Logo

कुन अंगका लागि के खाने ?

स्वास्थ्यका लागि सबैभन्दा ठूलो महत्व खानाको हुन्छ । खाना खाएर मात्र पनि हुँदैन, सन्तुलित रूपमा खान नजान्दा पनि त्यसले खराब परिणाम निम्त्याउँछ । गलत खानाबाटै विभिन्न प्रकारका रोग लाग्ने गर्छ । त्यसैले सबैभन्दा बढी खानामा सचेत हुन आवश्यक छ । प्राकृतिक खानाको प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । प्याकेजिङ, रिफाइन गरिएका र रेस्टुरेन्टका खानेकुराले स्वास्थ्यलाई हानि पु-याउँछ । मानव शरीरका फरक–फरक अंगका लागि फरक–फरक पोषणको आवश्यकता हुन्छ । यसै विषयमा नयाँ पत्रिकाका विश्वास खड्काथोकीले आरेम कार्कीलाई सोधेका छन् :

कपाल
कपालका लागि प्रोटिनको आवश्यकता हुन्छ । त्यसैले शरीरमा पर्याप्त मात्रामा प्रोटिन भएमा मात्र कपाल स्वस्थ रहन्छ । माछा, मासु, गेडागुडी, दूध, अन्डाजस्ता खाद्यपदार्थमा प्रोटिनको मात्रा हुन्छ । कुपोषण भएका मानिसको पनि कपाल झर्ने गर्छ । त्यसैले कपालका लागि पनि खानामा ध्यान दिन जरुरी हुन्छ ।
मस्तिष्क
मानिसको ६० प्रतिशत मस्तिष्क बोसोले बनेको हुन्छ । त्यसैले मस्तिष्कका लागि ‘गुड फ्याटी एसिड’को अवश्यकता हुन्छ । जसमा पर्छ ‘ओमेगा थ्री फ्याटी एसिड’ । त्यसैले मस्तिष्कलाई स्वस्थ राख्न माछा, ओखर, भाङ्गोलगायतका खाद्यपदार्थ प्रयोग गर्नुपर्छ ।

आँखा
आँखाका लागि भिटामिन ए सबैभन्दा उत्तम पौष्टिक तत्व हो । हेर्दा पहेँलो देखिने खाद्यपदार्थमा भिटामिन ए हुन्छ । जस्तो कि गाँजर, मेवा, आँप, सखरखण्ड, अन्डाको पहेँलो भाग, कलेजो आदि । आँखा स्वस्थ राख्न नियमित रूपमा यस्ता खाद्यपदार्थको प्रयोग गर्नुपर्छ ।

दाँत
चिनी र चिनीजन्य पदार्थले दाँतमा असर पु-याउँछ । दाँतको मुख्य समस्या भनेको किरा लाग्नु हो । दाँतको स्वास्थ्यका लागि हामीले कहिल्यै पनि प्याकेजिङ गरिएका पेय पदार्थ प्रयोग गर्नुहुँदैन । बरु फ्रेस जुसको प्रयोग गर्न सकिन्छ । केरा, स्याउलगायतका फलफूलले पनि दाँतलाई स्वस्थ राख्ने काम गर्छ ।

फोक्सो
फोक्सोलाई प्रदूषण, चुरोटलगायतले बढी हानि पु-याउँछ । र, फोक्सोलाई स्वस्थ राख्न एन्टिअक्सिडेन्टको बढी मात्रामा सेवन गर्नुपर्छ । ब्रोकाउली, पालुंगोको साग, कालो अंगुर, किम्बुजस्ता खाद्यपदार्थबाट एन्टिअक्सिडेन्ट प्राप्त हुन्छ । त्यस्तै, फोक्सोका लागि प्रोटिनको पनि त्यतिकै आवश्यकता हुन्छ ।

मुटु
हालै सार्वजनिक भएको एक रिपोर्टअनुसार पछिल्लो समय मुटुरोगका कारण सबैभन्दा बढी नेपालीको मृत्यु हुने गर्छ । त्यसपछि फोक्सोसम्बन्धी रोगका कारण मृत्यु हुन्छ । मुटुलाई दुई तरिकाले असर पारिरहेको हुन्छ । एउटा कोलेस्ट्रोलको मात्रा बढी भएर र अर्को ब्लडप्रेसरका कारण । ब्लडप्रेसर नियन्त्रणका लागि पोटासियम सेवन गर्नुपर्छ । केरा, सागपात, पालुंगो, टमाटर, एभोकाडो, नरिवलको पानी आदिमा पोटासियमको मात्रा निकै हुन्छ । त्यस्तै, कोलेस्ट्रोल सन्तुलित राख्न ओमेगा थ्री फ्याटी एसिड र एन्टिअक्सिडेन्टको पनि प्रयोग गर्नुपर्छ ।

