Logo

कोरोना संक्रमित आए अस्पतालमा भागाभाग हुने स्थिति छ’, सरकारले २/४ हजार संक्रमित देखिए

विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि सरकारले एकपछि अर्को निर्णय गर्दैछ । आवात जावतमा रोक लगाउनेदेखि क्वारेन्टाइन स्थल, आईसीयू बेडहरु बनाउने निर्णय भएको छ । र, सरकारले २/४ हजार संक्रमित देखिए पनि महामारीका रुपमा फैलिन नदिने गरी काम भइरहेको बताएको छ ।

तर त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर (आईसीयू) विभाग प्रमुख डा. सुवास आचार्य सरकारको पूर्व तयारीप्रति सन्तुष्ट छैनन् । अस्पताल आधारित तयारीमा ससाना तर महत्वपूर्ण तयारी नगरेर सबैले आईसीयूमा मात्र जोड दिएको भन्दै आचार्य भन्छन्, ‘सत्य बोल्दा नराम्रो सुनिएला, तर यही अवस्था रहिरह्यो भने भयावह अवस्था आउँछ । कोही कोरोना संक्रमित आए स्वास्थ्यकर्मीहरुको भागाभाग हुने स्थिति हुन्छ ।’

प्रस्तुत छ, डा. आचार्यसँग अनलाइनखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंशः

विश्वभर कोरोनाको त्रास बढिरहँदा तपाईंले नेपालको तयारी कस्तो देख्नु भएको छ ?

अहिले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनालाई विश्वव्यापी महामारी भनेर घोषणा गरेको छ । संक्रमणको दर र अन्य देशमा फैलिने क्रम बढ्दो छ । इटाली र अमेरिका जस्ता देशहरुले यसलाई नियन्त्रण गर्न सकेका छैनन् । जनशक्ति र उपकरणहरु धान्ने अवस्थामा छैनन् । ती देशहरुमा तयारी नपुगेको प्रष्ट देखिन्छ ।

यो सब देख्दादेख्दै हाम्रो देशमा कोरोना संक्रमण भएको छैन भनेर चुप लागेर बस्ने अवस्था छैन । जति नै तयारी गरेपनि यस्तो महामारीको बेला पर्याप्त हुन्न । त्यसैले हामी सबैभन्दा बढी डराउनु पर्ने अवस्थामा छौं ।

सरकारको अधिकांश निकाय अहिले पूर्वतयारीमै जुटेको देखिन्छ, यो सक्रियता देख्दादेख्दै हामी डराउनु पर्ने अवस्था छ र ?

बाहिरबाट हेर्दा सरकारले निकै सक्रियता देखाएको देखिन्छ । दिनहुँ मिटिङ भइरहेको छ । अनेकौं निर्णय भइरहेका छन् । एकपछि अर्को निर्णय गर्नु सकारात्मक हो ।

तर मुख्य समस्या भनेको सबै निर्णय कागजमै सीमित भयो । र, हामी ढुक्क हुने भनेको कोरोना संक्रमण नहुञ्जेल मात्रै हो ।

संक्रमण देखियो भने हामीले केही तयारी गरेको रहेनछौं भन्ने अवस्था आउँछ । किनकी जे जति निर्णय गरेपनि संक्रमण फैलिएको देशबाट आएकाहरु कहाँ के गर्दैछन् भन्ने समेत सरकारलाई थाहा छैन । जबकी उनीहरुलाई त क्वारेण्टाइनमा राख्नु पर्ने हो, बाहिर हिँडडुलमा प्रतिबन्ध लाउनु पर्ने हो । तर विदेशबाट आएकाहरु यसरी हिँडडुल गर्दा कसैले भाइरस सार्‍यो भने अवस्था कस्तो होला भनेर अहिले नै रोक्नुपर्ने हो । तर त्यो केही भएको देख्दिनँ ।

यो अवस्थामा हुनुपर्ने के थियो र के भइरहेको छ ?

