Logo

बुधबारदेखि सोह्र श्राद्ध सुरु हुँदै, यस्तो छ सोह्र श्राद्ध गर्नुको कारण

काठमाडौं– यस वर्षको सोह्र श्राद्ध असोज २ गते अर्थात् बुधबारदेखि सुरु हुँदै छ । भाद्रपद महिनाको पूर्णिमादेखि आश्विन महिनाको अमावस्यासम्म १६ दिनको अवधिमा पर्ने तिथिअनुसार पितृको पूजा गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो ।

सोह्र श्राद्ध हिन्दु समुदायका व्यक्तिहरुले गर्ने गर्दछन् । हामीलाई जीवन, संस्कार र परम्परा दिने पूर्वजहरुको मृत्यु भइसकेको अवस्थामा उनीहरुलाई पितृ भनिन्छ । पितृहरूलाई श्रद्धापूर्वक सम्झनु, सम्मान गर्नु र उनीहरूको आत्माको शान्तिका लागि कर्म गर्नु हिन्दुशास्त्रअनुसार सन्तानको कर्तव्य हो ।

सोह्र श्राद्धको समयमा पितृहरू पृथ्वीमा आउने र उनीहरूले आफ्ना सन्तानबाट तर्पण, पिण्डदान, श्राद्धको अपेक्षा गर्ने मान्यता रहेको छ । पितृलाई खुसी पारेमा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने र पितृ असन्तुष्ट भएमा पितृहरूले परिवारमा विपत्ति, रोग र कष्ट ल्याउन सक्ने विश्वास समेत गरिन्छ ।

पवित्र मन्त्रहरू उच्चारण, तर्पण, पिण्डदान, ब्राह्मण भोजन र दान गरेर श्राद्ध गरिन्छ । श्राद्धको समयमा लसुन, प्याज, मासु, मदिरा आदिको प्रयोगलाई निषेध हुन्छ । शरीर, वस्त्र र मनको शुद्ध बनाएर पितृको स्वर्गारोहण भएको तिथिमा नै श्राद्ध गरिन्छ ।

श्राद्ध गरेमा सन्तानहरु पितृ ऋणबाट मुक्त हुने विश्वास रहेको छ । श्राद्ध गर्दा पितृहरूको आत्मालाई शान्ति प्रदान गरी मोक्षको बाटो खुल्छ । पितृहरूको आशीर्वादले परिवारमा आरोग्य, ऐश्वर्य र सुख प्राप्त हुने तथा धार्मिक परम्पराका र संस्कारको संरक्षण हुने मान्यता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्