Logo

विवाहपूर्व नै डिम्ब र शुक्रकीट सुरक्षित राख्न चाहने महिला पुरुषको सङ्ख्या बढ्दै, सम्भावित सन्तान कसरी जोगाएर राखिन्छ?

ढिलो सन्तान जन्माउन चाहने वा स्वास्थ्य समस्याका कारण वा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण डिम्ब र शुक्रकीटलाई जोगाएर राख्ने क्रम पछिल्ला वर्षमा बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।

राजधानी काठमाण्डूलगायत देशका ठूला सहरहरूमा त्यस्तो सेवा दिने सेन्टरहरू पनि विस्तार भइरहेका छन् । फर्टिलिटी सेन्टर वा आइभीएफ क्लिनिक नाम दिइएका त्यस्ता केन्द्रहरू पछिल्ला वर्षहरूमा बढ्दो सङ्ख्यामा सञ्चालनमा छन् जहाँ नि:सन्तान जोडीले सन्तान जन्माउनका लागि गरिने उपचार मात्रै नभई विवाहपूर्व नै आफ्नो डिम्ब वा शुक्रकीट भविष्यका लागि सञ्चित गरेर राख्न चाहनेहरू पनि जाने गरेका छन्।

प्रदूषणले कसरी पुरुष प्रजनन सङ्कट निम्त्याउँदैछ
पुरुष प्रजनन क्षमता: शुक्रकीटको मात्रा विश्वभरि निरन्तर घट्नुका पाँच कारण
त्यस्तो सेवा लिन पुग्ने सेवाग्राहीहरूले किन र के कारणले डिम्ब र शुक्रकीट भण्डारण गर्न चाहेका छन् भनेर हामीले काठमाण्डूमा सञ्चालित केही त्यस्ता केन्द्रमा सेवा लिइरहेका सेवाग्राहीबारे बुझेका छौँ।

तर तीमध्ये अधिकांशको अनुरोध अनुसार हामीले उनीहरूको परिचय गोप्य राखेका छौँ।

कस्ता महिला पुरुष प्रजनन क्षमता जोगाउन आउँछन्?
आइभीएफबाट जन्मिएका शिशुतस्बिर स्रोत
पहिलो केस

अस्ट्रेलियामा बस्दै आएकी २३ वर्षीया मञ्जु गुरुङ (नाम परिवर्तन)ले जब आफ्नो शरीरमा एउटामात्रै डिम्बाशय छ भन्ने थाहा पाइन् उनलाई भविष्यमा आफूमा गर्भाधान गर्न कठिनाइ हुन सक्छ भन्ने चिन्ता लाग्यो।

उनले अस्ट्रेलियामा हुँदा नै एग फ्रीजिङ अर्थात् केही डिम्ब झिकेर त्यसलाई वर्षौँसम्म चिस्याएर राख्न सकिन्छ र आवश्यकता अनुसार भविष्यमा प्रयोग गर्न सकिन्छ भन्नेबारे थाहा पाएकी थिइन्।

त्यही क्रममा काठमाण्डू आएर उनले एउटा फर्टिलिटी सेन्टरमा आफ्नो डिम्ब/अण्डा शरीरबाट निकालेर नाइट्रोजन लिक्विडमा राख्ने प्रक्रिया अपनाइन्।

अन्य महिलाहरूभन्दा आफ्नो शरीरमा विरलै देखिने समस्या छ भन्ने थाहा पाएका कारण उनले विवाहपूर्व नै भविष्यमा बाँझोपन नदेखियोस् भनेर डिम्ब फ्रीज गरेकी थिइन्।

गत वर्ष उनै मञ्जु २६ वर्षकी हुँदा आफ्ना पतिसँग नेपाल आइन् र आफूले तीन वर्षअघि राखेको डिम्ब र आफ्ना पतिको शुक्रकीटबाट भ्रूण बनाइ गर्भमा राखेर अस्ट्रेलिया फर्किइन्।

त्यतिबेला झिकिएका आठ डिम्बमध्ये अझै केही फ्रीज गरेकै अवस्थामा रहेको मञ्जुको डिम्ब राखेको आइभीएफ क्लिनिकले जनाएको छ।

उनले भविष्यमा अर्को सन्तानको चाहना भए पनि २३ वर्षकै उमेर हुँदा निकालिएको डिम्बको प्रयोग गर्ने इच्छा देखाएका कारण बाँकी डिम्ब सञ्चित अवस्थामै राखिएको उक्त आइभीएफ क्लिनिकले जनाएको हो।

‘बच्चा मन पर्छ तर आफैँ पाउँदिनँ’: चिनियाँ युवायुवती किन सन्तान जन्माउन चाहँदैनन्

‘तीन जनाको वंशाणु लिएर जन्मेका बच्चाहरू’