म एउटा उदाहरण दिन्छु, कसैलाई ज्वरो र रुघाखोकी देखियो भने त्यो बिरामी कहाँ जाने ? अहिलेसम्म कहाँ र कसरी जाने एकिन छैन ।

सरकारले हरेक अस्पताललाई ‘फिभर क्लिनिक’ खोल भनेको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमै हेर्नुभयो भने एउटा टेन्ट टाँगेर क्लिनिक राखिएको छ । त्यहाँ कोरोनाको आशंका भएको बिरामी पुग्यो भने त्यहाँ कार्यरत चिकित्सकले के लगाएर जाँच्ने ? ‘पर्सोनल प्रोटेक्टिभ इक्युपमेन्ट’ (पीपीई) छैन । यहाँ मात्र होइन, अन्य अस्पतालमा पनि छैन । स्वास्थ्य मन्त्रालयले पीपीई छ भन्छ भने अस्पतालहरुलाई दिनुपर्‍यो नि । छैन भने अर्को उपाय अपनाएर ल्याउनुपर्‍यो ।

सरकारले कोरोनाको लागि भनेर पाँच वटा अस्पताल निर्धारण गरेको छ । यो राम्रो निर्णय हो । तर कसैलाई संक्रमणको आशंका लाग्यो भने अस्पतालसम्म कसरी जाने ? सार्वजनिक यातायात चढेर जाने हो ? त्यसो हुँदा त त्यो गाडीमा भएका अरु मानिसहरुलाई पनि संक्रमण सर्ने डर हुन्छ ।

कुनै व्यक्तिलाई कोरोनाको आशंका भयो भने अस्पतालसम्म कसरी जाने भनेर सरकारले प्रोटोकल बनाइसक्नुपर्थ्यो । जस्तो कि कोरोना आशंका भएका बिरामी बोक्न छुट्टै एम्बुलेन्स ‘स्ट्याण्ड बाई’ हुनुपर्थ्यो । तर हामी कहाँ अहिले पनि कसैलाई संक्रमणको आशंका भयो भने आफैं अस्पताल पुग्नुपर्छ ।

तपाईंलाई कोरोना संक्रमणको आशंका लाग्यो भने एम्बुलेन्स बोलाउन छुट्टै सम्पर्क नम्बर खोई ? एम्बुलेन्समा खटिने चालक तथा स्वास्थ्यकर्मीलाई पीपीई खोई ? अस्पताल लागिसकेपछि उनीहरुलाई छुट्टै जाँच्ने स्वास्थ्यकर्मी खोई ? एउटै डाक्टरले कोरोनाको पनि बिरामी जाँच्ने, अर्को पनि बिरामी जाँच्ने हो ? नमूना परीक्षण गर्न पठाएकाहरुलाई छुट्टै क्वारेण्टाइनमा राख्ने व्यवस्था हुनुपर्छ । क्वारेन्टाइनमा राख्दै गर्दा पनि अस्पताल चाहिने अवस्था आयो भने अस्पताल पठाउने व्यवस्था खोई ? अस्पतालमा राख्दा पनि गम्भिर अवस्था आयो भने आईसीयूमा खोई ?

हामीले काम गर्नुपर्ने यसमा थियो । तर सबैको ध्यान आईसीयूमा मात्रै भयो । कुनै पनि कोरोनाको विरामीलाई आईसीयूमा लैजानुअघि गर्नुपर्ने सुरुवाती तयारी नै भएन । अस्पताल कसरी पुग्ने ? कसरी जाँच गर्ने ? एम्बुलेन्स चालक तथा स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने भन्नेमा पूर्वतयारी गर्नुपर्‍यो ।

धेरै अस्पतालमा धेरैभन्दा धेरै आईसीयू बनाउने निर्णय कसरी बेठिक भयो त ?

पूर्वतयारीको सुरुवाती चरणको काम नगरी सीधै आईसीयूमा मात्रै जोड दिँदा कोही कोरोना संक्रमित बिरामी देखियो भने सबै अस्पतालमा भागाभाग हुन्छ । त्यो स्वाभाविक पनि हो । किनकी स्वास्थ्यकर्मीसँग पीपीई नै छैन भने ज्यान जोखिममा राखेर उसले किन उपचार गर्छ ? कम्तीमा सुरक्षा सामाग्री त चाहियो नि ।