पेट
पेटमा विशेषगरी तीनवटा रोग लाग्छन्– ग्यास्ट्राइटिस, अल्सर र एसिडिटी । त्यसैले यस्ता खतरालाई कम गर्न प्रोबायोटिक तत्वको सेवन गर्न आवश्यक हुन्छ । प्रोबायोटिक शरीरलाई चाहिने स्वस्थकर कीटाणु हो । जसको सबैभन्दा राम्रो स्रोत दही र मही हो । त्यस्तै, प्रिबायोटिक तत्वले पनि पेटलाई स्वस्थ राख्न भूमिका खेल्छ । जसमा लसुन, फलफूल, तरकारीलगायतका खाद्यपदार्थ पर्ने गर्छ । पेटकै लागि खानामा पाइने एन्टिबायोटिक पनि उत्तिकै आवश्यक हुन्छ । जुन बेसार, अदुवा, लसुनबाट उपलब्ध हुन्छ । पछिल्लो समय पायल्स पनि एकदमै बढी देखिने गरेको छ । फाइबरको कमीका कारण मानिसलाई पायल्स हुने गर्छ । ब्राउन राइस, आँटा, फलफूल र सबै सागसब्जी, जुस ननिकालिएको फलफूल, तरकारी र गेडागुडीबाट फाइबर प्राप्त गर्न सकिन्छ ।

मिर्गौला
मिर्गौलामा बढी देखिने समस्या भनेको पत्थरी हो । त्यस्तै मिर्गौला फेल हुने समस्या पनि धेरैमा हुन्छ । सुपारीजन्य खानेकुरा र राम्रोसँग प्रशोधन नगरिएको सागसब्जीको सेवनबाट पनि पत्थरी हुने गर्छ । राम्रोसँग सफा नगरिएको सागसब्जी र तरकारीले ओब्जालेट नामक तत्व बनाउँछ, जुन जमेर बस्ने गर्छ । मिर्गौलाका लागि पर्याप्त मात्रामा पानी सेवन गर्नुपर्छ । अव्यवस्थित तरिकाले जीवनयापन गर्ने मानिसको पनि मिर्गौला फेल हुन सक्छ । किनकि, उनीहरूले निकै धेरै प्रोटिनको सेवन गरिरहेका हुन्छ । आवश्यकभन्दा बढी प्रोटिनले पनि मिर्गौलामा असर पार्ने गर्छ । त्यस्तै मधुमेह, उच्च रक्तचापका कारण पनि मिर्गौलामा असर पर्न जान्छ । त्यसैले यस विषयमा पनि ध्यान दिन आवश्यक हुन्छ । स्वस्थ मिर्गौलाका लागि राम्रोसँग पच्न सक्ने खानाको प्रयोग गर्नुपर्छ ।

हाड
हाडलाई चाहिने सबैभन्दा महत्वपूर्ण तत्व भनेको क्याल्सियम हो । जुन दूध र दूधजन्य पदार्थबाट अत्यधिक पाइन्छ । यसबाहेक ब्रोकाउली, आल्मन्डलगायतबाट पनि क्याल्सियम पाइन्छ । हाडका लागि चाहिने अर्को तत्व भनेको फसफोरस हो । जुन दूध, दही, माछा, मासु, गेडागुडीलगायतबाट प्राप्त गर्न सकिन्छ ।

छाला
पछिल्लो समय छाला छिटो चाउरी पर्ने, युवा अवस्थामै बूढो देखिनेलगायतका समस्या देखिन्छ । त्यसैले छालालाई स्वस्थ राख्न इसेन्सियल फ्याटी एसिडको आवश्यकता हुन्छ । जुन तोरी, भटमासको तेल, ओखर, आल्मन्डमा भरपुर हुन्छ । यस्तो पौष्टिक तत्वले छालामा चमक ल्याउने काम गर्छ । त्यस्तै, चाँडै चाउरी पर्ने र दाग देखिने समस्याका लागि एन्टिअक्सिडेन्टको आवश्यकता हुन्छ । जुन कालो अंगुर, गाँजर, कागती, दालचिनी, तुलसी, ग्रिन टी आदिबाट प्राप्त हुन्छ ।

पितथैली
पित्तथैलीमा बढी देखिने समस्या पनि पत्थरी हो । यसबाट बच्न चिल्लो पदार्थ निकै कम प्रयोग गर्नुपर्छ । बढी चिल्लो, जनावरको मासु र मिठाईको कम प्रयोग गर्नुपर्छ । तेलमा तारेको खाद्यपदार्थको पनि प्रयोग गर्नुहुँदैन ।

पिसाबथैली
पिसाबथैलीका लागि किम्बु, कालो अंगुर, ऐसेलुलगायतका फल स्वस्थकर मानिन्छ । यसमा सबैभन्दा बढी हुने समस्या भनेको क्यान्सर हो । त्यसैले यसमा इन्फेक्सन नहोस् भन्नका लागि लसुन, अदुवा, बेसारजस्ता पदार्थको प्रयोग गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस्