सेनाका पूर्वजर्नेल हेम खत्रीले बिहीबार दिउँसो ललितपुरको भैंसेपाटीस्थित आफ्नो घरमा जम्मा भएका महिलालाई प्रहरी बल प्रयोग गरेर बाहिर निकाले। यस क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले बच्चा बोकेकी एक महिलामाथि लाठी हिर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो। हामीले महिलाहरूको समूह पूर्वजर्नेल खत्रीको घरमा जम्मा हुनुको कारण र ती महिलासँग उनको सम्बन्ध खोतलेका छौं।
भिडिओमा प्रहरीको लाठी खाँदै गरेको देखिने महिला (बच्चा बोकेकी) हेमा श्रेष्ठ शेर्पा हुन्। उनी पूर्वजर्नेलबाट पीडित भनिएकी माला शाहकी सहकर्मी हुन्। घटना बेला सँगै रहेकी शाहलाई पनि प्रहरीले लाठी हान्दै खेदेका थिए।
कलैया उपमहानगरपालिका-९ की शाह र पूर्वजर्नेल खत्रीको २२ वर्ष लामो सम्बन्ध रहेको प्रहरी स्रोतले जानकारी दियो। शाह काठमाडौंको रातोपुल बस्दै आएकी छन्।
स्रोतका अनुसार, शाहले आफू २२ वर्ष खत्रीसँगै बसेको प्रहरीलाई बयान दिएकी छन्। खत्रीले भने स्वीकार गरेका छैनन्। ‘खत्रीले भैंसेपाटीमा घर बनाएपछि उनीहरूको बिछोड भयो,’ शाहको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि उनीहरूबीच दुरी बढ्दै गयो।’
गत कात्तिक २७ गते शाह र अन्य दुई जनाले भैंसेपाटीस्थित कालिका मन्दिरनजिकै खत्रीमाथि कुटपिट गरेको ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
‘त्यस दिन हेम खत्रीले कालिका मन्दिरनिर बसबाट ओर्लिंदा माला शाह लगायत दुई जनाले आफूलाई कुटपिट गरेर पैसा, सुन, मोबाइल लुटे भन्दै निवेदन दिएका थिए,’ एसएसपी राईले सेतोपाटीसँग भने, ‘हामीले छलफल गर्न बोलाएका थियौं, माला आइन्, अरू आएनन्।’
त्यसैको भोलिपल्ट शाहले खत्री आफ्नो श्रीमान भएको दाबी गर्दै सँगै बस्न पाउनुपर्ने मागसहित प्रहरी कार्यालयमा निवेदन दिइन्। एसएसपी राईका अनुसार, शाहले खत्रीसँग २२ वर्षदेखि सम्बन्ध रहेको र आफू रातोपुलमा कोठा लिएर बस्दै आएको बेहोरा खुलाएकी थिइन्।
‘सँगै बसौं भन्दा पनि मानेनन्, त्यसैले सम्बन्ध कायम गरिपाउँ,’ शाहको निवेदन उद्धृत गर्दै राईले भने।
यसबारे अदालतमा सहयोगको अपिल गर्न प्रहरीले शाहलाई सुझाव दिएका थिए। तर उनको नागरिकता थिएन। नागरिकता नभएपछि उनले अदालतमा कानुनी प्रक्रिया बढाउन सकिनन्।
‘हामीले अदालत जान आग्रह गरेका थियौं, तर उनको नागरिकता थिएन। नागरिकता नभएपछि हामीले महिला आयोग वा कानुनी सहयोग तथा परामर्श केन्द्र लगायत संस्थाहरूमा जान सुझाव दियौं,’ एसपी दुर्गा कार्कीले भनिन्, ‘त्यसको सट्टा उनी महिला अधिकारकर्मी र युट्युबरहरूलाई लिएर खत्रीको घर जान थालिन्।’
शाह यसअघि पनि खत्रीको घरमा पाँचपटक पुगिसकेको प्रहरीले जनाएको छ। शुक्रबार खत्री घरमा थिएनन्। उनकी छोरी मात्र थिइन्। उनैले प्रहरीलाई खबर गरिन्। प्रहरीले त्यहाँ पुगेर सबैलाई घरबाट निस्कन आग्रह गर्दा नमानेपछि इन्स्पेक्टर पौडेलले लाठी प्रहार गरेको जनाएको छ।
यो घटनामा प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये शाह, रुपा घिसिङ, गोमा केसी र शोभा खड्काविरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर गरिएको छ। जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गर्न सात दिनको म्याद थपेको छ। हेमा र उर्मिला थिङ भने बिहीबारै छुटेका छन्।
शाह हिरासतमै रहेकाले सेतोपाटीले उनीसँग कुराकानी गर्न पाएन। पूर्व जर्नेल खत्रीलाई पटक-पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन। उनलाई नक्कली प्रमाण पत्र देखाएर बढुवा भएको भन्दै २०७१ सालमा सेनाले बर्खास्त गरेको पनि खुलेको छ।
उनले उपरथी हुन पाकिस्तानको नक्कली शैक्षिक प्रमाणपत्र देखाएका थिए। उनको पेन्सनसमेत कटौती गरिएको थियो। ललितपुर महानगरीय प्रहरी परिसरले महिलामाथि कुटपिट गर्ने इन्स्पेक्टरमाथि अनुसन्धान गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरिसकेको छ।
प्रतिक्रिया