Logo

आखिर कहाँ छन् ‘हिरो नम्बर वन’ गोबिन्दा ?

बीबीसी- बलिउड अभिनेता गोबिन्दाको गीत ‘मय से न मीना से न साकी से’ मा डान्स गरेको भिडियोले भोपालका एक प्राध्यापक सोसल मिडिया स्टार बनेका छन् ।

४६ वर्षका इलेक्ट्रोनिक्सका प्राध्यापक संजीव श्रीवास्तव वास्तविक जीवनमा पनि गोबिन्दाका प्रशंसक हुन् ।

यस्तोमा मेरो मनमा प्रश्न उठ्यो, आखिर ‘हिरो नम्बर वन’ गोबिन्दा कहाँ छन् ? गोबिन्दाको जुन गीत भाइरल भएको छ त्यो सन् १९८७ मा रिलिज भएको फिल्म ‘खुदगर्ज ’को हो ।

राकेश रोशनले पहिलो पटक यो फिल्मको निर्देशन गरेका थिए । फिल्ममा भर्खरै पाइला टेकेका गोबिन्दाका लागि पनि यो निकै महत्वपूर्ण फिल्म थियो ।

उनको फिल्म ‘लभ ८६’ एक वर्ष अघि नै हिट भएको थियो र गोबिन्दा आफूलाई साबित गर्न कसरतमा  थिए ।

खुदगर्ज हिट रह्योः

फिल्मको यो हिट गीत याद गर्दै गोबिन्दाले बीबीसीलाई एक रोचक किस्सा सुनाएका थिए ।

उनले भने, ‘म आफ्नो भान्जालाई लिएर वैष्णो देवीको यात्रामा गएको थिएँ । उनलाई टाउकोमा बसाएको थिएँ । जसका कारण मेरा दुबै खुट्टा मज्जाले सुन्निएका थिए ।’

‘फिल्मको सुटिङ एक दिन पछि सार्नुपरेको थियो । अर्को दिन हामीले सुटिङ गर्यौं र ६ घण्टामा निलम र मैले यो गीत सुट गर्यौं जुन सुपरहिट भयो ।’

‘मैले र निलमले थुप्रै स्टेज शोमा यसमा प्रस्तुती दियौं । मैले यो गीत राकेश रोशनका प्रति आफ्नो सम्मानका कारण सुट गरेको थिएँ ।’

फिल्म ‘खुदगर्ज’ हिन्दीमा हिट रह्यो र अन्य भाषामा यसको रिमेक पनि बन्यो । तमिलमा रजनीकान्तले यसमा काम गरे, तेलुगूमा वेन्कटेशले र उडियामा मिथुनले ।

गोबिन्दाको परिवारः

गोबिन्दाका पिता आफ्नो जमानाका हिट नायक अरुण कुमार अहुजा थिए र आमा निर्मला देवी ।

अरुण कुमारले ४० को दशकमा ३०–४० वटा फिल्ममा काम गरे ।

महबूब खानले उनलाई आफ्नो फिल्म ‘औरत’ मा मौका दिएका थिए जुन पछि ‘मदर इन्डिया’ को नामले महबूब खानले दोस्रोपटक बनाए ।

उनकी आमा निर्मला देवी बनारसकी थिइन् जो उत्कृष्ट शास्त्रीय गायिका थिइन् । उनले थुप्रै फिल्मका गीतमा स्वर भरिन् ।

तर एक फिल्ममा घाटा भएपछि गोबिन्दाका पिताले आफ्नो बंगला छोडेर मुम्बईको विरार जानुपरेको थियो ।

त्यहीबाट उनले ‘विरारका छोकरा’ नाम पाए । घरको स्थिती त्यति राम्रो थिएन ।

‘तन–बदन’ बाट ब्रेक पाए…

गोबिन्दा कमर्समा ग्रेजुएट पछि कामको खोजीमा थिए । अथक प्रयासका बाबजुद पनि उनले जागिर पाइरहेका थिएनन् ।

तर गोबिन्दाको भाग्यमा हिरो बन्न लेखेको थियो ।

उनले ८० को दशकमा एलविन नामको एक कम्पनीमा विज्ञापनका लागि अभिनय गर्ने अफर आयो । त्यसलगत्तै ‘तन–बदन’ फिल्ममा हिरो बन्ने मौका पाए । नायिका थिइन् दक्षिणकी खुश्बू ।