चिकित्सकहरुलाई पीपीई दिइएन भने त उनीहरु उपचार गर्न मान्दैनन् । एम्बुलेन्स चालकले पीपीई पाएन भने संक्रमणको आशंका गरेका बिरामी बोक्न मान्दैन । किनकी युद्ध लड्न जान त हतियार चाहियो नि, लौरो बोकेर कहिँ युद्ध जितिन्छ ? हतियार नदिई राज्यले युद्धमा पठाउन नैतिकताले पनि दिँदैन ।

मानौं, तपाईं कोरोनाको संक्रमणको आशंकामा मसँग जचाउन आउनुभयो । तपाईंमा संक्रमण रहेछ, तर मैले पीपीई नलगाई जाँच गरेँ भने म मात्र होइन, मसँग जँचाउन आउने सबै बिरामीलाई पनि सर्छ । त्यसैले आईसीयू सँगसँगै अरु तयारी पनि गर्नुपर्छ भनेको हो ।

यद्यपि अहिले सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडान बन्द गर्ने, भीडभाड कम गर्ने राम्रो निर्णय गरेको छ । दुई हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय पनि स्वागतयोग्य छ । स्वास्थ्य, खाद्यान्न र आपूर्तिबाहेक सबै बन्द गरे हुन्छ । अस्पतालमा आधारित तयारी भने अहिले पनि पुगेको छैन ।

उसो भए जुन तरिकाले तयारी गरिएको छ, त्यो भएन ?

कागजमा त भयंकर देखियो, तर कार्यान्वयन शून्य ।

मैले अघि नै भनेँ नि सुरुमा आशंका गरिएका बिरामीलाई अस्पतालसम्म कसरी लैजाने त्यो तयारी हुनुपर्‍यो । त्यसपछि जाँच्ने चिकित्सक र एम्बुलेन्सका चालकलाई पीपीई अनिवार्य उपलब्ध गराउनु पर्‍यो । नमूना संकलन गरेपछि आशंकित संक्रमितलाई राख्ने छुट्टै क्वारेन्टाइनस्थल हुनुपर्‍यो । क्वारेन्टाइन स्थलमा बस्दा सिकिस्त विरामीलाई राख्न पहिले अस्पताल चाहियो, अनि मात्र आईसीयू चाहिन्छ । प्रारम्भिक काम नगरी आईसीयू आईसीयू मात्र भनेर दौडिँदा कोही संक्रमित भेटिए भने यस्तै गल्तीले धेरै मानिसमा संक्रमण फैलिन सक्छ ।

धेरै अस्पतालमा उपचार गराउँदा चाहिँ के कठिनाइ हुन्छ ?

अहिले टेकु अस्पतालमा दैनिक साढे २ सय जति अन्य रोगका बिरामी जान्छन् । त्यो अस्पतालमा कोरोना संक्रमणको बिरामी राख्यो भने त्यहाँ अन्य बिरामीलाई संक्रमण हुन्न भन्ने के ग्यारेण्टी ? पाटन र वीर अस्पतालमा पनि कोरोना संक्रमणका बिरामी राख्ने तयारी छ । र, २०/२० वटा आईसीयू बनाउने भनिएको छ । तर यदि नेपालमा कोरोना भाइरस देखियो भने यो निर्णय निकै घातक हुन्छ । किनकी त्यहाँ अन्य रोगका बिरामी धेरै पुग्छन् ।

त्यसैले कोरोनाको उपचार गर्ने छुट्टै अस्पताल बनाउनुपर्छ । मैले रातारात नयाँ अस्पताल बनाउनुपर्छ भनेको होइन । हामीसँग भएका अस्पताललका अरु बिरामी अन्यत्र सारेर त्यहाँ कोरोनाको मात्र उपचार गर्ने व्यवस्था गर्नुपर्छ । त्यसो हुँदा अन्य मानिसहरुलाई संक्रमण फैलिने डर हुँदैन । यसका लागि नेपाली सेना, प्रहरीको अस्पताल, कीर्तिपुरको आयुर्वेद अस्पताल वा अरु कुनै अस्पताल छनोट गरौं र त्यहाँ भएका विरामीलाई अन्यत्र सारौं ।

तपाईंले भनेजस्तै एउटा अस्पतालको बिरामी अर्को अस्पतालमा सारेर कोरोनाको मात्रै उपचार गराउने बनाउन व्यवहारिक होला ?

