Logo

अब गाडीमा: कविता, जोक्स अनि सायरी लेख्न नपाईने ,तुरुन्त मेट्न निर्देशन

काठमाडौँ – यातायात व्यावस्था विभागले बिहीबारबाट गाडीको पछाडि लेखिने कविता, जोक्स अनि सायरी तुरुन्त मेट्न निर्देशन दियो । बस अनि ट्रकका पछाडि लेखिने यस्ता सवारी साहित्यमा रमाउनेहरुमा यो खबरले कस्तो तरंग ल्यायो त ? शुक्रबार सिमसिमे परेको पानीले सर्वसाधारणमा चिसो झन थपिएको थियो। धुम्म परेको दिनमा पनि जडिबुटीको ग्यारेजमा एक पेन्टर गाडीमा रङ्ग रंगाउँदै थिए। त्रिपाल मुनि बसेर सेतो रङ्गको गाडीमा नीलो रङ्गको बुट्टा भर्दै गरेका उनी हुन् पेन्टर प्रविण खड्का। प्रविणले पेन्टिङ थालेको १३ वर्ष भइसक्यो। सिन्धुपाल्चोकका प्रविणले यसअघि पेप्सिकोला ग्यारेजमा लामो समय काम गरे। सानैदेखि ग्यारेजबाट काम थालेका थिए उनले। पेप्सिकोला ग्यारेजमा काम गर्दा गाडीको पछाडि विभिन्न सायरी पनि लेखिदिन्थे। सामान्य पढेलेखेका उनी गाडीमा सायरी मुस्किलले लेख्थे।

‘त्योबेला ग्यारेजमा आउने सुपर गाडीमा यस्तो जोक्स, कविता लेख्नुपर्थ्यो। राम्रोसँग त लेख्दिन थिएँ, हात काम्थ्यो । तर काम चलाउ त लेख्थें । यस्तो राम्रो त लेख्न आएन । लेख्नको लागि पढाई चाहियो,’ ब्रसले गाडी रङ्गाउँदै उनले सम्झे ‘अहिले त लेख्दिन। पहिला धेरै वर्ष अगाडी लेखियो ।’प्रविण अहिले पेन्टिङमात्रै गर्छन्। पहिला भन्दा अहिले गाडीमा त्यस्ता सायरी लेख्ने बढेको उनी बताउँछन्। उनले पेन्टिङ गर्दै गरेको गाडीमा भने नेपालको झण्डा, बबमार्लीको तस्बिर, ढोकामा वेलकम लेखिएको थियो। त्यस्ता कविता अनि फिल्मी डायलग गाडीमा लेखिएको थिएन। पहिला पेन्टरले नै गाडीमा त्यस्तो सायरी लेख्थे। पछिबाट स्टिकरको प्रयोग हुन थालेको प्रविणले बताए। ‘लेख्ने काममा त खास आर्टिस्टले गर्छ। अहिले त लेख्ने भन्दा पनि स्टिकरकै प्रयोग हुन्छ। स्टिकर हाउसमा गएर मैले जे सायरी भनें त्यसको स्टिकर दिन्छ अनि त्यहि ल्याएर टाल्ने हो । मेरो त कलर गर्ने काम हो’ नीलो रङ्गमा ब्रस चोप्दै उनले सुनाए।

करिबआधा घण्टामा २५ वर्षिया प्रविणले गाडीको रङ्ग लागाउन सक्काए। त्यतिकैमा त्यस गाडीका चालक रत्नलाल तामाङ आइपुगे। उनी काठमाडौंदेखि मन्थलीसम्मको गाडी हाँक्छन् । अरुको गाडीमा लेखिएको सवारी साहित्य पढ्दै गाडी चलाउन उनलाई खुब रमाइलो लाग्छ। ‘अब मेरो गाडीमा त म लेख्दिन तर अरुको गाडीमा लेखेको सायरी पढ्न चाहिँ रमाइलो लाग्छ । मार्मिक कुरा पनि हुन्छ नि त्यसमा । एउटा गाडिमा लेखेको थियो त, गाउँको कथा शहरीयालाई के थाह, शहरको कथा गाउँलेलाई के थाह, कतारमा बस्ने रामलाई शिताको के थाह’ उनले सुनाए।

१५ वर्षदेखि गाडी चलाउँदै आएका रत्नलाल गाडीमा लेखिने कति साहित्य वास्तविक हुने तर्क गर्छन्। ‘अब सबैले पढ्ने कुरा हो त्यो । त्यहि भएर खासै नराम्रो कुरा त लेखेको हुँदैन । वास्तविक कुराहरु लेख्या हुन्छ । कसैलाई परेको दु:खको कुरा लेखेको हुन्छ । अरुले पढोस् भनेर लेखेको कति नारा त मार्मिक पनि हुन्छ। त्यो सायरी कसैको सुख दु:खसँग मिलेको पनि हुन्छ होला । जिवनको व्यथासँग मिलेको पनि हुन्छ’ उनले भने। गाडी/ट्रकको पछाडि लेखिने साहित्यलाई अक्सर किशोरकिशोरीहरुले मन पराउने गरेको उनी बताउँछन्। गाडी पर पुग्दासम्म पनि त्यहि साहित्य पढेर हाँसिरहेका हुन्छन् किशोरकिशोरीहरु।

अहिले त्यस्तो सवारी साहित्य मेट्न निर्देशन दिएको छ नि ?