उनको फिल्म ‘लभ ८६’ हिट भइसकेको थियो र ९० को दशकमा त उनी बलिउडमा जमिसकेका  थिए ।

९० को दशकमा तीन खानसँग बक्स अफिसमा प्रतिस्पर्धा गर्ने सूचीमा गोबिन्दा शीर्ष स्थानमा पर्थे ।

कमिक टाइमिङः

एक समय थियो जब गोबिन्दाको वर्षमा ८ देखि ९ वटा फिल्म रिलिज हुन्थे । उनले पैसा पनि मनग्गे कमाउथे ।

उनको उत्कृष्ट कमिक टाइमिङ, विशेष डायलग, उनकै लागि लेखिएका पंच लाइन, उनका रंगी विरंगी कपडा, कमालको डान्स – यी सब काफी थिए बक्स अफिसमा आगो लगाउनका लागि ।

न त उनी आमिर खानका जस्तै चकलेटी हिरो थिए न सलमानको जस्तो बडी थियो, न त शाहरुखको जस्तो रोमान्टिक इमेज न अक्षय कुमारको जस्तो एक्सन ।

तरपनि गोबिन्दाको आफ्नो भिन्न स्वाग थियो । यो पनि भन्न सकिन्छ कि त्यतिबेला उनको समय राम्रो चलिरहेको थियो ।

उनको कमिक टाइमिङ यस्तो थियो कि जब सन् १९९८ मा फिल्म ‘बडे मियाँ छोटे मियाँ’ आयो तब धेरै मानिसहरुलाई लाग्यो कि गोबिन्दाले अमिताभ बच्चनलाई समेत उछिने ।

सफल फिल्मको सिलसिलाः

हुन त ९० को दशकमा उनलाई दुई अर्थ लाग्ने गीतको आरोप पनि लागेको थियो जुन अहिलेको समयमा हुने हो भने ठूलै विवाद निम्त्याउन सक्थ्यो ।

हिरो नम्बर वन, हसिना मान जाएगी, दीवाना मस्ताना, कुली नम्बर वन, साजन चले ससुराल, हद करदी आपने, शोल और शबनम – ती ९० को दशकका हिट मिशन थिए ।

निर्देशकले गर्थे घण्टौं प्रतिक्षाः

नीजि जीवनको कुरा गर्नुपर्दा गोबिन्दाले करियरको सुरुवातमा नै सुनितासँग प्रेम विवाह गरे ।

तर एक वर्षसम्म उनीहरुले यो विवाहलाई लुकाए किनभने उनलाई लाग्थ्यो कि सायद यसले उनको लोकप्रियतामा असर पर्नेछ । तर यस्तो केही भएन ।

हुन त गोबिन्दा सधैं ढिलो गर्ने व्यक्तिमा चिनिन्छन् र निर्देशकले थुप्रै पटक उनलाई घण्टौं प्रतिक्षा गर्ने गर्दथे ।

राजनीतिमा करियरः

गोबिन्दा बिस्तारै ‘हिरो अफ द मासेज’ भए । तर उनको यो विशेषता उनको कमजोरी पनि बन्यो ।

डेविड धवन र पहलाज निहलानीजस्ता निर्देशकको साथ त उनले पाए तर यश चोपडा, करण जोहर, सुभाष घईजस्ता निर्देशकसँग उनले कहिले पनि काम गर्न पाएनन् ।

सन् २००० पछि जहाँ शाहरुख, आमिर, सलमान, ऋतिक चम्किन थाले । गोबिन्दाले आफूलाई रिइन्भेन्ट गर्न सकेनन् र दौडमा पछि परे ।

सन् २००८ मा राजनीतिमा गए तर त्यहाँ पनि सन् २००८ को सुरुवातमा नै मैदान छोडे ।

मणी रत्नमको रावण जस्तो फिल्म पनि उनको करियरलाई उठाउन सकेन यद्यपी, उनले स्वर्ग र हत्या जस्ता फिल्ममा गम्भीर भूमिका निभाएका कारण उनको तारिफ पनि भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्