Logo

बालबालिकासँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीका आठ भनाइ यस्तो हेर्नुहोस्, प्रधानमन्त्रीलाई भयो कठिन !

प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी नयाँ वर्षका पहिलो दिन राजधानी काठमाण्डूमा बालबालिकासँग अन्तर्क्रिया गरेका छन्।

नेपाल स्काउटको आयोजनामा भएको “प्रधानमन्त्रीसँग बालबालिका” कार्यक्रममा उनले ५० वटा विद्यालयबाट भेला भएकामध्ये केही बालबालिकासँग अन्तरक्रिया गरेका हुन्।

ओलीले बालबालिकाका प्रश्नहरूको जवाफ पनि दिएका थिए।

उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यक्त गरेका आठ धारणाहरू:

१. परिस्थितिले प्रधानमन्त्री

बाल्यकालमा मैले प्रधानमन्त्री बन्छु भन्ने सपना देखेको थिइँन।

अहिले परिस्थितिले प्रधानमन्त्री बनेको छु।

देश र जनताका लागि केही गर्नुपर्छ भन्ने भावनाले गर्दा राजनीतिमा लागेर यहाँसम्म आइपुगेँ।

तर म प्रधानमन्त्री पदमा टिकिराख्नुपर्छ भन्ने भएर होइन, देश बन्नुपर्छ भनेर काम गरिरहेको छु।

२. हजुरआमाको प्रेरणा

आमा सानैमा बितेकाले मेरो पहिलो प्रेरणाको स्रोत मेरो हजुराआमा हुनुहुन्थ्यो।

मैले उहाँबाटै इमान्दार हुनुपर्छ, मेहनत गर्नुपर्छ र श्रमलाई माया गर्नुपर्छ भन्ने कुरा सिकेको हुँ।

३. सपनाको प्रकार

सपना दुई खाले छन्, निदाएर देखिने र ननिदाई देखिने।

म निदाएर देख्ने सपनामा विश्वास गर्दिन।

मैले ननिदाई देख्ने सपना भनेको यो देशको भविष्य कसरी बनाउने भन्ने हो र नयाँ पुस्ताका लागि देशलाई अझ सुन्दर कसरी बनाउन सकिन्छ भन्ने हो।

४. ज्ञानले समृद्ध

नेपाल ज्ञानको शुरूवात भएको भूभाग हो। तर उपनिवेशकालमा हामी दुईतिरको चेपुवामा पर्‍यौँ र पछाडि परेका हौँ।

हामीमा विद्वान पुर्खाको जीन छ।

हामी अहिले प्राविधिक शिक्षातर्फ उन्मुख छौँ। चाँडै नै विश्वस्तरको ज्ञान हासिल गरेर हामी पनि समृद्ध हुनेछौँ।

५. ज्ञान जीवनभरको अभ्यास

यो संसारमा अथाह ज्ञानको भण्डार छ। त्यसैले सबै ज्ञान लिन सकिदैन।

मानिसहरूले विशेषज्ञ बन्दै गएपछि ज्ञान हासिल गरेर नसकिने रहेछ भन्ने बुझ्न थाल्छ।

तर केही व्यक्तिहरू मजस्तो विद्वान भनेर गमक्क पर्छन्। जसले म विद्वान हुँ भनेर फुल्छ, उसले सिक्न छाड्छ र त्यो प्रमाणपत्रधारी ज्ञान नभएको मान्छे मात्र बन्छ।

त्यसैले ज्ञानलाई जीवनभरको अभ्यासका रूपमा लिनुपर्छ।

मैले मास्टर्ससम्म पढिहालेँ, मैले पीएचडी गरेको छु, किन पढ्नु भन्यो भने कसैले सवारीचालक अनुमतिपत्र लिएर २५ वर्ष गाडी चलाएन भने उसले केही नजाने जस्तै हुन्छ।

तस्वीर कपीराइटRSS
६. बालबालिका र राजनीति

बालबालिकाले सानैदेखि राजनीति गर्नुपर्छ भनेर म भन्दिन। तर बालबालिकाले पनि राजनीतिबारे सचेत हुनुपर्छ।

समय आएपछि आफ्नो रुचिको क्षेत्रमा जान प्रयास गर्नुपर्छ।

तर आफ्नो स्वार्थका लागि बालबालिकालाई राजनीतिमा प्रयोग गर्नु उचित होइन।

७. राजनीति सप्रिएको छ

राजनीति सप्रिए देश सप्रन्छ।

अहिले राजनीति सप्रिएको छ। तर केही छिटपुट कुराहरू भइरहेका छन्।

आफ्नो स्वार्थका लागि चन्दाका नाममा पैसा असुल्ने काम भइरहेको छ।

निर्दोष मार्ने काम गरिरहेका छन्। ती बिस्तारै पराजित हुँदै जान्छन्।

८. योग्यलाई ठाउँ दिए देश बन्छ

“मह काड्नेले हात चाट्छ” भन्ने भनाइ छ। तर राज्यको ढुकुटी चलाउनेले हात चाट्नु हुँदैन।

अहिले मैले त्यसलाई रोक्न “आफू पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न” भनेकाले देश अघि बढ्न थालेको छ।

योग्य मान्छेलाई ठाउँ दिएर आफ्नालाई च्याप्न छाड्यो भने मात्र देश बन्छ।

प्रतिक्रिया दिनुहोस्