Logo

‘अब खेत रोप्नुको साटो अन्य नगदेबाली लगाउनु पर्छ, धान भारतबाट ल्याउँला’ : मेयर तामाङ

धनकुटा – परम्परागत कृषि प्रणालीलाई बिस्थापित गरेर व्यसायीक कृषि प्रणालीको शुरुवात गर्न धनकुटा नगरपालिकाले किसानहरुलाई मिनि टिलर अनुदानमा उपलब्ध गराएको छ ।

नगरपालिकाले एक कार्यक्रमको आयोजना गर्दै ८३ प्रतिशत अनुदानमा नगरका विभिन्न ७ वटा कृषि समुहहरुलाई ७३ हजार मूल्य पर्ने ५ लाख ११ हजार बराबरको ७ वटा मिनि टिलर उपलब्ध गराएको हो ।

परम्परागत कृषि प्रणालीबाट जिविको पार्जन गर्न कठिन हुने भन्दै नगरले व्यवसायिक कृषि प्रणालीको शुरुवात गर्न आगामी ५ वर्ष भित्रमा गोरुको स्थानमा मिनि टिलरले जोत्ने व्यवस्था गरिने नगरपालिकाका मेयर चिन्तन तामाङ्गले बताए ।

उनले अगाडि भने, ‘अब खेत पनि रोप्ने हैन, कि अलैची लगाऊने कि अन्य विरुवाहरु लगाऊने । ५ मुरी धान फलेर के भो र त्यसले आफैलाई खान पनि पुग्दैन, तर त्यहीठाऊमा अन्य नगदे बाली लगाए तीन गुणा बढी पैसा कमाउन सक्नुहुन्छ । धान ईण्डियाबाट ल्याऊला न के फरक पर्छ ।’

नगरपालिकाले चालु आर्थिक बर्ष ०७४/७५ मा कृषि क्षेत्रमा ५० लाख बजेटबाट विनियोजन गरेर कार्यान्वय गरिरहेको छ । कार्यक्रममा सात वटा उन्नतजातको बोका समेत कृषक समूहलाई अनुदान साझेदारीमा उपलब्ध गराएको छ ।

त्यस्तै विभिन्न ४ वटा कृर्षक समूहलाई प्लाष्टिक पोखरी निमार्णका लागि अनुदान उपलब्ध गराएको नगरपालिकाका सुचना अधिकृत डम्बर रोगुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्