दुर्लभ संयोगको दिन आमलकी एकादशी, अमलाको रुखमा भगवान विष्णुको बास !
हिन्दू पञ्चाङ्ग अनुसार महिनाको दुई पटक आउने एघारौं तिथिलाई एकादशी भनिन्छ । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी भन्नाले अमला नाम गरेको जंगली वनष्पतिलाई जनाउँदछ । आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् बिष्णुको रुप सम्झेर पूजा गरिन्छ । त्यहि भएर हिन्दू परम्परामा आमलकी एकादशीको पनि अन्य एकादशीझैं विशेष महत्व छ । बिष्णु पुराणमा उल्लेख भए अनुसार भगवान् बिष्णुले थुक्ने क्रममा वहाँको दिव्य मुखभित्रबाट चन्द्रमाझैं देखिने एउटा आकृति प्रकट भयो । उक्त चन्द्रबिन्दु आकाशलोक हुँदै पृथ्वीमा झर्यो ।
पृथ्वीमा झरेको उक्त वस्तु बिज छेदन भई आमलक अर्थात अमलाको बिरुवाका रुपमा पलायो र पछि रुखको रुप धारण भयो । त्यहि बेलादेखि अमलालाई बिष्णु अवतार सम्झिएर धार्मिक कार्यमा समेत चलाउने गरी पवित्र फलका रुपमा स्विकार गरियो । यहि कारण पूजादि कार्यमा अमलाको पात, हाँगा र फललाई प्रयोग गरिंदै आएको हो । पवित्र फल अमलालाई जटिबुटी दवाईका रुपमा समेत प्रयोग गरिन्छ । आयुर्वेदमा त्रिफला मध्येको एउटा महत्वपूर्ण फल अमला हो । यसको नियमित सेवनले शरिरका धेरै विकारहरु नाश हुने भनाई छ । यसको स्वाद अमिलो हुने भएकोले पनि नाम अमला राखिएको जनविश्वास छ ।
आमलकी एकादशी व्रतको प्रभावले समस्त पापहरु नाश हुने धार्मिक विश्वास रहेको छ । यस एकादशी व्रत गर्नाले एकसय गाई दान गरेसरह फल प्राप्त हुने बताइएको छ । भगवान् श्री बिष्णुको मुखबाट उत्पति भएको अमलाको रुखको पूजा गर्नाले विशेष धार्मिक फल प्राप्त हुने धार्मिक मान्यता छ । विभिन्न कारणले आमलकी एकादशीको व्रत बस्न नसकेका व्यक्तिहरुले यस एकादशीको स्मरण मात्रै गरे पनि पुण्य प्राप्त हुनेछ । भगवान् बिष्णुलाई समेत अत्याधिक प्रिय लाग्ने अमला खाँदा तीन गुणा धेरै शुभ फल प्राप्ति हुने शास्त्रिय भनाई छ । खासमा स्वर्ग र मोक्ष फलका लागि आमलकी एकादशीको व्रत बस्नु उचित मानिएको छ ।
आमलकी एकादशीको व्रत लिनेले सवेरै स्नान गरी भगवान् बिष्णुको मुर्ति तयार पारी हातमा तिल, कुश र पैसाले पानी समातेर संकल्प गर्नु पर्दछ । त्यसपछि अमलाको बोटको वरिपरि सफा सुग्धर गरी गाईको गोबरले लिपेर शुद्ध पारी अमला बृक्षको पूजा गर्नु पर्दछ । त्यसरी पूजागर्दा अमलाको रुखको जरा छुनेगरी वेदी बनाउनु पर्दछ र त्यहाँ कलश स्थापना गर्नुपर्दछ । उक्त कलशमा सुगन्ध तथा पञ्चरत्नहरु समेत राख्ने गरिन्छ । कतिपयले भगवान् बिष्णुको छैठौं अवतार पर्शुरामको प्रतिमा पनि स्थापना गर्दछन् । यसोगर्दा बिष्णु प्रसन्न भई मोक्ष प्राप्तिको बाटो खुल्छ भन्ने विश्वास रहेको छ ।
