Logo

फिनल्यान्डको राजदुर र युनेस्कोको प्रतिनिधि काठमाडौं महानगरपालिकाको ‘सिप मेला’को अवलोकन भ्रमणमा

काठमाडौं– काठमाडौं महानगरपालिकामा सञ्चालन भइरहेको ‘सिप मेला’को अन्तर्राट्रिय प्रतिनिधिहरुले गरेका छन् । मंगलबार फिनल्यान्डका राजदूत रीना–रीक्का हेक्का र युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सिप मेलाको अवलोकन भ्रमण गरेका हुन् ।

अवलोकनको क्रममा ‘सिप मेला’ ले नेपाली युवाहरुलाई स्वरोजगार बन्नका प्रोत्साहित गरेको र रोजगार बन्न क्षमता विकास गरेको महसुस गरेको नेपालका लागि फिनल्याण्डका राजदूत हेक्काले बताइन् । व्यक्तिमा व्यवसायिक सिप प्रदान गरेर आत्मनिर्भर हुन सक्ने बनाउनु महत्वपूर्ण काम हो । उनले ‘सिप मेला’सँगै ‘शिक्षामा सिप’ कार्यक्रमले उद्योग, रोजगार र स्वरोजगारका क्षेत्रमा महत्वपूर्ण र दीर्घकालीन नतिजा दिने बताइन्।

महानगरपालिकाले सञ्चालन गरेको शिक्षकको क्षमता विकास कार्यक्रममा आफूहरु सहकार्यका लागि तयार रहेको राजदूत हेक्काको भनाइ थियो ।

राजदूत हेक्काले प्रशिक्षार्थीहरुसँग तपाईँको के सपना थियो? तालिमले त्यो सपना कसरी पूरा गराउँछ भनेर अन्तरक्रिया गरेकी थिइन् । । त्यस क्रममा प्रशिक्षार्थीहरुले महानगरपालिकाले आफूलाई निःशुल्क तालिम दिएपछि महानगरपालिकाले गरेको लगानी आफू स्वरोजगार भएर फिर्ता गर्ने सपना रहेको बताए ।

यस्तै युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले काठमाडौं महानगरपालिकासँगको रचनात्मक सहर सञ्जालको कुरा गर्दै यससँगै शैक्षिक र ज्ञानको संस्थागत विकासका लागि काम गर्न इच्छुक रहेको बताएका छन् । टुँडिखेलमा सञ्चालन भइरहेको ‘सिप मेला’ को अवलोकनका क्रममा उनले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसँग कुरा गर्दै यस्तो इच्छा व्यक्त गरेको हुन् ।

‘चलचित्र सहर’का कार्यक्रमभित्र पनि विद्यालय शिक्षामा काम गर्न सकिन्छ । यसका अतिरिक्त सहकार्यमा थप कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ । क्रफ्टले भने, ‘रचनात्मक उद्योग पहिचान, विकास र विस्तारका लागि काठमाडौँसँग धेरै सम्भावना छन् । यी सम्भावनाहरुलाई महानगरपालिकाको पहिचान, गौरव र समृद्धि वृद्धिसँगै स्थानीयबासीको जीवनस्तर सुधारसँग जोडेर लैजानुपर्छ ।’

कुराकानीका क्रममा उपाध्यक्ष राजभण्डारीले महानगरपालिकाले सिपलाई स्वरोजगारसँग जोड्ने काम लाई प्राथमिकता दिएको बताए । उनले भने, ‘सिप मेला हाम्रो प्रस्थान बिन्दु हो । ज्ञान तथा सिपको अद्यावधिक गराउने, सिपलाई रोजगार र स्वरोजगारसँग जोड्ने यसभन्दा धेरै योजना कार्यान्वयन गर्ने योजनामा छौँ ।’ अवलोकनका क्रममा स्कप्चर र चित्रकला प्रशिक्षणका बारेमा क्रफ्टले चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्