उनले सहयोगको लागी आह्वान गरेकी छिन् ।