Logo

दर खाने दिनसँगै तिज सुरु, यस्ता खानेकुरा दरमा नखानुस्

काठमाडौं– नेपाली हिन्दु नारीले हरितालिका तीज व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिन मनाइते तिजपर्व आजबाट सुरु भएको छ। विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज दर खाइन्छ ।

पछिल्लो समयमा महिलाहरुले आफ्नो मौका, समय मिलेअनुसार दर खाँदै आएका छन् । तर दर भने व्रतको अघिल्लो दिन खाने खानालाई नै बुझाउँछ । तिजमा पानी पनि नखाइकन व्रत बस्ने चलन छ । निराहार व्रतबस्दा शरिरमा पोषकतत्वको कमि हुन नदिन दर खाने चलन चल्दै आएको हो ।

माइतीपक्षले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने गर्छ । महिलाहरूले वर्षदिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने पर्वका रूपमा तिजलाई मनाउने गर्छन्। जन्म घरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पिर, मर्कालाई नारीले तिजको अवसरमा गीतका माध्यमबाट पोख्ने गर्छन् ।

कतिपयले तिज सुरुहुनभन्दा अघि दरखाने दिनको मध्यतारमा उठेर दर खाने गरेका छन् । दर व्रतको दिन पोषक तत्व दिनका लागि खाने हो र हाम्रो परम्मपरामा चिल्लो खानेकुरा आडिलो हुनेभन्दै खाने चलन भएकाले त्यसले शरिरलाई नकारात्मक असर पुर्याउने गरेको पोषणविद्हरु बताउँछन् ।

मध्यरातमा शरिरलाई हानी पुर्याउने किसिमका चिल्ला खानेकुरा खाने र भोलीपल्ट दिनभरि खाली पेट हुनेभएकाले विभिन्न समस्या निम्त्याउँछ ।
यस्तै तिजको दिन व्रत बस्दा पनि विशेष ध्यान पुर्याउनुपर्छ ।

दर खाँदा पाचन प्रकियामा असर नगर्ने खालका खानेकुरा नखान पोषणविद्हरु सुझाउँछन् । त्यसैले दरखाँदा सकेसम्म क्यालोरी, चिल्लो र मसला कम भएको खानेकुरा खानुपर्छ । फाइबर र प्रोटिनयुक्त तरकारी, फलफूलजस्ता खानेकुरा खानु राम्रो हुन्छ ।

दरमा चिल्लो, पिरो खाना खाने र भोलिपल्ट केही नखाई व्रत बस्ने गर्दा पेटको समस्या हुनसक्छन् । त्यसैले दरमा चिल्लो, पिरो र तारेका खानेकुरा नखान पोषणविद् सुझाउँछन् ।

तिजको दरमा माछामासु नखानु नै उपयुक्त हुने पोषण विद्हरु बताउँछन् । माछामासु पच्न लामो समय लाग्ने भएकाले यस्ता खाना नखाएकै बेश हुन्छ । खानेकुरा पच्नलाई नै चार पाँच घण्टा लाग्ने भएकाले राति १२ बजे दर खाँदा थप स्वास्थ्यलाई असर पुग्ने गर्छ । दीर्घरोगबाट ग्रसित महिलाले दरखाँदा विशेष ध्यान पुर्याउनुपर्छ । मधुमेह, उच्च रक्तचाप, थाइराइड लगायत समस्या देखिएका महिलाले दर खानु पहिला आफ्नो स्वास्थ्य अवस्थाबारेमा सचेत हुनुपर्छ ।

मधुमेहमा कसैले इन्सुलिन प्रयोग गरिरहेका छन् भने व्रत नबस्नु नै राम्रो हुन्छ । मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिले व्रत बस्ने हो भने पानी, फलफूल, ड्राइफ्रुट लगायत खानेकुरा खाएर बस्नुपर्छ । व्रत वस्दा थकान, रिँगटा लाग्ने भएमा ग्लुकोट पानी खाएर ठोस खानेकुरा खानुपर्छ ।

व्रत बस्नु स्वास्थ्यको लागि राम्रो मानिन्छ । समयसमयमा व्रत बस्नाले पाचन प्रणालीमा सकारात्मक प्रभाव पर्ने हुँदा खाना पच्न सहज हुन्छ । केही दिनको अन्तरालमा पेट खाली राख्दा पेट र आन्द्रामा भार कम हुन्छ । पेट खाली राख्दा पेट र आन्द्रामा आवश्यक पर्ने ऊर्जा शरीरका अन्य अंगमा खर्च गर्न सक्छ ।

त्यसैले तिजमा व्रत बस्नुको धार्मिक महत्वका साथै शरिरलाई फाइदा पनि छ । चिल्लो, पिरो र मसलायुक्त खानेकुरा सकेसम्म नखाने, सामुहिक रुपमा दर खाँदा पुड पोइजन हुनबाट सचेत हुँदै दर खानुपर्छ । दर खाँदा मद्यपान नगर्नसमेत पोषणविद्हरु सुझाउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्