एक नगरका सवै बासिन्दाहरु भगवान् बिष्णुका भक्त थिए । उनीहरु सवैले हरेक एकादशी व्रतको नियमित पालना गर्दथे । एकपटक आमलकी एकादशीकै दिनमा सबैजना व्रत बसि मन्दिरमा जाग्राममा थिए । रातीको समय भएकाले एउटा धेरै हिंस्रक र असहिंष्णु भोको शिकारी पनि शिकार खोज्दै खोज्दै त्यहाँ आइपुग्यो । शिकारीले मन्दिरमा पर्याप्त खानेकुरा देख्यो तर धेरै मानिस भएका कारण उसले भोजन चोरेर भए पनि खाने सोच गर्यो तर सकेन । उसले भोजनकै लागि भए पनि त्यो रात बिष्णुका भक्तहरुसंगै जागै बस्ने निर्णय गर्यो । भोलीपल्ट बिहान भएपछि शिकारी सहित सवै भक्तजनहरु आ९आफ्नो घर फर्किए । समय बित्दै जाँदा शिकारीको अचानक मृ्त्यु भयो । तर शिकारीले नजानिकनै भए पनि आमलकी एकादशीको ब्रत गरेको थियो ।
त्यहि भएर मरे पनि सवै पापहरु नास भई उक्त शिकारीलाई पुण्य प्राप्त हुन गयो । उसको पुर्नजन्म एउटा राजकीय खानदानमा भयो । ऊ असाध्यै वीर, धार्मिक, सत्यवादी र विष्णुभक्त राज सदस्यका रुपमा देखा पर्यो । दान धर्मादि कार्यमा उसको तीब्र रुचि देखिएको कुरा हाम्रो पात्रोमा खबर छ । समय वित्दै जाँदा उ राजपरिवारको सदस्यका नाताले शिकार खेल्न गयो तर उ डाकाहरुको चंगुलमा पर्यो । हातहतियार सहितका डाकाहरूले उसलाई मार्ने तयारी गर्न थाले । उसलाई विभिन्न हतियारले डाकाहरुले प्रहार गर्न थाले । तर कुनै पनि हतियारले उसलाई केहि चोट पुर्याउन सकेन । अझ शस्त्रहरु प्रहार गर्न थाले तर डाकाहरूको प्रहारबाट आफुमा कुनै असर नपरे पछि उसलाई अचम्म लाग्यो ।
अझ पछि त डाकाहरू उसलाई आक्रमण गर्न छाडेर आफूआफूमै झगडा र आक्रमण गर्न थाले । त्यहिबेला एक अलौकिक शक्ति प्रकट भयो र उक्त शक्तिका कारण सवै डाकाको मृत्यू भयो । उसले अलौकिक शक्तिसंग सोध्यो९ मेरो रक्षा गर्ने को हो रु जवाफमा९ पुर्वजन्मको आमलकी एकादशी व्रतको प्रभावले तेरो रक्षा भगवान् बिष्णुले गर्नुभयो भन्दै आकाशवाणी भयो । यस्तो कुरा सुनेर उ सारै बिष्णु भगवान् प्रति झन धेरै कृतज्ञ बन्यो र सदा लागि बिष्णुभक्त भई समर्पित बनेको पौराणिक कथा रहेको छ । यसै कथाका आधारमा अहिले पनि आमलकी एकादशीको व्रतको प्रभाव र महत्व जाज्वल्य रहेको छ ।
अर्को मान्यता अनुसार जसरी भगवानहरुमा बिष्णु पुज्यनीय छन्, त्यसैगरी फलहरुमा अमला पवित्र र पुज्यनीय मानिएको छ । बिष्णुले जव सृष्टिको रचनाका लागि ब्रम्हालाई पुकारा गर्नुभयो, त्यहि बेला अमलाको रुखको उत्पति भएको मानिन्छ । भगवान् बिष्णु स्वयंले पनि अमलालाई आदि बृक्षका रुपमा प्रतिष्ठापित गर्नु भएको धार्मिक ग्रन्थहरुम उल्लेख भएको पाइन्छ ।