उनले जवाफमा भने ‘मैले चलाउने गाडीमा त भगवानको नाम चाहिँ लेखेको छ । टुर एण्ड ट्राभल पनि लेख्न नपाइने हो? प्रश्न गर्दै थपे ‘हामी गाडी लाइनको मान्छेलाई त सबैले हेप्ने भन्या। मेरो काम त गन्तव्यसम्म पुग्ने हो, गन्तव्यदेखि गन्तव्यसम्म आउने हो ‘ । उनलाई सवारी साहित्य मेट्न निर्देशन दिएको खबरबारे खासै थाह थिएन। २६ वर्षका हुँदा उनले गाडी चलाउन थालेका थिए। रत्नलाल सामाजिक सञ्जाल फेसबुकले गर्दा पनि सायरी लेख्ने बढेको बताउँछन्।

ग्यारेजको हिलो छिछोल्दै अर्को गाडी ग्यारेज छिर्‍यो। चालक अभिषेक थापा गाडीबाट निस्कँदै रत्नलालको कुरामा थप्छन् ‘यस्तो लेख्या हुन्छन् नि, पापी पेटको सवाल छ, जता हेर्‍यो त्यो त बबाल छ, यो त नराम्रो होइन नि ।’उनलाई सायरी हटाउन निर्देशन दिएको कुरा खास चित्त बुझेन छ । बनेपा बस्दै आएका उनी रामेछापको गाडी चलाउँछन् । ४ वर्ष भयो उनले यो पेसा अंगालेको। २८ वर्षिय थापाले उमेरले पनि गाडिमा लेखिने साहित्यमा फरक पार्ने बताउँछन्। उनले भने ‘अहिले सायरी लेख्ने धेरै चलेको छ । पहिला त थोत्रो गाडिमा लेख्थदैन थियो । अहिले त नयाँ गाडिमा लेख्न थालेको छ । अब उमेरले पनि फरक पार्दो रहेछ के । बुढापाकाले चलाउने गाडिमा सायरी हुँदैन । भर्खरको ट्यापेस्यापेले चलाउने गाडिमा सायरीहरु लेखेको हुन्छ’ ।

गाडी पछाडिको कति सायरी त उनलाई कण्ठै रहेछ। ‘घर बसे आर्थिक चाप विदेश गए श्रिमती टाप भनेर लेख्या हुन्छन्,’ सुनाउँदै गए ‘सायरी त हामीलाई जति कसलाई आउँछ र । लेख्न पो आउँदैन त । फरक्क फर्कि नहेर कान्छी हरणको तालैमा । ड्राइभर खलासी बेइमान छन् किस खाला गालैमा ।’भद्दा सायरीलाई पनि उनी सहजै सुनाउँदै थिए ‘अब कसैले पछाडि बम्पबाट हल्का दिनी मजा लिनी भनेर पनि लेखेको हुन्छ । मान्छेको सोच हो के सबै ।’

ठूल्ठूलो आवाजमा अभिषेकले सायरी सुनाउन थालेपछि १ वर्षदेखि सह-चालक भइ गाडीमा काम गर्दै आएका दिनेस राई पनि गन्थनमा थपिए। अबदेखि गाडीमा सायरी लेख्न नपाउने रे ! अभिषेकले दिनेसलाई सुनाए।

अभिषेकको कुरा भुईँमा नखस्दै दिनेसले प्वाक्क बोले ‘स्टिकर नै टाँस्न नपाउने? ‘हाम्रो नयाँ गाडि भर्खर किनेको छ । स्टिकर पनि अडर भइसक्यो । राख्न पाइँदैन हो अब । रङ हान्दैछ, खोइ अब साहुले के गर्छ’ उनी अलमलमा परे । उनी बाह्रविसेको गाडीमा सह-चालक भइ काम गर्दै आएका छन्। काठमाडौंदेखि बाह्रविसे हुइँकिने गाडीमा लेखिएको साहित्य पढ्दै यात्रा अगाडि पढ्ने गरेको उनले सुनाए। त्यतै गुड्ने गाडीमा पढेको एउटा सायरी त उनलाई याद पनि रहेछ।

‘चरीकोट मैनापोखरी जिरी, आमा लगे भाडा लगिइ छोरी लगे फिरी, लेख्या थियो कुनै गाडीमा। हाम्रो गाडीमा लेख्ने सायरी रमाइलै किसिमको थियो।’ ३० वर्षिय अर्का सह-चालक नविन श्रेष्ठ प्रश्न गर्छन् ‘खोइ के त हाँसेको, जान्छु ल, पर्खि बस फर्कि आउनेछु, भनेको पनि लेख्न नपाइन् हो’ अचम्म पर्दै सोधे। उनलाई यातायात व्यवस्था विभागले दिएको निर्देशनबारे केहि थाह थिएन। अब होस् पनि कसरी गाडीको ढोकामै उनको दिन बित्छ। थाकेको शरिरले राती आराम खोज्छ। ८ वर्षको हुँदा धादिङबाट भागेर काठमाडौं आएका नविनले शुक्रवार त्यहिँ भएको गफगाफबाट सायरी मेट्नुपर्ने खबरबारे जानकारी पाए।