दोस्रो केस

पश्चिम नेपालका २१ वर्षीय सुजन केसी (नाम परिवर्तन) को उपचारका क्रममा जब उनको शरीरमा दोस्रो चरणको क्यान्सर छ भन्ने थाहा भयो, भक्तपुरस्थित क्यान्सर अस्पतालका एक डाक्टरले उनलाई आफ्नो शुक्रकीट भण्डारण गर्न सुझाए।

क्यान्सर निको पार्नका लागि आवश्यक पर्ने किमोथेरापी दिनुअघि डाक्टरले सुजनलाई शुक्रकीट चिस्याएर भविष्यका लागि साँच्न सुझाए।

सुजनका पितालाई डाक्टरको सुझाव चित्त बुझ्यो र उनी काठमाण्डूको एउटा फर्टिलिटी सेन्टरमा छोरालाई लिएर गए।

“किमोथेरापी दिँदा त्यसले प्रजनन क्षमतामा असर पर्ने हुँदा हिजोआज डाक्टरहरूले बिरामीलाई आफ्नो शुक्रकीट वा डिम्बलाई चिस्याएर भविष्यका लागि राख्न सुझाउने गर्नुहुन्छ,” स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा प्रजनन विज्ञ डाक्टर सुमी मुननकर्मीले भनिन्।

यसरी बाध्यताका कारण मात्रै नभई स्वेच्छाले नै शुक्रकीट वा डिम्ब फ्रीज गर्न आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समय बढेको चिकित्सकहरू बताउँछन्।

प्रियङ्का चोपडा, एकता कपूर, डायना हेडेन, मोना सिंह, गायिका सलिन डियोनजस्ता हलिवुड र बलिवुडका केही चर्चित सेलिब्रिटीहरूले पनि विवाहपूर्व नै आफ्नो डिम्ब फ्रीज गरेर राखेको भन्ने विषय केही समयअघि ठूलो समाचारको शीर्षक बनेका थिए।

नेपालमा सेलिब्रिटीले नै डिम्ब फ्रीज गरेको भन्ने सार्वजनिक नभए पनि खासगरी विदेशमा रहने नेपाली वा नेपालमै लिभिङ टुगेदरमा रहेका जोडीहरू यसबारे परामर्श लिन आउने गरेको चिकित्सकहरू बताउँछन्।

त्यस्तै एउटा जोडी हो २६ र २७ वर्षका सन्ध्या र सुदीपको।

आमाले गाजर खाँदा गर्भमा रहेका बच्चा’ मुस्कुराउँछन्’, ‘केल’ खाँदा ‘ठुस्किन्छन्’

प्रजननको दुर्लभ अवसरको बाटो पहिल्याइदिने एक महिला वैज्ञानिक

तेस्रो केस

२६ र २७ वर्षका सुदीप र सन्ध्या लिभिङ टुगेदर(विवाह नगरे पनि सँगै बस्ने जोडी) मा बस्थे।

परिवारलाई थाहा नदिई उक्त जोडीले पाँच वर्षका लागि आफ्नो शुक्रकीट र अण्डा फ्रीज गरेका छन्।

सन्ध्या अहिले विदेशमा छिन्। तर उनी बेलाबेला अस्पतालका सम्बन्धित कर्मचारीसँग आफ्नो डिम्बको अवस्थाबारे जिज्ञासा राख्छिन्।

अस्पतालका ती कर्मचारीले भनिन्, “बेलाबेला सम्पर्कमा आउनुहुन्छ। महिलाले ह्वाटस् एपबाट सोध्नु हुन्छ। विवाह नभएका कारणले उहाँहरूले अण्डा र शुक्रकीट छुट्टै छुट्टै फ्रीज गराउनुभएको छ।”

अहिले कानुनी व्यवस्था स्पष्ट नभएका कारण विवाह नभएको जोडीको हकमा भ्रूण नै बनाएर फ्रीज गर्ने नगरेको फर्टिलिटी सेन्टरहरूले जानकारी दिएका छन्।

विवाह भएका तर सन्तान जन्माइहाल्ने योजना नभएका जोडीले भने भ्रूण बनाएर अनि फ्रीज गर्ने गरेको उनीहरूले जानकारी दिएका हुन्।

सन्ध्या र सुदीपको विवाह हुने नहुने निश्चित नभएका कारण र भए पनि ढिला बच्चा जन्माउने योजना सुनाएर उनीहरूले डिम्ब र शुक्रकीट छुट्टाछुट्टै फ्रीज गरेर राखेका छन्।
-बीबीसी

प्रतिक्रिया दिनुहोस्