सरकारले चाह्यो भने सबै बिरामीलाई एकै दिनमा सार्न सकिन्छ । यसो गर्दा आईसीयूका बिरामीलाई अलिक गाह्रो होला । तर गर्नुपर्ने यही हो । सबै अस्पतालमा कोरोनाको बिरामी पुर्‍याउनु भनेको अर्को ठूलो दुर्घटना निम्त्याउनु हो ।

कीर्तिपुरको आयुर्वेद अस्पताल त ओपीडी मात्रै हो । त्यहाँ कोही विरामीलाई भर्ना गरेर राखिँदैन । त्यहाँ तीन वटा ब्लक छन् । सरकारले चाह्यो भने त्यहाँ क्वारेन्टाइन र आईसीयू बनाउन सक्छ । अन्य खाली भवन र केही मेडिकल कलेजहरुमा पनि कोरोनाको बिरामी राख्न भनेर बेडहरु थप्न सकिन्छ ।

आईसीयू बेड तुरुन्तै तयार गर्न सकिन्छ ?

अहिले धेरैले नबुझेको कुरा यही हो । सबैको ध्यान आईसीयूमा छ । यो गलत हो । पाँच सय जना संक्रमित भए भने २५ जनालाई मात्रै आईसीयू चाहिन सक्छ । त्यसैले अहिले हामीले पाँच सय संक्रमितलाई कुन अस्पतालमा राख्ने, कसरी अस्पतालसम्म पुर्‍याउने भन्नेमा ध्यान दिनुपर्छ । उनीहरुको उपचार गर्ने स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने भन्नेमा पूर्वतयारी गर्नुपर्छ ।

यतिबेला हाम्रो काम अस्पतालहरुमा भेन्टिलेटर हाल्ने होइन । किनकि तत्काल त्यो सम्भव छैन । विदेशी कम्पनीले अहिले भेन्टिलेटर पठाउन असम्भव छ । त्यसैले हामीसँग भएका स्रोत उपयोग गर्नुपर्छ । भएका स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

आईसीयूमा काम गर्ने चिकित्सकहरुलाई तालिम दिन भनेर हामीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव हालेका छौं । सरकारले स्वास्थ्यकर्मीहरु पठायो भने इन्फेक्सन कन्ट्रोल र आईसीयूको तालिम हामी दिन्छौं । खोइ यो काममा ध्यान दिएको ?

यस्तो तयारीले स्वास्थ्यकर्मीहरुमा कस्तो सन्देश जान्छ ?

सत्य बोल्दा नराम्रो सुनिएला तर यही अवस्था रहिरह्यो भने भयावह अवस्था आउँछ । स्वास्थ्यकर्मीहरुको भागाभाग हुने स्थिति हुन्छ । मसँग पीपीई छैन र यही अवस्थामा कोही संक्रमित बिरामी आयो भने उसलाई कसरी जाँच्ने ? मसँग गाउन र एन नाइन्टी फाइभ मास्क छैन भने म कसरी बिरामी जाँच्न जान्छु ? म मेरो कर्मचारीहरुलाई कसरी बिरामी जाँच भनेर निर्देशन दिन सक्छु ? एम्बुलेन्स चालकले आफ्नो सुरक्षाको ग्यारेण्टी बिना कसरी बिरामी ल्याउँछ ?

त्यसैले म फेरि पनि भन्छु, अहिले संक्रमण देखिएको छैन र हामी पूर्व तयारी भइरहेको छ भनिरहेका छौं । यदि संक्रमण फैलियो र पीपीई लगायतका सुरक्षा किटहरु पनि उपलब्ध भएन भने चिकित्सकहरु भाग्नु बाहेक अर्को विकल्प छैन ।

अझै पनि समय छ, कोरोनाको उपचार गर्नका लागि छुट्टै अस्पतालको व्यवस्था गरौं । यो टेकु, पाटन वा वीर भनेर नबसौं । आशंकित विरामीलाई कसरी अस्पतालसम्म लैजाने, कसरी उपचार गर्ने भन्ने छिटो निर्णय गरौं । नभए भागाभागको स्थिति हुन्छ ।

यो त अलि निराशावादी कुरा भएन र ?

