सामाजिक सञ्जालमा ट्रोल भएपछि चन्द्रकला सखीको मिठो माफीः सानी बालिकाले बोलेको सम्झेर क्षमा गर्नुहुन्छ होला
काठमाडौं– पशुपतिमा जारी कोटीहोममा जति चर्चा चलिरहेको छ त्यती नै आलोचना भइरहेको छ । काभ्रेमा जन्मिएकी र भारतलाई कर्मभूमि बनाएकी देवि प्रतिभाको कोटिहोममा दिएको प्रवचनको कारण धेरै चर्चा भयो । उनले कथावाचनमा दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाइन् ।
तर कथा वाचनका क्रममा विवाहित महिलाबारे गरेको टिप्पणीका कारण उनले आलोचना भोग्नुपरेको थियो । हिन्दु र सनातन संस्कृतिमा ‘डिभोर्स’भन्ने शब्द नै नभएकाले पति जति नै खराब भए पनि महिलाले सहेर बस्नुपर्ने आशयसहित उनले दिएको अभिव्यक्तिको कडा आलोचना भएको थियो । उनी भारत फर्किनुअघि यसको जवाफ पनि दिएर गएकी थिइन् ।
देवी प्रतिभा भारत जानेबित्तिकै अर्की शुन्दरी कथा वाचिका बेलायतबाट कोटिहोममा कथा वाचनमा आइपुगिन् । बुधबारदेखि बेलायतबाट आएकी कथावाचिका चन्द्रकला सखीले पनि देवि प्रतिभाले जस्तै श्रोताहरुलाई मन्त्रमुग्ध पारिरहेकी छिन् ।
बुधबारदेखि ब्यासबाट कथा वाचन गरिरहेकी चन्द्रकलालाई नेपाली संस्कृति र परम्पराको पनि राम्रो ज्ञान रहेको बुझ्न सकिन्छ । उनले नेपाली सनातन धर्मसँग सम्बन्धित कथाले दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाउँदैछिन् । तर उनीपनि कथा वाचन थालेको पहिलो दिनदेखि नै सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छन् । बुधबार कथा वाचनका क्रममा उनले गोरुको प्रिय भोजन मयूर भएको बताएको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
उनले कथा वाचनको क्रममा भनेकी थिइन्, ‘शिवजीले गलामा के लगाउनुहुन्छ? सर्प धारण गर्नुहुन्छ । शिवजीको बहान गोरु हुनुहुन्छ । माता पार्वतीको बहान सिंह हुनुहुन्छ । कार्तिकेयको बहान हो मयूर । गणेशजीको बहान मुसा हो । पार्वतीको बहान सिंह जो छ, साइन्स ९विज्ञान० मा भनिएको छ, इकोलोजी सिस्टममा भनिएको छ, सिंहको अत्यन्त प्रिय भोजन भनेको गोरु हो । गोरुको अत्यन्त प्रिय भोजन मयूर हो । त्यस्तै मयूरको प्रिय भोजन सर्प र सर्पलाई अत्यन्तै मन पर्ने मुसा हो । तर, शिव परिवारभित्र एक–आपसमा कहिले पनि कलह झगडा छैन । यसबाट हामीले के बुझ्नुपर्छ भने हामी अनेक जातजाति छौँ, सबै मिलेर बस्न सक्छौं, बस्नुपर्छ । जुन राष्ट्रमा पशुपतिनाथ हुनुहुन्छ, त्यो राष्ट्रमा कलह कसरी हुन सक्छ?’
अहिले यही प्रवचनका क्रममा गोरुको प्रिय भोजन मयूर भनेको विषयलाई लिएर ट्रोल बनाइएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’मा हेर्ने हो भने मयुरको अर्थ पाउन सकिन्छ । जसमा मयूरलाई एक फूलका रुपमा चिनाइएको छ । उक्त शब्दकोषमा ‘मयूर’को अर्थ ‘फूल’सँगै पुराणअनुसार सुमेरु पर्वतत्रिको एक पर्वतका रुपमा पनि अर्थ लगाइएको छ । त्यस्तै उक्त शब्दकोशले मयूरलाई अर्को नाममा ‘मुजुर’ पनि भनेको छ । मुजुर भन्नाले पंक्षी भनेर बुझिन्छ। त्यही शब्दकोशले मयूरबाट ‘सूर्यशतक’का रचयिता एक कवि भनेर पनि उल्लेख गरेको छ । जसअनुसार मयुर शब्द अनेकार्थी शब्द हो ।
पहिलो दिनमा नै ट्रोल भएपछि बिहीबार सखीले प्रवचनका क्रममा आफुबाट गल्ती हुनसक्ने र भएको भन्दै स्वीकारिन् । उनले भनिन्, ‘म एक एक विदुषी नभएकोले सानोतिनो त्रुटिहरू हुन सक्छन् । बोल्दा कहिलेकाहीँ जिब्रो चिप्लिन सक्छ, त्यस्ता कुरालाई गम्भीर भएर ध्यान नदिनु होला ।’
उनले आफूले नेपाल आएर सन्तजनको कृपा प्रसाद मात्रै प्रस्तुत गरिरहेको बताइन् । ‘मैले हिजो पनि भनेँ, म कुनै विद्वान होइन । म कुनै पण्डित वा विदुषी होइन । सन्तजनको कृपा प्रसाद मात्रै यहाँहरूसमक्ष प्रस्तुत गर्दैछु । जसकारण यहाँ प्रस्तुत गर्ने क्रममा कहीँ कतै त्रुटि हुन सक्लान् । तिनलाई हजुरहरूले सानी बालिकाले बोलेको सम्झेर क्षमा गर्नुहुन्छ होला ।’