Logo

बालबालिकामा मोबाइलको लतसँगै बढ्दै गम्भीर समस्या: छुटाउनलाई यस्ता कुरामा पुर्याउनुस् ध्यान

काठमाडौं– मोबाइल पछिल्लो समय मानिसहरुको लागि नभइ नहुने प्रविधि बनेको छ । यसको प्रयोग वयस्क व्यक्तिहरु जति गर्छन् त्योभन्दा धेरै बालबालिकाले गरिरहेका छन् । अझ दुई/तीन वर्षका बालबालिका जतिबेला पनि मोबाइल हेर्न खोज्छन् । मोबाइल नहेरि खाना पनि नखाने, खेल्न, कुराकानी गर्न भन्दा मोबाइलमात्र चलाउने जस्ता बालबालिकाका बानीले अभिभावक हैरान भएका छन् ।

आफ्ना बालबालिका जतिबेला नि मोबाइल चलाएर बस्ने, कसैसँग घुलमिल हुन नखोज्ने, साथीहरुसँग नखेल्ने, एकोहोरो बस्ने समस्या देखिएका कारण अधिकांश आमाबुबा चिन्तित बनेका छन् । तर बालबालिकामा मोबाइलको लत लगाउन अभिभावक नै जिम्मेवार हुने गरेका छन् । किनभने बालकालिकालाई मोबाइलसँग नजिक गराउने नै आमाबुबा हुन् । अभिभावक आफ्नो कार्य व्यस्थताका कारण साना नानीबाबुहरुलाई समय दिन भ्याइरहेका हुँदैनन् । त्यसैले बालबालिकालाई फकाउन पनि मोबाइल दिने गरिन्छ ।

बालबालिकालाई खाना खान नमान्ने भएकाले मोबाइलमा बालबालिकालाई झिलिमिली र लोभ्याउने कुराहरु देखाउँदै खाना खुवाउँदा उनीहरुमा मोबाइल नहेरि खाना खुवाउने बानी परेको छ। तर यसरी मोबाइल हेर्दा बालबालिकामा मानसिक र शारिरीक समस्याहरु देखिने गरेका छन् ।

मोबाइलकै कारण बालबालिकामा ढिलो गरी बोली फुट्ने समस्या पनि देखिन थालेको छ। बालबालिकालाई सानैदेखि जतिबेला पनि मोबाइलमा झुन्डिन दिँदा उनीहरू दैनिक रुपमा अन्रक्रिया गर्नेकिसिमका संवाद गर्न पाउँदैनन् । यसरी बोल्ने वातावरण नै नहुँदा उनीहरु बोल्न सिक्दैनन् ।

मोबाइल हेर्दै खाना खाने बालबालिकामा पाचनसम्बन्धि समस्यासमेत देखिने गरेको चिकित्सहरु बताउँछन् । खाना खाँदै मोबाइल हेर्दा खानेकुरामा बालबालिकाको ध्यान केन्द्रित नहुने र बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्। त्यसका कारण पोषणसम्बन्धी समस्या, पाचन प्रणालीमा समस्या हुन सक्छ। बच्चा ठूलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छ।

यसको समाधानका लागि बालबालिकालाई खाना खुवाउँदा सजिलोका लागि मोबाइल देखाउनुको सट्टामा बच्चासँग कुराकानी गरेर, डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउनुपर्छ।

बालबालिकाले अभिभावकले अत्यधिक मोबाइल प्रयोग गर्दा देखेर सिक्छन् । त्यसैले आफ्ना बालबालिकासँग रहेको समयमा उनीहरुलाई समय दिने, कुराकानी गर्ने, किताब पढ्ने, कथाहरु सुनाउने जस्ता काम गर्नुपर्छ । आफुुले मोबाइल चलाउनुपर्ने भएमा बालबालिका सुतिसकेपछि चलाउन अभिभावकलाई चिकित्सकहरु सुझाव दिन्छन् ।

लामो समय मोबाइलमा रिल हेर्दा ब्रेनमा डोपमिन भन्ने तत्त्व बढ्ने गर्छ । जुन तत्त्व धेरै खुसी हुँदा बढ्ने गर्छ । त्यो तत्त्व लामो समय बढिरहेमा जे कारणले बढेको हो त्यसको लत लाग्ने गर्छ। अर्थात् मोबाइलको लत लाग्ने गर्छन् । त्यसैले रिलहरु हेर्ने बानीबाट बालबालिकालाई कम गरेर अभिभावकले समय दिने बानीको विकास गर्नुपर्छ ।

सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रीनबाट आउने उज्यालोले निद्रा लाग्ने हर्मोन निर्माण हुनमा समस्या हुने तथ्य पाइएको छ।
त्यसैले मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटकपटक ब्युझँने समस्या देखिन सक्छ। त्यसबाहेक बालबालिका एकोहोरो हुने, रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने, साथीभाइसँग घुलमिल हुन नसक्नेजस्ता समस्या निम्तिने गर्छ ।

मस्तिष्क विकास हुने अधिकतम उमेर भनेकै बाल्यावस्था हो । यस्तो समय मोबाइल हेर्नमा नै खर्च गरेमा बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुर्‍याउँछ।

यस्तै किशोरकिशोरीहरूमा मोबाइलको अति लतका कारण डिप्रेसनको समस्यासमेत देखिन सक्छ । सामाजिक सञ्जालमा फोटोहरु राख्दा आउनसक्ने नकारात्मक प्रतिक्रियाले उनीहरुलाई धेरै असर गर्छ । सामाजिक सञ्जालबाटै ‘बुलिङ’ र यौन दुर्व्यवहारमा समेत उनीहरु पर्न सक्छन् । यसले उनीहरुलाई मानसिक समस्या र डिप्रेसनसमेत निम्त्याउनसक्छ ।

विश्व स्वास्थ्य संगठनले दुई वर्षभन्दा कम उमेर समुहका बालबालिकालाई शुन्य स्क्रिन टाइम तोकेको छ । स्क्रीन टाइम भनेको मोबाइल, टिभी, ट्याब्लेट वा कम्प्युटर अगाडि बसेर बिताइने समय हो। यस्तै दुई देखि पाँच वर्षसम्मका बालबालिकालाई एक घण्टाभन्दा कम र पाँच वर्ष माथीका व्यक्तिलाई दुई घण्टाभन्दा कम स्क्रिन टाइम तोकिएको छ । त्यसैले तोकिएको स्क्रिन टाइमभन्दा धेरै समय मोबाइल, ल्यापटपमा खर्च नगर्नेगरि अन्य क्रियाकलापमा बालबालिकालाई सहभागी गराउन अभिभावकले ध्यान पुर्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्