Logo

मुग्लिन – नारायणगढ सडकखण्ड अब ३० मिनेटमै पार गर्न सकिने

काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्डमा पहिलो तहको कालोपत्रे गर्ने काम सकिएको छ । दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम पनि केही दिनमै सक्ने तयारी छ । तीन खण्डमा ठेक्का लागेर काम थपिएको सडकमा हिजो पहिलो तहको कालोपत्रेको काम सकिएको आयोजनाका सूचना अधिकृत शिव खनालले जानकारी दिनुभयो । आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर लामो सडकखण्डमा बाँकी रहेको ६० मिटर कालोपत्रेको काम सकिएको हो । बाटोमा कुनै अवरोध नभए अब ३० मिनेटमा यो सडकखण्ड पार गर्न सकिने पनि खनालले जानकारी दिनुभयो ।

ठूला ट्रक र बसलाई भने सडक पार गर्न ४५ देखि ५० मिनेट लाग्नेछ । साना कार, जीप र भ्यान भने सजिलै पार हुन सक्छन् । मोटरसाइकलमा यात्रा गर्ने २५ मिनेटमै पार गर्न सक्छ । वर्षातमा पहिरो खसेर जोखिम ल्याउन सक्ने ठाउँमा आयोजनाले आफैँ पहिरो खसालेर जोखिम हटाउने काम गरिरहेको पनि खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालोपत्रेको काम सकिए पनि आयोजनाको सबै काम सक्न अझै केही दिन लाग्नेछ । सडक निर्माणको अरु कामका लागि भने अरु दिनजस्तै आज पनि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म गाडी रोकेर काम हुनेछ । एक दुई दिनपछि भने दैनिक रुपमा हुँदै आएको बन्द पनि हटाएर यात्रा सहज बनाउने तयारी भैरहेको खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्