काठमाडौं– बिक्री गरेको दुधको समयमा भुक्तानी नपाउँदा देशभरीका ६ लाख बढी किसान पीडित बनेका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरीले भुक्तानी दिनुपर्ने रकम पाँच अर्ब रुपैयाँभन्दा बढी रकम किसानले पाएका छैनन् ।
समयमा भुक्तानी नपाएपछि दुध उत्पादन किसानहरु गत मंसिरमा विरोधमा समेत उत्रिएका थिए । भुक्तानी दिलाउन सरकार र डेरी उद्योगीबीच ०८० मंसिर २६ मा बक्यौता भुक्तानी गर्ने सहमति भयो । तर सहमतिअनुसार किसानले भुक्तानी पाएनन् ।
त्यसयता सरकार र किसानबिच भुक्तानीको लागि पटक पटक सम्झौता भएका छन् । तर किसानले भुक्तानी पाउन सकेका छैनन् । भुक्तानी नपाएपछि गत जेठ २५ देखि असार ४ सम्म कालोपट्टी बाँधेर दूध बिक्री गरेका थिए। असार ५ मा डीडीसीको केन्द्रीय कार्यालय घेर्न पुगेका ४८ किसानलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।
पछिल्लो समय गत असार १६ मा सरकारले किसानसँग असारमा ०८० चैतसम्म भुक्तानी हुन बाँकी दुधको रकम डेरी उद्योगहरूले भुक्तानी गरिसक्नुपर्ने सम्झौता गरेको थियो । वैशाख र जेठको भुक्तानी भदौ मसान्तसम्म गरिसक्ने र प्रत्येक डेरी उद्योगले दूध खरिद गरेपछि किसानलाई हरेक महिना दुई किस्तामा रकम भुक्तानी गर्ने सम्झौता भएको थियो । सम्झौतापत्रमा प्रत्येक महिनाको पहिलो १५ दिनको भुक्तानी सोही महिनाको २५ भित्र र महिनाको पछिल्लो १५ दिनको भुक्तानी अर्को महिनाको १० भित्र गरिसक्ने उल्लेख छ तर उक्त सम्झौता पनि कार्यान्वयन भएको छैन ।
नेपालमा १ हजार ८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्था छन्, जहाँ किसानहरुले दुध जम्मा गराउँछन् । त्यहाँबाट डीडीसी र निजीले गरी ६ लाख परिवारबाट दैनिक १२ लाख लिटर दूध संकलन गर्छन् ।
डीडीसीले ८ वटा आयोजनामार्फत दूध संकलन गर्दै आएको छ । करिब १ हजार २ सय दुग्ध उत्पादक सहकारीमार्फत काभ्रे, सिन्धुपाल्चोक, इलाम, मोरङ, पाँचथर, बुटवल, कपिलवस्तु, तौलिहवालगायत ४६ भन्दा बढी जिल्लाबाट डिडिसीले दूध संकलन गर्छ । ती सहकारीमा करिब २ लाख किसान परिवारको संलग्नता छ ।
डीडीसीले किसानबाट ६५ रुपैयाँ प्रतिलिटरका दरले दुध किन्ने गरेको छ । डिडिसीले उपभोक्तालाई भने ९८ रुपैयाँमा बेच्दै आएको छ । डिडीसीले नै किसानलाई दुधको मुल्य कम दिँदा निजी डेरीबाट किसान पीडित बनेका छन् ।
प्रतिक्रिया