मैले यस्तो भन्दा सरकारले काम नगरेको जस्तो सुनिन्छ । काम नगरेको होइन, लगातार मिटिङ भइरहेको छ, निर्णयहरु भएका छन् । तर संक्रमण फैलियो भने के हुन्छ र कसरी काम गर्ने ? भन्ने कार्ययोजना नै छैन । को चिकित्सकहरु कसरी खटिने ? कहाँ खटिने ? धेरै वटा अस्पतालमा बिरामी राख्ने भनेर हुन्छ ? क्षमता र पूर्वतयारी अध्ययन गर्नु पर्दैन ?

कहाँनेर गल्ती भयो, जसको कारण पूर्वतयारी पर्याप्त भएन ?

पूर्वतयारी नगर्नु नै सरकारको ठूलो गल्ती हो । एक महिना अगाडि नै हामीले पीपीई चाहिन्छ भनेका थियौं । तर उहाँहरुले ध्यान दिनुभएन । अहिले पनि केही अस्पताल खाली गरेर कोरोनाको लागि छुट्टै बेड तयार गरौं भनिरहेका छौं । उहाँहरुले सुन्नु भएको छैन । यस्ता काम भएकै छैन भने हामी स्वास्थ्यकर्मीहरु कसरी ढुक्क भएर काम गर्नु ? जनताहरु कसरी ढुक्क भएर बस्नु ?

हामीलाई यतिबेला डाक्टर र नर्स होइन, पीपीई चाहिएको छ । त्यो खोई ? केही प्रभावकारी औषधि चाहिएको छ । त्यो खोई ? यस्ता ससना तर महत्वपूर्ण काममा ध्यान नदिने, अनि तयारी अवस्थामा छौं भनेर मात्र हुन्छ ? अहिले स्वास्थ्य मन्त्रालयमा पीपीई कसले व्यवस्थापन गर्ने भनेर सोध्दा एकले अर्कोलाई देखाउँछन् । यसरी कसरी चल्छ ? माथिल्लो लेभलका मानिसहरु मात्रै सिरियस भएर हुन्छ ? काम पनि हुनुपर्‍यो ।

त्यसो भए हाम्रो पूर्वतयारी कुन अवस्थामा छ ?

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नेपालमा फैलिन्न भन्नु मुर्खता हो । ढिलो चाँडो फैलिन्छ । त्यसैले हामीले पूर्वतयारी राम्रोसँग गर्नुपर्छ, जसको समय पनि पाएका छौं । यहाँ हामी भन्नुको मतलब सरकार मात्र होइन, हरेक नागरिक हो, हरेक संस्था हो । सबैले आफूले सक्ने तयारी गरिसक्नुपर्छ ।

तर हामीसँग न त तयारी छ, न क्षमता । आजको दिनमा मैले यति भन्न लाज मान्नु हुन्न । २/४ वटा अस्पतालमा १/२ सय बेड तयार पार्दैमा कोरोना नियन्त्रण गर्न सकिन्न । अरु देशमा के भइरहेको छ, त्यो हेरेर तयारी गर्नु पर्दैन ? खोई अरु देशको अवस्था हेरेर सिकेको ? पूर्व तयारीमा ध्यान दिएको ? न स्किल्ड म्यानपावर छ । न त छुट्टै अस्पताल । अब तपाईं आफै भन्नुस् हामी कुन अवस्थामा छौ ?

सरकारलाई सहयोग गर्न हामी नागरिक र स्वास्थ्यकर्मीले के गर्ने त ?

हामी जनताहरुले गर्ने तयारी भनेको भिडभाड नगर्ने, सेल्फ क्वारेन्टाइनमा बस्ने, कतै जानु पर्‍यो भने पनि निश्चित दुरी कायम गर्ने र साबुन पानीले बारम्बार हात धुने हो ।

त्यसैगरी स्वास्थ्यकर्मीले गर्ने तयारी भनेको आफैं भोलेन्टियरको काम गर्ने, कोरोनासँग सम्बन्धित उपचार कसरी गर्न सकिन्छ पढ्ने, बुझ्ने र सत्य तथ्य जानकारीहरु जनताहरुलाई दिने हो । मुख्य काम त सरकारले नै गर्ने हो । सरकारले गर्नुपर्ने काम गर्‍यो भने त नागरिकहरुले आफ्नो काम गरिहाल्छन् नि ।

अनलाइनखबर बाट

प्रतिक्रिया दिनुहोस्