Logo

भगवान्, छोरालाई फाँसीबाट सकुशल फर्काइदेऊ’

‘भगवान्, छोरालाई फाँसीबाट सकुशल फर्काइदेऊ । उसलाई फाँसी दिइँदै छ भन्ने सुनेका छौं । कोही हुनुहुन्छ भने छोरो बचाइदिनुस् । ऊ हाम्रो एउटै छोरो हो ।’
महोत्तरीको औरही नगरपालिका—१ की गीतादेवी चौधरी र श्यामकिशोर चौधरीले घरमा पुग्नेहरूसँग गर्ने बिलौना हो यो । बिलौना गरिरहँदा उनीहरू कतिखेर भक्कानिन्छन् त कतिखेर भगवान् पुकारिरहेका हुन्छन् ।

चार वर्षअघि वैदेशिक रोजगारीका क्रममा कतार गएका अनिल चौधरीलाई त्यहाँको अदालतले गोली हानेर मृत्युदण्ड सुनाएपछि उनको परिवार अहिले चिन्तामा डुबेको छ ।२३ वर्षीय अनिल घर फर्किन एक वर्ष मात्र बाँकी थियो । तर घर फर्किनु एक वर्षअघि नै उनी कतारी जेलमा परे । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रामजानी अल नियमियोको हत्या गरी पैसा लुटेको आरोपमा त्यहाँको अदालतले उनलाई मृत्युदण्ड दिने फैसला सुनाएको हो । उनी जेल परेको १५ महिना भइसक्यो ।

अनिललाई मृत्युदण्ड सुनाइनुअघि सामान्य झगडा हुँदा जेल परेको परिवारको अनुमान थियो । जेलमै रहँदा पनि अनिलले आफ्ना बुबाआमासँग कुराकानी गर्थे । आफूले केही नगरेको र जेलमा अनुसन्धानका लागि ल्याएको उनले घरमा भन्ने गरेका थिए । त्यसैले बुबाआमा चित्त बुझाएका पनि थिए । छोरा जेलबाट छुटेर घर आउने उनीहरूको आशा थियो ।

तर केही समययता अनिलको गाउँमा सन्नाटा छाएको छ । परिवार, इष्टमित्र, गाउँसमाज सबै चिन्तामा परेका छन् । चौधरी दम्पतीका दुई छोरी र एक छोरा छन् । दुई छोरीको बिहे भइसक्यो ।

उनीहरू आआफ्नो घर गरी बसेका छन् । आफूहरूको एउटै आशाभरोसा छोरालाई मृत्युदण्ड सुनाइएपछि बुढेसकालमा सहारा दिने लठ्ठी भाँचिएको बुबा श्यामकिशोरले बताए । ‘छोराले कमाएर पठाउँथ्यो’, उनी भक्कानिए र भने, ‘हामी बूढाबूढीको मुखमा अन्न पथ्र्यो । अब के होला हामी र हाम्रो छोराको अवस्था रु केही सोच्नै सकेका छैनौं ।’

जेलमा छोरासँग अहिले पनि कुरा हुन्छ । तर फोनमा बोलिरहँदा अनिल पनि भक्कानिन्छन् । ‘म बाँच्दिनँ, स्वदेश फर्किन पनि पाउन्नँ भन्दै फोनमा छोराले सुनाउँछ,’ बाबु श्यामकिशोरले भने, ‘त्यसैले उसको आत्मबल बढाउन मन कठोर पारेरै भए पनि हाँसेर कुरा गर्छौं । ऊसँग फोनमा कुराकानी गर्दा रुने अवस्था रहन्न । हामी नै रोयौं भने छोरो त्यत्तिकै रुन्छ ।’

त्यसैले श्यामकिशोरले अहिले पुकार गरिरहेका छन्, नेपाल सरकार र भगवान्लाई पनि । ‘सुबह(साम नेपाल सरकार र भगवान्सँग पुकारा गरिरहेको छु’, उनले भने, ‘छोरालाई जसरी पनि फर्काइदिनुस् । बरु मसँग भएको सबै धनसम्पत्ति सरकारले लेओस् । तर छोरालाई मृत्युदण्डबाट उतारिदेओस् ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्