मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । उनी शौचका लागि घरबाट बाहिर निस्केपछि सर्पले डसेको थियो ।
गम्भीर अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।
गर्मी मौसममा तराईका जिल्लामा सर्पको टोकाइबाट बर्सेनि कैयौँ व्यक्तिको ज्यान जाने गरेको छ । यो अवधिमा विषालु सर्प निस्किने र टोक्ने दर अरू समयमा भन्दा निकै बढी हुन्छ । तर, अझै पनि अधिकांश बिरामी सर्पले टोकेपछि अस्पताल नगएर धामीझाँक्रीकहाँ जाने गरेको पाइन्छ । सर्पले टोकेलगत्तै अस्पताल आउने बिरामीको मृत्युदर भने निकै कम रहेको विभिन्न संघसंस्थाले गरेका अध्ययनले देखाएको छ । सर्पको टोकाइ र त्यसको प्राथमिक उपचारबारे ज्ञान नहुँदा पनि कतिपय व्यक्तिको अकालमा ज्यान जाने गरेको छ । त्यसैले सर्पदंश उपचारबारे लामो अनुभव भएका जनकपुर अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. अवधेषकान्त झाले महत्वपूर्ण जानकारी दिएका छन्
१. सर्पले टोकेको घाउ अनावश्यक रूपमा चलाउनु हुँदैन । पोल्ने, चिरफार गर्ने, घाउबाट विष चुस्ने, विद्युतीय झड्का दिने, मनलागी जडीबुटीको प्रयोग गर्नेजस्ता काम गर्नु हुँदैन । यस्तो गर्दा घाउको संक्रमण झन् बढ्ने खतरा हुन्छ । घाउमा विष फैलिने गति बढ्छ र अत्यधिक रक्तश्राव हुनसक्छ । टोकेको ठाउँमा ब्लेडले चिरेर विष बाहिर फाल्ने प्रयास गर्दा विषभन्दा रगत बढी गई बिरामीको मृत्यु हुनसक्छ । घाउ चुस्नेको मुखमा घाउ छ भने उल्टै विष सर्ने खतरा हुन्छ । यस्ता कुरामा अल्झिनु समयको नोक्सानी मात्र हुनसक्छ । हातखुट्टामा टोकेको छ भने स्लिङ वा स्पिलिन्ट लगाएर नचलाइकन राख्नुपर्छ ।
२. गोमन र करेतको टोकाइबाट हुने विषको प्रभाव चाँडो बढ्ने भएकाले घाउ भएको भागभन्दा माथि दबाब पर्ने गरी ब्यान्डेज वा कपडा प्रयोग गर्ने । यसलाई प्रेसर इमोबिलाइजेसन विधि भनिन्छ । ब्यान्डेज वा कपडाले ट्याप्प हुने गरी बाँध्नुपर्छ, तर एकै ठाउँमा एकदमै कसेर भने बाँध्नु हुँदैन । कसेर बाँध्दा घाउभन्दा मुनिको भागमा रक्तसञ्चार पूरै बन्द हुन गई उक्त भाग नै मर्ने गरेको कैयौँ घटना निम्तिएका छन् ।
३. हातखुट्टा मर्केको वेलामा जस्तै गरेर ब्यान्डेज लगाउने । तर, रक्तसञ्चार प्रणालीका रक्तधमनीहरूलाई असर पर्ने गरी या नाडी महसुस नहुने गरी बाँध्नु हुँदैन । ब्यान्डेजको पत्रका बीचमा कान्छीऔँला छिराउन सक्ने गरी खुकुलो पार्नुपर्छ ।
४. सर्पले डसेपछि बिरामीलाई अत्यन्त डर लाग्छ । यस्तो वेला अरूले सान्त्वना दिनुपर्छ ।
५. धामीझाँक्रीको उपचार, विष सोस्ने कालो ढुंगा र स्नेक स्टोनको उपचारतर्फ लागेर महत्त्वपूर्ण समय नगुमाउने ।
६. विषका लक्षण कम नभएसम्म या एन्टिस्नेक भेनम सुरु नभएसम्म ब्यान्डेज खोल्नु हुँदैन ।
७. बिरामीलाई जतिसक्दो छिटो एन्टिस्नेक भेनमसहित चिकित्सक उपलब्ध भएको स्वास्थ्य केन्द्रमा पुर्याउने ।
८. सर्पलाई मार्ने प्रयास गर्नु हुँदैन । मारिसकिएको छ भने पहिचानका लागि अस्पतालमा सुरक्षित तरिकाले लैजानुपर्छ ।
९. चिकित्सकले नभनेसम्म केही नखाने/नपिउने । विष नफैलियोस् भनेर टोकेको भागभन्दा माथि कसेर बाँध्ने काम नगर्ने । नया पत्रिका दैनिकबाट
प्रतिक्रिया