Logo

बोक्सी आरोपमा राधामाथि निर्घात कुटपिट गर्ने बाबालाई पाँच वर्ष कैद

बोक्सी आरोपमा राधा चौधरीलाई निर्घात कुटपिट गर्ने भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीले पाँच वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको छ।न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले घोडाघोडी नगरपालिका-५ देउकलियाकी २० वर्षीया राधालाई बोक्सी भन्दै कुटपिट गर्ने सोही ठाउँका रामबहादुरलाई  पाँच वर्ष कैद र एक लाख जरिवाना भराउने फैसाला गरेको हो। चौधरीका सहयोगी किस्मती चौधरीलाई एक वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको छ।

त्यसैगरी, युवतीलाई यातना दिने घटनाका सहयोगी स्मारिका चौधरीलाई ६ महिना कैद र २५ हजार जरिवानाको फैसला भएको छ। भोलेबाबाका सहयोगीको आरोपमा पक्राउ परेका स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई अदालतले सफाई दिइएको छ। कुटपिट गरेको भन्दै छजनाविरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको थियो। राधालाई अन्तर्राट्रिय महिला दिवसकै दिन अर्थात् फागुन २४ गते बोक्सी भन्दै रामबहादुरले घण्टौंसम्म निर्घात कुटपिट गरेका थिए।

अन्नपुर्ण पोस्टबाट 


प्रतिक्रिया दिनुहोस्