यातायाता व्यवस्था विभागका महा-निर्देशक गोगन बहादुर हमाल गाडी अनि ट्रकका पछाडि लेखिने यस्ता साहित्यले दुर्घट्नामा भूमिका खेलेकाले नियन्त्रणका लागि निर्देशन दिएको बताउँछन्। ‘सवारी साधनमा लामो समयदेखि यो लेखिएको देखिएको छ। गाडी चलाउँदै गरेको ड्राइभरलाई यो पढ्न कमसेकम पनि ३० सेकेण्ड लाग्छ। अब ध्यान अर्कोतिर गर्‍यो भने दुर्घट्ना निम्त्याउँछ। त्यसैले सवारी साधनमा यस्तो लेख्न रोक लगाइएको हो’ उनले भने ‘उत्श्रृङखलता पनि हुन्छ, महिलालाई होचाएर पनि लेखेको हुन्छ। पढ्नलाई पनि लामो समय लाग्ने भएपछि यसको सडक दुर्घट्नामा भुमिका देखिएको छ। त्यसैले त्यसलाई तत्काल बन्द गर्ने निर्णय गर्‍यौं।’

‍४ वर्षदेखि गाडिको पछाडि विभिन्न कविता, जोक्स अनि सायरीको स्टिकर बनाउँदै आएका रिनेस श्रेष्ठलाई बिहिवार एकजनाले मेसेन्जरमा समाचारको लिंक पठायो, ‘ट्रक साहित्य मेट्न निर्देशन’ । एक्छिन त छक्क परेछन्। चित्त बुझेनछ, दोहोर्‍याइ तेर्‍याइ समाचार पढेछन्। ‘खोइ यो सरकाले पनि के-के गर्ने हो। त्यहि हो सायरीको काम कम हुने भयो। खासै सायरी लेख्ने मात्र त आउँदैन यहाँ। अब अडर आएपछि गर्ने काम हो सायरी त’ उनले खबर पाउँदाको अनुभव सुनाए।

सयौं गाडिमा उनले सायरीको स्टिकर टाँसिदिएका छन्। चालकले नै सायरी बटुलेर उनीकहाँ डिजाइनको पुग्थे। ठूल्ठूला गाडी चालक सायरी लेख्न चासो राख्ने गरेको उनी बताउँछन्। ‘लेख्ने भनेको त धेरै त टिप्पर अनि हात्ती गाडीहरु हुन्छ। ड्राइभरहरुले नै सायरी लेखेर आउँछ, हामी त्यहि सायरीको डिजाइन गर्छौं। डिजाइन गर्ने अनि कट गर्ने गर्छौं। कतिले सायरी लेखेर ल्याउँथे, कतिले सायरी खोज्न लगाउँथे। इन्टरनेटमा खोजेर मैले डिजाइन धेरै सायरी डिजाइन गरेको छु’ उनले सुनाए। रिनेशले विराटनगरबाट स्टिकरसम्बन्धि सबै काम सिकेका हुन्। त्यसपछि इटहरी र धरानमा काम गरेपछि जडिबुटीमा उनले आफ्नै स्टिकर हाउस खोलेका हुन्। मनकामना स्टिकर हाउसमा स्टिकर मात्र होइन फ्ल्याक्स बोर्डलगायतको काम हुन्छ।

सवारी साहित्य हटाउन निर्देशन दिएको कुरा कत्तिको सहि लाग्यो ?

‘नेगेटिभ कुरा त हटाउनु नै पर्थ्‍यो। नेगेटिभ कुरा चाहिँ अत्ति नै लेख्ने हुन्थ्यो। गाँजासम्बन्धिको स्टिकर त मलाई मन पनि पर्दैन। व्यापार हो, स्टिकर बनाउँनै पर्‍यो। कस्टमरलाई नाइँ पनि भन्न मिल्दैन,’ उनले सुनाए ‘तर पोजेटिभ कुरालाई चाहिँ त्यस्तो नगरेको भए हुन्थ्यो। भगवान सम्बन्धि सायरी हुन्छ नि। अब त्यस्तो नेगेटेभि कुराले गर्दा राम्रो सायरी पनि लेख्न नपाइने भयो त्यहि हो। राम्रो सायरीलाई पनि धक्का पर्‍यो।’

अश्लिल सायरी बोकेर आउँदा उनी त्यस्तो नराख्न सल्लाह पनि दिन्थे। तर उनीहरु मान्थेनन्। त्यसैले बाध्य भएर डिजाइन गरिदिन्थे। अहिले त राम्रै कुरा पनि लेख्न रोक लगाइयो। अहिले त उनले गाडिमा त्यस्तो साहित्य लेख्न पनि छोडिदिएका छन्। कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्